१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

धरान १०के रनमा गजेन्द्र र सन्तोषी विजेता

धरान १० के रन, नवौं नेवा च्यारिटी दौड प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने धावकधाविकाहरु । तस्बिर : रोहित राई

प्रभु बैंक धरान १०के रन, नवौं नेवा च्यारिटी दौड प्रतियोगिता २०७७ मा पुरुषतर्फ गजेन्द्र राई र महिलातर्फ सन्तोषी श्रेष्ठ विजेता भएका छन्। धरानमा आज(शनिबार) सम्पन्न भएको दौड प्रतियोगिताको नवौं संस्करणमा गजेन्द्र पहिलो पटक विजेता भएका हुन् भने सन्तोषी तेस्रो पटक विजेता हुँदै ह्याट्रिक गरिन्। दुवैले जनही नगद ५० हजारसँगै ट्रफी र मेडल हात पारे। गजेन्द्रले निर्धारित १० किलोमिटरको दूरी ३२ मिनेट २१ सेकेण्डमा पूरा गर्दै प्रथम भएका थिए। त्रिभुवन आर्मीका गजेन्द्रको धरान रनमा दोस्रो सहभागिता हो। उनी धरान रनको सातौं संस्करण(२०७५) मा पहिलो पटक सहभागी हुँदा तेस्रो भएका थिए।  

धरान १० के रनमा यसपाली पुरुषतर्फ त्रिभुवन आर्मीकै टंकबहादुर कार्की दोस्रो भए भने आर्मीकै जितेन्द्र दनवर तेस्रो भए। टंकबहादुरले ३३ मिनेट ५४ सेकेण्डमा दूरी पार गरेका थिए भने दनवरले ३४ मिनेटमा १० किलोमिटर दूरी पूरा गरे। पुरुषतर्फ भोजपुरका श्रीकास राई चौथो र धरानका नविन तामाङ पाँचौं स्थानमा रहदै दौड पूरा गरेका थिए।  

महिलातर्फ विजेता सन्तोषीले ३८ मिनेट १० सेकेण्डमा दौड पूरा गरेकी थिइन्। उनी गएको आठौं साफ गेम्समा नेपाललाई स्वर्ण पदक जिताउने अन्तर्राष्ट्रिय खेलाडी हुन्। धरान १० के रनमा उनको यसपाली ह्याट्रिक हो। उनी गत वर्ष पनि विजेता थिइन् भने २०१६ मा चौथो संस्करण पनि जितेकी थिइन्। यस्तै, महिलातर्फ भोजपुरकी छविमाया राईले ४२ मिनेट ७ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो भइन्। जुम्ला जिल्लाकी वन्दना बुढाले ४३ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरेर तेस्रो भइन्। यस्तै, धरानकी इन्द्रकला लिम्बु चौथो र कमला राई पाँचौं हुँदै सान्त्वना पुरस्कार हात पारे।

पुरुष र महिला दुवै विधामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ५० हजार, ३० हजार र २० हजारसहित ट्रफि, मेडल पाए। आयोजक धरान रन संस्थाले चौथो र पाँचौ हुने धावकधाविकाहरुलाई सान्त्वना पुरस्कार स्वरुप विभिन्न उपहार दिएका थियो। रनर अफ दि इयरको पुरस्कार पुरुषतर्फ इन्डिस राईले पाए भने महिलातर्फ छेन्वी राईले पाइन्। विजेताहरुलाई धरान रनका अध्यक्ष रमु राई, मेयर तिलक राई, वडा नं २ का अध्यक्ष माधवगोविन्द श्रेष्ठ, बराह ग्रुपका मानबहादुर दियालीलगायतले पुरस्कार वितरण गरेका थिए।

कार्यक्रममा विश्वको दोस्रो उच्च शिखर के टुमा हिउँदमा सफल आरोपण गरेर विश्व किर्तिमान गर्ने निर्मल पुर्जामगरसहित आरोहण टिम, चर्चित गायक राजु लामा, पूर्व मिस नेपाल मलिना जोशी, दार्जिलिङका मोटिभेस्नल स्पिकर प्रमिस भुटियालाई पनि सम्मान गरिएको थियो। विगतमा कम्तीमा ४ हजारको संख्यामा सहभागिता हुने धरान १० के रनमा यसपाली कोरोनाको कारण डेढ सयको संख्यामा मात्र इलाइटहरुलाई सहभागी गराइएको थियो। अर्को वर्ष १० औं संस्करणलाई भव्यरुपमा आयोजना गर्ने अध्यक्ष राईले जानकारी दिए।

प्रकाशित: ८ फाल्गुन २०७७ ०७:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App