७ वैशाख २०८१ शुक्रबार
खेल

कमलको रंगशाला अब दमकमा

नामकै विवादले झापाको कमल ५ मा निर्माण हुने रंगशाला अब दमकमा बन्ने भएको छ। सरकारले मदन भण्डारी रंगशाला बनाउन दबाब दिए पनि स्थानीयले आदिवासी रंगशाला बनाउनुपर्ने माग राख्दा रंगशाला नै दमकमा बनाउने निर्णय गरेको हो।

रंगशाला निर्माण स्थल जनजाति समुदायले निर्माण गरेको कंक्रिट चिहान भत्काएर बनाइएको थियो। निर्माण सुरु भएको १० वर्षमा रंगशालाको जमिन सम्याउने बाहेक अरू काम हुन सकेन। २०६६ पुस १ गते तत्कालीन सशस्त्र प्रहरीका एसपी गणेश ठाडामगरको अगुवाइमा त्यहाँका ७ सय ४५ आदिवासी जनजातिका कंक्रिट चिहान नष्ट गरी तिनै समाधिस्थलहरूको स्मृतिमा सम्बन्धित पक्षबीच सहमति जुटेपछि अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणको काम सुरु भएको थियो।

 सुरुमा एक करोड रूपैयाँ बजेट आएर सम्याउने काम भएपछि अरू थप २ करोड रूपैयाँ विनियोजन भए पनि खर्च हुन सकेको थिएन। ‘रंगशालाको नाम आदिवासी राख्ने सहमति थियो,’ आदिवासी रंगशाला स्मृति प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईले भने, ‘तर सरकारले एकाएक मदन भण्डारी बनाउने भएपछि बजेट आए पनि काम नहुने अवस्था आयो। सरकारले अघिल्लो आर्थिक वर्षमा मदन भण्डारी रंगशालाको नाममा २ करोड विनियोजन गरे पनि खर्च गर्न सकेको थिएन।’ 

प्रतिष्ठानले रंगशालाका नाममा भएको ३२ बिघा जग्गाको भोगाधिकार सरकारसँग माग गरेको थियो। तर सरकारले सशस्त्र प्रहरीको नाममा रहेको जग्गा सरकारी हुने भनेर दिन अस्वीकार गरेपछि विवाद बढ्दै गयो। कात्तिक २ गते दमकमा भएको एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नाममा विवाद भएपछि कमलमा रंगशाला नबन्ने बताएका थिए। माघ अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले दमकमा रंगशाला बनाउने निर्णय गरेको थियो। त्यसका लागि वन मास्ने निर्णय पनि गरेको छ। 

प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईले राज्य पक्ष सहमतिअनुुसार थप प्रक्रिया बढाउन तयार नभएकाले रंगशालाको विकल्पका सबै पक्ष तत्काल बन्द गर्ने निर्णय भएको बताए। उनले विकल्पतर्फ पहिलो सर्त मागबमोजिम भोगाधिकार दिलाउनेतर्फ राज्यले यतिका समयमा पनि काम गर्ने मनस्थिति नबनाएपछि बाध्य भएर प्रक्रिया स्थगित गर्नुपरेको जानकारी दिए।

राज्य पक्षसँग समितिले आदिवासी स्मृति पार्कका लागि १५ बिघा जग्गाको भोगाधिकारसहित अत्याधुनिक सुविधासम्पन्न संग्रहालयसहितको पार्क निर्माण गरिनुपर्ने माग राखेको थियो। तर सुशील कोइराला नेतृत्वको सरकारले रंगशालाको नाम मदन भण्डारी बनाउने भन्दै बजेट विनियोजन गरेको थियो। 

लगत्तै स्थानीय आदिवासी समुदायले विरोध गरेका थिए। प्रतिष्ठानका महासचिव दिपेनबाला राईले पुर्खाको चिहान मासेर बनाइने संरचनाको नाम आदिवासी राख्न सरकार सहमत नभएको बताए। विवाद बढ्दै गएपछि सरकारले कमलमा बनाउने रंगशाला दमकमा बनाउने निर्णय गरेको छ।

दमकको हम्से दुम्से सामुदायिक वनको २७ हेक्टर क्षेत्रमा रहेका १ हजार ९ सय २४ रूख काट्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। दमक ३ मा निर्माण हुने रंगशालाको काम फास्ट ट्य्राकबाट अघि बढाउने आश्वासन पाइएको वडा अध्यक्ष नवीन बरालले बताए। 

कमलमा बन्ने भनिएको रंगशाला तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले २०६६ सालमा शिलान्यास गरेकी थिइन्।त्यसपछि स्थानीय समितिमार्फत रंगशाला निर्माणको काम भएको थियो। अहिले एउटा बोर्ड र स्तम्भबाहेक रंगशालाका लागि चाहिने कुनै पूर्वाधार निर्माण भएका छैनन्। तस्बिर: कमल ५ मा प्रस्तावित आदिवासी रंगशाला। नाममा विवाद भएपछि सरकारले त्यहाँ बन्ने रंगशाला नै दमकमा बनाउने निर्णय गरेको छ। 

प्रकाशित: ४ फाल्गुन २०७७ ०५:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App