२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

महिला राष्ट्रिय लिग: सावित्राको ह्याट्रिक लय यथावत्

चन्द्रपुरविरुद्ध बल अगाडि बढाउँदै एपिएफकी सावित्रा भण्डारी। तस्बिर: नागरिक

स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिक लय कायम राखेको दिन एपिएफले महिला राष्ट्रिय लिगमा शीर्षता थप फराकिलो पारेको छ। लिगअन्तर्गत बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा एपिएफले रौतहटको चन्द्रपुर नगरपालिकामाथि ८–० को फराकिलो जित हात पारेको हो। पहिलो चरणमा पनि एपिएफले चन्द्रपुरलाई ७–० ले हराएको थियो।  

‘हामीले दोस्रो स्थानको आर्मीसँग ५ अंकको अग्रता लिएका छौं। यो अग्रता अझै फराकिलो भएको भए हाम्रो उपाधि लगभग पक्का हुने थियो,’ एपिएफकी प्रशिक्षक भगवती थापाले भनिन्, ‘त्यसैले हामीले उपाधि पक्का गर्नका लागि अझै कुर्नुपर्नेछ। दोस्रो स्थानको आर्मीले पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ।’ थापाले पहिलो हाफमा खेलाडीबीच तालमेल नमिले पनि दोस्रो हाफमा भने टोली लयमा फर्कंदा सानदार जित पक्का भएको बताइन्।

लिगको ८ खेल समाप्तिमा एपिएफ २४ अंकका साथ शीर्ष स्थानमा यथावत् छ, जुन समान खेल खेल्दै दोेस्रो स्थानमा बसेको आर्मीभन्दा ५ अंक बढी हो। ११ अंकका साथ वालिङ नगरपालिका तेस्रोमा छ भने ११ अंक नै जोडेको नेपाल पुलिस क्लब चौथो स्थानमा छ। त्यस्तै १० अंक जोडेको विराटनगर महानगरपालिका पाँचौं र ६ अंक जोडेको चन्द्रपुर छैटौं स्थानमा छन्। अंकविहीन चौदण्डीगढी नगरपालिका सातौं स्थानमा छ।

खेलको २८ सेकेन्डमा कप्तान अनिता बस्नेतले गरेको गोलमा एपिएफले अग्रता लिएको थियो। जारी लिगमै यो नै अहिलेसम्मकै छिटो समयको गोल हो। यसअघि त्रिभुवन आर्मी क्लबकी शर्मिला थापाले वालिङ नगरपालिकाविरुद्ध खेल सुरु भएको १ मिनेटमै गोल गरेकी थिइन्। छैटौं मिनेटमा सावित्राले बललाई जाली चुमाउँदै एपिएफको अग्रता दोब्बर पारेकी थिइन्।

३२औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल पूरा गर्दै एपिएफको अग्रता ३–० मा पुर्‍याएकी थिइन्। दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै सावित्राले ह्याट्रिक पूरा गर्दै एपिएफलाई फराकिलो जिततर्फ डो¥याएकी थिइन्। ५४औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफको अग्रता ५–० मा पुर्‍याएकी थिइन्।  

६०औं मिनेटमा सावित्राले व्यक्तिगत चौथो र टोलीका लागि छैटौं गोल गरिन्। त्यसको दुई मिनेटपछि सावित्राले एपिएफका लागि सातौं गोल गरिन्। समय सकिन ११ मिनेट बाँकी रहँदा सावित्राले व्यक्तिगत छैटौं गोल गर्दै एपिएफको रबाफिलो जित पक्का गराइन्। जारी लिगको ८ खेलमा सावित्राको यो ३८औं गोल हो।  

‘हामीले पहिलो हाफमा सन्तोषजनक प्रदर्शन गरे पनि दोस्रो हाफमा आत्तिएर खेल्दा फराकिलो हार व्यहोर्‍यौं,’ चन्द्रपुरका प्रशिक्षक नुरराज काफ्लेले भने, ‘हाम्रो लक्ष्य भनेको चौथो वा पाँचौं स्थानमा बसेर लिगको अन्त्य गर्ने हो। हामीसँग अझै ४ खेल बाँकी छन्, जसमध्ये कम्तीमा २ खेलमा स्पष्ट अंक जोड्नेछौं।’ लिगअन्तर्गत बिहीबार हुने पहिलो खेलमा वालिङले चौदण्डीगढीको सामना गर्नेछ भने दोस्रो खेलमा विराटनगर र आर्मी आमनेसामने हुनेछन्।

प्रकाशित: २९ माघ २०७७ ०४:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App