१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जनकपुर र चितवन सुपर जनरल टी–२० उपाधिको लागि भिड्ने

सुपर जनरल अन्तरक्लब टी–२० क्रिकेट प्रतियोगिताको उपाधिको लागि चितवन क्रिकेट संघ र जनकपुर क्रिकेट क्लब भिड्ने भएका छन् ।  

के.एन स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरलको मुख्य प्रायोजनामा पोखरा रंगशालामा आयोजित प्रतिस्पर्धामा सोमबार चितवनले तनहुँको पेलिकन्स क्रिकेट क्लबलाई पराजित गर्दै फाईनल तय गर्दा जनकपुर क्रिकेट क्लबले सुपर जनरल पोखरा –११ लाई १० विकेटले पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।  सोमबारको पहिलो खेल चितवनले टस जित्दै साकार ढकालको अर्धशतकीय पारीमा ११९ रनको योगफल तयार पार्यो । ओपनिङ आएका ढकालले ४७ बल खेल्दै ५३ रनको पारी खेले । उनले ४ चौका र ३ छक्का हिर्काउँदै महत्वपूर्ण पारी खेले ।  

ढकाललाई सप्निल अधिकारीले साथ दिए । चौथो नम्बरमा आएका अधिकारीले ढकालसँग ४६ रनको साझेदारी गरे । अधिकारीले २७ रनको योगदान दिए । रविन शर्माले ९ बलमा १७ रन हिर्काए । अन्तिम ओभरमा दुई विकेट गुमाएको चितवनले पुरै ओभर खेल्दै ६ विकेटको क्षतिमा ११९ रन बनाएको थियो ।  तनहुँको पेलिकन्स क्रिकेट क्लबका कप्तान चन्द्रकान्त पौडेलले ४ ओभरमा १८ रन खर्चिएर ३ विकेट लिए । विशाल पौडेलले भने दुई विकेट लिए ।  

१२० रनको लक्ष्य पछ्याएको पेलिकन्स क्रिकेट १०६ रनमा समेटिदैं १३ रनले हार व्यहोर्यो । पेलिकन्सको लागि उल्लेख्य योगदान कसैको पनि रहेन् । पहिलो विकेट १५ रनमा गुमाएको पेलिकन्सले दोस्रो विकेट २६ रनमा गुमाउन पुग्यो । ओपनर सनम बुढाथोकीलाई ४ रनमै गुमाएको पेलिकन्सले समीर  कँडेल र आयुष बस्नेतको जोडी पनि क्रिजमा जम्न सकेन् । कँडेलले १३ रन र बस्नेतले १२ रन बनाए । चितवनका चन्दनउमेश ठाकुर र संघर्ष पौडेलले समान ३÷३ विकेट लिएका थिए ।  

यसैगरी दोस्रो सेमिफाईनल खेलमा टस जित्दै पोखराले जनकपुरको लागि ९४ रनको झिनो लक्ष्य प्रस्तुत गर्यो । ओपनर प्रविन ढकालले ३९ बल खेल्दै ३३ रन बनाए । यो नै सुपर जनरल पोखरा ११ को सर्वाधिक रन हुन पुग्यो । सिब्रिन श्रेष्ठ शून्यमै पभेलियन फर्किएपछि विकेट पतन शुरु भएको पोखराको ३१ रन बनाउँदा तीन विकेट गुमिसकेको थियो । मुस्कान थापा पनि विशाल सुष्लिङले ५ रनमै एलबी डब्लुको धरापमा पारे । विधान श्रेष्ठले मध्यक्रममा सम्हालिन खोज्दै १४ रनमा खेलिरहँदा राहुलप्रताप सिंहको बलमा बोल्ड भए । दिपेश खत्रीले १३ बलमा १८ रनमा अभिजित रहे । उनले २ छक्का हिर्काए । राहुलप्रताप सिंहले ४ ओभरमा ९ रन खर्चिएर ४ विकेट लिए ।  

९५ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर क्रिकेट क्लबले सुधीर चौधरी र अकबर अलिले महत्वपूर्ण साझेदारी गरेपछि १० विकेटको जति आत्मसात गर्यो । चौधरीले ३६ बल खेल्दै ३ चौका र ३ छक्काको मद्दतमा ४४ रन बनाए । त्यस्तै अलीले पनि ३६ बल नै खेल्दै ३ चौका र २ छक्का हिर्काउँदै ३६ रनमा अभिजित रहदै जित निकालेका थिए । विन्ध्येश्वरी भाडा उद्योग म्यान अफ दि म्याच राहुलप्रताप सिंह घोषित भए । अन्तरक्लब टी–२० क्रिकेट लिगको फाईनल बुधबार पोखरा रंगशलामा हुने छ । उपाधि विजेता क्लबले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने छ ।  

प्रकाशित: २५ फाल्गुन २०७७ ०६:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App