१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

भुवनले जिते सेन्ट्रल ओपन

भुवन नगरकोटीले बिहीबार सूर्य नेपाल गल्फ टुर २०२१ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन्।

पार–७२ को गोकर्ण गल्फ क्लबमा भुवनले १२औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्ण विजेतासमेत रहेका एमेच्योर गल्फर सुवास तामाङमाथि एक स्ट्रोकको जित निकाल्दै उपाधि उचालेका हुन्। अन्तिम दिन दुई ओभर ७४ को स्कोर गरेका भुवनले कुल ७२ होलको समाप्तिमा सात अन्डर २८१ स्कोर बटुलेका थिए। सुवासले भने बिहीबार एक अन्डर ७१ बनाए पनि ट्रफीका लागि पर्याप्त बनेन। उनले कुल ६ अन्डर २८२ स्कोर बटुले। यता, अन्तिम दिन पाँच ओभर ७७ को बिर्सनलायक प्रदर्शन गरेपछि शुक्रबहादुर राई तेस्रो स्थान चित्त बुझाउन बाध्य भए। त्यो प्रदर्शनसँगै उनले दुई अन्डर २ सय ८६ स्कोर बनाए।

यता, उपाधि विजेता भुवनले एक लाख ३० हजार रूपैयाँ पाउँदा सुवासले एमेच्योरतर्फको ट्रफी प्राप्त गरे। शुक्रले भने दोस्रो स्थानको नगद पुरस्कार ८४ हजार रूपैयाँ पाए। सञ्जयले लामाले तेस्रो स्थानबापतको ६० हजार रूपैयाँ पाए। एमेच्योर खेलाडीले प्रोफेसनलमा शीर्ष वरीयता प्राप्त गरे पनि नगद पुरस्कार पाउने व्यवस्था नभएकाले शुक्र र सञ्जयले नगद पुरस्कार पाएका हुन्। सञ्जयले अन्तिम दिन दुई ओभर ७४ बनाउँदा कुल दुई ओभर २९० को कार्ड बनाएका थिए। एमेच्योर गल्फर अजित बिक समग्रमा पाँचौं हुँदा एमेच्योरतर्फ दोस्रो भए। एमेच्योरमै तेस्रो भएका विजय इनहास श्रेष्ठ समग्रमा भने छैटौं हुन सफल भए। 

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना सम्पन्न च्याम्पियनसिपमा कुल ६१ गल्फरले प्रतिस्पर्धा गरेका थिए। उक्त प्रतियोगिताका विजेतालाई सूर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दिप्रा लाहिरी, गल्फर्स एसोसिएसनका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरेका थिए।

प्रकाशित: ६ चैत्र २०७७ ०७:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App