१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मेयर कप पुरुष राष्ट्रिय क्रिकेट: आर्मीलाई पहिलो सफलता

सोमपाल कामीले अर्धशतक बनाउँदा सोमबार विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी मेयर कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर्स–११ को टोलीमाथि ५ विकेटको जित निकालेको छ। 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सोमपाल कामीले ८० रनको अर्धशतकीय इनिङ्स खेल्दा १ सय ५६ रनको लक्ष्य पछ्याएको आर्मीले २३।५ ओभर खेल्दै ५ विकेटको जित निकालेको हो। यससँगै आर्मीले जारी प्रतियोगितामा पहिलो जित निकालेको हो। 

दुई खेल खेलेको आर्मी उद्घाटन खेलमा अर्को विभागीय टोली एपिएफसँग १ विकेटले पराजित भएको थियो। आर्मीलाई जिताउँदा उत्कृष्ट खेल प्रदर्शन गर्दै प्लेयर अफ द म्याचसमेत बनेका सोमपालले ५१ बलको सामना गर्दा ९ चौका र ६ छक्का प्रहार गरेका थिए। यस्तै कुशल मल्लले २३ रन जोड्दा भीम सार्कीले १६ रनको पारी खेले।

कप्तान विनोद भण्डारी २० र राजेश पुलामी ८ रनमा अविजित रहे। बलिङतर्फ काठमाडौंका सन्दीप लामिछाने र विपिन खत्रीले समान २/२ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४२.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो। 

काठमाडौंका लागि सौरभ खनालले ७४ बल खेल्दै सर्वाधिक ४२ रन बनाउँदा २ चौका र २ छक्का प्रहार गरे। यस्तै सन्दीप रजालीले ३७ रन जोड्दा खडक बोहराले १९ रन बनाएर पवेलियन फर्किएका थिए। त्यस्तै हरिशंकर साह १८ रनमा आउट हुँदा कप्तान सन्दीप लामिछाने १३ रनमा समेटिए।

बागमती प्रदेशविरुद्ध रोमाञ्चक जित निकाल्दा विस्फोटक इनिङ खेलेका सन्दीप सोमबार चल्न सकेनन्। आर्मीका शाहब आलमले सर्वाधिक ४ विकेट निकाल्दा जितेन्द्र मुखियाले ३ तथा सोमपाल कामी, बिक्रम सोब र कुशल मल्लले १/१ विकेट आफ्नो नाममा लेखाए। 

२ खेलबाट पहिलो जित निकालेको आर्मीको अंकतालिकामा २ अंक छ। उता पराजित काठमाडौं मेयर्स–११ को यो पहिलो हार हो। काठमाडौंले पहिलो खेलमा बागमती प्रदेशलाई ९४ रनले हराएको थियो। काठमाडौंको पनि २ खेलमा समान २ अंक नै छ।

प्रकाशित: २५ फाल्गुन २०७७ ०५:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App