२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

त्रियुगा खेलकुद महोत्सव २०७७ः दोस्रो दिन कराँते, तेक्वान्दो र बक्सिङ सम्पन्न

साईक्लिङ बिजेता रुबेन राईलाई पुरस्कार दिँदै मेयर बलदेव चौधरी । तस्बिरः महेश्वर

उदयपुर सदरमुकाम गाईघाटमा अघिल्लो दिनदेखि जारी ‘त्रियुगा नगरस्तरीय खेलकुद महोत्सव २०७७’ का ८ मध्ये बिभिन्न ४ विधाको खेल सकिएको छ। आईतबार उद्घाटनका दिन साईक्लिङको प्रतिस्पर्धा सकिएको हो भने दोस्रो दिन सोमबार कराँते, तेक्वान्दो र बक्सिङको प्रतिस्पर्धा पनि सकिएको छ।  

आयोजक समितिका खेल संयोजक दिपक किरातीका अनुसार त्रियुगा नगरपालिका १० बोक्सेस्थित जिल्ला खेलकुद विकास समितिको प्रांगण र कभर्डहलमा सम्पन्न खेलमा कराँतेतर्फ वडा नं. १० प्रथम भएको छ। दोस्रो स्थान ६ नं. र तेस्रो ५ नं. वडाले लिएको कराते प्रशिक्षक तथा जिल्ला खेलकुद विकास समितिका प्रमुख प्रकाशराम राईले बताए। राईका अनुसार करातेतर्फ बिभिन्न २० तौल समूहमा ८० खेलाडीको सहभागिता थियो।

कराते, तेक्वान्दो र बक्सिङ सम्पन्न भएलगत्तै कभर्डहलमै व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। व्याडमिन्टनमा १७ वर्षमुनिका खेलाडीबीच खुल्ला (ओपन अण्डर–१७) र जोडीतर्फ खुल्ला तथा बयस्क (भेट्रान्स) तर्फ प्रतिस्पर्धा भईरहेको छ। १७ वर्षमुनिको खुल्लातर्फ ८ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् भने ९६ खेलाडीले खुल्लातर्फकै ४८ जोडीमा समावेश भएर प्रतिस्पर्धा गरिरहेका छन्। त्यस्तै भेट्रान्सतर्फ १८ जनाले प्रतिस्पर्धा गरिरहेको संयोजक किरातीले बताए। जम्मा १ सय ५५ खेलाडी व्याडमिन्टनतर्फ सहभागी रहेको आयोजक समितिले जनाएको छ।  

अघिल्लो दिन सम्पन्न साईक्लिङमा रुवेन राई प्रथम हुँदा केशव थापा दोस्रो र अवतार राई तेस्रो भएका छन्। त्यसैगरी महिलातर्फ लक्ष्मी मगर प्रथम, जमुना थापा दोस्रो र आसा लिम्बु तेस्रो भएको साझेदार संस्था नेपाल साईक्लिङ संघ उदयपुरका अध्यक्ष जितु रोईलाले बताएका छन्। पुरुष तथा महिलाबीच साईक्लिङ प्रतिस्पर्धा त्रियुगा ११ को चप्पनक्षेत्रमा गराइएको थियो।  

उता त्रियुगा १३ स्थित थरुहट उदयपुर रंगशालामा उद्घाटनकै दिनदेखि सुरु फुटबलमा ६ वटा समूहले खेलिसकेका छन्। उद्घाटनका दिन त्रियुगा ११ वडा नंं ३ लाई टाईब्रेकरमा पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ। सोमबारको खेलमा वडा नं. ८ र १० सेमिफाईनल प्रवेश गरेका छन्। ८ नं. वडाले १५ नं. लाई शून्यका विरुद्ध ४ गोल गरेको थियो भने १० ले ७–० को गोल अन्तरले ९ लाई पराजित गरेर सेमिफाईनलको यात्रा तय गरेको जिल्ला फुटबल संघका अध्यक्ष रञ्जन कार्कीले बताए।  

आउँदो फागुन २ गतेसम्म सञ्चालन हुने महोत्सवमा बिभिन्न ८ विधाका खेलकुदमा प्रतिस्पर्धा हुने आयोजक त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष प्रदिप श्रेष्ठले बताए। उनका अनुसार फुटवल, भलिवल (महिला पुरुष दुवैतर्फ), क्रिकेट, साईक्लिङ, कराँते, तेक्वान्दो, बक्सिङ र व्याडमिन्टनमा प्रतिस्पर्धा हुने महोत्सवमा अव क्रिकेट र भलिबलको प्रतिस्पर्धा बाँकी रहेको छ। व्याडमिन्टनको नतिजा मंगलबार आईसक्ने छ भने फुटबलको भने फाईनल खेल फागुन २ गते समापनका दिन हुने आयोजक समिति कार्यालय सचिव उदय राईले बताएका छन्।

प्रकाशित: २५ फाल्गुन २०७७ ०७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App