२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

त्रियुगा खेलकुद महोत्सव २०७७ः फुटबलमा ६ टिम सेमिफाईनल प्रवेश

भेट्रन्सतर्फ प्रथम हुने दिपक राई र गोविन्द थापाको जोडीलाई पुरस्कार दिदै मेयर बलदेव चौधरी । तस्बिरः महेश्वर

उदयपुर सदरमुकाम गाईघाटमा जारी ‘प्रथम त्रियुगा नगरस्तरीय खेलकुद महोत्सव २०७७’ का ८ मध्ये मंगलबारसम्म ५ बिधाको खेल सकिएको छ। दोस्रो दिनदेखि सुरु व्याडमिन्टन मंगलबार सकिएको छ भने अन्य ४ खेल सोमबार नै सम्पन्न भईसकेको छ।  

सुरु दिन आईतबार साईक्लिङ, दोस्रो दिन कराँते, तेक्वान्दो र बक्सिङको प्रतिस्पर्धा सकिएको महोत्सवमा सोमबारदेखि सुरु व्याडमिन्टन मंगलबार सकिएको हो। आयोजक समितिका खेल संयोजक दिपक किरातीका अनुसार त्रियुगा नगरपालिका १० बोक्सेस्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा सम्पन्न व्याडमिन्टन प्रतिस्पर्धामा १७ वर्षमुनि एकल खुल्ला र जोडीतर्फ खुल्ला तथा बयस्क (भेट्रान्स) तर्फ प्रतिस्पर्धा भएको थियो।  

१७ वर्षमुनि खुल्ला एकलतर्फ ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए भने जोडीतर्फ खुल्ला ४८ जोडीको प्र्रतिस्पर्धा थियो। त्यस्तै भेट्रान्सतर्फ १८ जनाले प्रतिस्पर्धा गरिरहेको संयोजक किरातीले बताए। जम्मा १ सय ५५ खेलाडी व्याडमिन्टनतर्फ सहभागी रहेको आयोजक समितिले जनाएको छ।  

खुल्ला जोडीतर्फ हिमाल श्रेष्ठ र सरोज खवासको जोडी प्रथम भएको छ भने भेट्रान्सतर्फ दिपक राई र गोविन्द थापाको जोडीले उपाधि लिएको छ। दिपक राई र गोविन्द थापाको जोडी खुल्लातर्फ दोस्रो हुँदा भेट्रान्सतर्फ चित्र थापा र कालुप्रसाद उराव दोस्रो भएका छन्। त्यस्तै १७ वर्षमुनिको एकल प्रतिस्पर्धामा सौरभ ठकुरी प्रथम भएका छन् भने प्रतिश राई (बुद्ध)ले दोस्रो स्थान लिएका छन्।  

व्याडमिन्टन विजयी खेलाडीहरुलाई मंगलबारै त्रियुगा नगरप्रमुख बलदेव चौधरी, प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाई, जिल्ला प्रहरी प्रमुख एसपी भिमबहादुर दाहाल, सशस्त्र प्रहरीका एसपी सुधिर सुवेदीलगायतले नगद, ट्रफि, शिल्ड र प्रमाणपत्र वितरण गरेका छन्। उनीहरुलाई खुल्ला र भेट्रान्स प्रथमलाई १५ हजार, दोस्रो र तेस्रोलाई क्रमशः १० हजार र ५ हजार दिइएको छ भने १७ वर्षमुनिका विजेताहरु प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १० हजार ७ हजार र ५ हजार नगदका साथ ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ।  

आईतबार सम्पन्न साईक्लिङ स्पर्धामा रुवेन राई प्रथम हुँदा केशव थापा दोस्रो र अवतार राई तेस्रो भएका छन्। त्यसैगरी महिलातर्फको साईक्लिङमा लक्ष्मी मगर प्रथम, जमुना थापा दोस्रो र आसा लिम्बु तेस्रो भएको साझेदार संस्था नेपाल साईक्लिङ संघ उदयपुरका अध्यक्ष जितु रोईलाले बताएका छन्।

महोत्सवमा मंगलबार फुटबलतर्फ ४ समूहले प्रतिस्पर्धा गर्दा दुई समूह सेमिफाईनल प्रवेश गरेका छन्। त्रियुगा १३ स्थित थरुहट उदयपुर रंगशालामा भईरहेको फुटबल प्रतियोगितामा मंगलबार विहान वडा नं. २ र १३ बीचो खेलमा १३ ले १–० को सहज अन्तरले २ नं. लाई हराउँदै सेमिफाईनलमा प्रवेश गरेको छ। त्यस्तै दिउँसो ६ र १२ बीच भएको प्रतिस्पर्धामा ३–० को अन्तरले १२ नं. विजयी हुँदै सेमिफाईनलमा प्रवेश पाएको छ।  

उद्घाटनका दिनको प्रतिस्पर्धामा ११ नंं. ले ३ नं. वडालाई टाईब्रेकरमा पराजित गरेको थियो भने सोमबारको खेलमा वडा नं. ८ ले १० लाई हराएको थियो। ८ ले वडाले १५ नं. लाई शून्यका विरुद्ध ४ गोल गरेको थियो भने १० ले ९ लाई ७–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको थियो। हालसम्म ११, १३, ८, १० र १२ नं. वडा सेमिफाईनलमा प्रवेश गरिसकेको जिल्ला फुटबल संघका अध्यक्ष रञ्जन कार्कीले बताए।  

फुटबलको फाईनल फागुन २ गते हुने महोत्सव आयोजक त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष प्रदिप श्रेष्ठले बताए। उनका अनुसार फुटबल, भलिवल (महिला पुरुष दुवैतर्फ), क्रिकेट, साईक्लिङ, कराँते, तेक्वान्दो, बक्सिङ र व्याडमिन्टनमा प्रतिस्पर्धा गराइएको महोत्सवमा फुटबल, क्रिकेट र भलिबलको नतिजा निकाल्न बाँकी छ। व्याडमिन्टनको नतिजा मंगलबार आईसकेको आयोजक कार्यालय सचिव उदय राईले बताए।

प्रकाशित: २६ फाल्गुन २०७७ ०८:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App