५ वैशाख २०८१ बुधबार
खेल

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी शुरु

महिला हाफ म्याराथन थपियो, रन फर फन हट्यो

पोखरा म्याराथनबारे जानकारी गराउँदै आयोजक । तस्बिरः नागरिक

पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको तयारी थालिएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा प्रत्येकवर्ष फागुनको पहिलो शनिबार पोखरामा यो प्रतियोगिता हुँदै आएको छ ।

मञ्चले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको १५ औं संस्करण गर्ने तयारी शुरु भएको जनाएको हो । यसवर्ष फागुन १ गते शनिबार नै प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । प्रतियोगिताको मुख्य ईभेन्ट पुरुष र महिला म्याराथन फागुन १ गते आयोजना गरिने भएपनि अन्य ईभेन्ट भने फरक–फरक दिनमा हुने अध्यक्ष गुरुङले बताए ।

पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गर्ने उद्देश्यले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ हुने प्रतियोगिता अन्तर्गत यस वर्ष ४२.१९५ किलोमिटर म्याराथन, महिला २१ किलोमिटरको हाफ म्याराथन, खुल्ला १० किलोमिटर महिला तथा पुरुष, ५ किलोमिटर छात्र तथा छात्रा, अपाङ्गता भएकाका लागि महिला तथा पुरुष ह्विल चेयर प्रतियोगिता र दृष्टिविहिन एकसय मिटर महिला तथा पुरुष दौड प्रतियोगिता हुने भूतपूर्व खेलाडी मञ्च नेपालले जनाएको छ ।

प्रतियोगितामा पहिलोपटक महिला हाफ म्याराथन २१ किलोमिटर थपिएको हो । अघिल्लो संस्करणमा हरेक पटक हुँदै आएको ‘रन फर फन’ इभेन्ट भने यस पटक नहुने भएको छ । सहभागिलाई उर्जा थप्न आयोजना गरिदै आएको रन फर फन यस पटक कोभिड–१९को जोखिमलाई मध्यनजर गर्दै स्थगित गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

मञ्चका अध्यक्ष गुरुङले विश्व परिवेशमा चर्चित शहरको नाममा आयोजना गरिने सिटी म्याराथनको अवधारणा अनुरुप नै सुन्दर पर्यटकीय नगरी पोखरालाई पनि खेलकुदको विश्व मानचित्रमा स्थापित गराउने, खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न र वर्षको एकदिन शहरकै उत्सवको रुपमा प्रतियोगितालाई स्थापित गराउने आयोजकको उद्देश्य रहेको बताए ।  

उनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण जनता प्रभावित भएपनि उनीहरुलाई पनि कोभिडसँगै भिड्दै दैनिकीमा फर्किनुपर्ने सन्देश दिनका लागि प्रतियोगितालाई निरन्तरता दिइन लागेको बताए ।

म्याराथनमा प्रथम हुनेले नगद २ लाख, दोश्रोले १ लाख, तेश्रोले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै चौथो हुनेले सान्त्वना रुवस्प नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । महिला हाफ म्याराथन प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीयले ७५ हजार, तृतीयले ५० हजार, सान्त्वनाले १५ हजार रुपैयाँ प्राप्त गर्ने मञ्चका संस्थापक अध्यक्ष खड्कबहादुर रानाभाटले जानकारी दिए ।

त्यस्तै, १० कि.मी. पुरुष–महिला दौडमा प्रथम, द्वितीय र तृतीयले क्रमशः १५, १० र ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । पाँच किलोमिटर छात्र–छात्रा दौडमा प्रथम, द्वितीय र तृतीयले क्रमशः १०, ७ र  ४ हजार रुपैयाँ प्राप्त गर्ने मञ्चले जनाएको छ । प्रतियोगितामा ह्विल चेयर पुरुष–महिला र १ सय मिटर दृष्टिविहीन महिला तथा पुरुष दौडमा प्रथम, दोश्रो र तेश्रोले क्रमशः ७,५ र ३ हजार रुपैयाँ पुरस्कार पाउने रानाभाटले जानकारी दिए ।

पोखराको प्रतिष्ठित खेलको रुपमा स्थापित पोखरा म्याराथनलाई सुजल डेरी उद्योगको उत्पादन सफल दूधले चार वर्षदेखि मुख्य प्रायोजन गर्दै आइरहेको छ ।

प्रकाशित: २७ पुस २०७७ ०८:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App