साहब आलमले ७ विकेट लिए पनि त्रिभुवन आर्मी क्लबले मंगलबार काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबसँगको हार भने टार्न सकेन।
मंगलबार मूलपानीस्थित क्रिकेट मैदानमा आर्मी पुलिससँग ३ विकेटले निराश भएको हो। आर्मीले प्रस्तुत गरेको ८८ रनको लक्ष्य पुलिसले १८.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो। पुलिसका ओपनर सुनील धमलाले सर्वाधिक ३९ रन जोड्दा पवन सर्राफले अविजित २२ र दिलीप नाथले १५ रनको योगदान गरे।
सुनीलले ४८ बलमा ३ चौका र २ छक्का प्रहार गर्दा दिलीपले १३ बलमा १ चौका र १ छक्का प्रहार गरे। पवनले २६ बलमा ३ चौका र १ छक्का प्रहार गरे। ८८ रनको लक्ष्य पछ्याएको पुलिसका ब्याट्सम्यानलाई आलमले दबाबमा राखेका थिए। ७ रन जोड्दा पुलिसले कुशल भुर्तेललाई पहिलो विकेटको रूपमा गुमाएको थियो।
दोस्रो विकेटका लागि सुनील र दिलीपले ४१ रनको साझेदारीका साथ पुलिसलाई सहज जित दिलाउने संकेत गरेका थिए। तर नवौं ओभरको अन्तिम बलमा दिलीप नाथ, दशाैं ओभरको पहिलो र अन्तिम बलमा क्रमशः अनिल शाह र अमित श्रेष्ठलाई गुमाएपछि पुलिस दबाबमा परेको थियो।
त्यसपछि ब्याटिङका लागि आएका कप्तान दीपेन्द्रसिंह ऐरी र सागर ढकालले पनि सम्हालिएको प्रदर्शन गर्न सकेनन्। साताैं विकेटका लागि धमला र पवनले २६ रनको साझेदारीका साथ पुलिसको सहज जित पक्का गरेका थिए। पुलिसविरुद्ध आलम एक्लैले ७ विकेट लिए पनि आर्मीको हार भने टार्न सकेनन्।
यसअघि टस जितेर ब्याटिङ रोजेको आर्मी पुलिसका बलरसामु निरीह देख्दा ३०.१ ओभरमा मात्र ८७ रनमा सीमित भएको थियो।आर्मीका लोकेश बमले सर्वाधिक ३२ रन जोड्दा विक्रम सोबले १४ र रोहित पौडेलले १३ ले रनको योगदान गरे। अन्य कुनै पनि ब्याट्सम्यानले दोहारो अंक छुन सकेनन्। पुलिसका सागरले ५, पवनले ३ र ललित राजवंशीले २ विकेट लिएका थिए।
प्रतियोगिताअन्तर्गत सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा बाग्मती प्रदेशले प्रतियोगिताकै पहिलो जित हात पार्ने क्रममा एपिएफलाई २७ रनले पराजित गरेको हो। बाग्मतीले प्रस्तुत गरेको २ सय ३४ रनको लक्ष्य पछ्याएको एपिएफले ४४.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६ रन मात्र जोड्न सक्यो।
एपिएफका ओपनर आसिफ शेखले सर्वाधिक ५० रन जोड्दा शंकर रानाले २९, अमरसिंह रौटेलाले २७ र सन्दीप जोराले २५ रनको योगदान गरे। बाग्मतीलाई प्रतियोगितामा पहिलो जित दिलाउने क्रममा सोनु देवकोटाले ६ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले नन्दन यादवको अविजित ६० र कप्तान ज्ञानेन्द्र मल्लको ५७ रन मद्दतमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३३ रनको योगफल तयार पारेको थियो। एपिएफका किशोर महतो र अमरले समान २ विकेट लिएका थिए। त्यस्तै वसन्त रेग्मी र अविनाश बोहोराको नाममा समान १ विकेट रह्यो।
प्रकाशित: २६ फाल्गुन २०७७ ०५:२२ बुधबार