५ वैशाख २०८१ बुधबार
खेल

बार्सिलोनाको सम्भावना जीवित

लियोनल मेसी र ओसामाने डेम्बेलेको समान एक गोलप्रेरित बार्सिलोनाले शनिबार सेभियामाथि २–० को जितका साथ स्पेनिस ला लिगाको शीर्ष टोली एट्लेटिकोसँगको दूरी २ अंकमा झारेको छ।  

२५ खेलको समाप्तिमा ५३ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ। २ खेल कम खेलेको एट्लेटिको मड्रिड ५५ अंकका साथ शीर्ष स्थानमा यथावत् छ। २४ खेलमा ५२ अंक बटुलेको रियाल मड्रिड तेस्रो स्थानमा हुँदा ४८ अंकका साथ सेभिया चौथो र ४१ अंकका साथ रियाल सोसिडाड पाँचौं स्थानमा छन्।

केही साताअघिसम्म पनि बार्सिलोना निकै खराब लयबाट गुज्रिरहेको थियो। तर ला लिगाको पछिल्लो १० खेलमा हात पारेको नवौं जितपछि बार्सिलोनाले उपाधि सम्भावना जीवित पारेको हो। शीर्ष टोली एट्लेटिको र साबिक विजेता रियाल आगामी साता आमनेसामने हुंदै छन्।

‘हामी लयमा फर्किएका छाैं र हामी अझै सुधारिएको नतिजा ल्याउन चाहन्छाैं,’ बार्सिलोनाका रक्षक जेरार्ड पिकेले भने, ‘पक्कै पनि हाम्रो उपाधि सम्भावना अझै जीवित नै छ। लगातारको सुखद नतिजाले टोलीको मनोबल बढेको छ।’  

यता सेभियाले भने साताैं खेलमा आएर पहिलो हारको सामना गरेको हो। यस क्रममा सेभियाले पछिल्लो ५ खेलमा एक गोल पनि खाएको थिएन। सेभिया र बार्सिलोना बुधबार कोपा डेल रे सेमिफाइनल दोस्रो लेगमा क्पाम्प नोउमा पुनः एक पटक आमनेसामने हुंदै छन्। सेभियाले कोपा डेल रेको पहिलो लेगमा बार्सिलोनालाई २–० ले निराश पारेको थियो।

‘हामी बुधबारको खेलमा टोलीले पुनरागमन गर्नेमा आशावादी छाैं,’ बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले भने, ‘तर सेभियाविरुद्धको खेल सहज भने हुनेछैन। हामीले स्वाभाविक प्रदर्शन गरेमा हाम्रो अघिल्लो चरण प्रवेशको सम्भावना बलियो छ।’

प्रकाशित: १७ फाल्गुन २०७७ ०४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App