१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पर्वतीय खेलकुद महोत्सव गण्डकी प्रदेशमा हुने

आठौं पर्वतीय खेलकुद महोत्सव गण्डकी प्रदेशमा हुने भएको छ । आठौं पर्वतीय खेलकुद महोत्सव मूल आयोजक समितिले आगामी फागुन २० देखि चैत २० गतेसम्म गण्डकी प्रदेशमा पर्वतीय खेलकुद महोत्सव गर्ने जानकारी दिएको हो ।  

खेलकुद महोत्सवमा १५ खेल हुने महोत्सव संयोजक सुवर्ण श्रेष्ठले जानकारी दिईन् । उनका अनुसार खेलकुद महोत्सवमा आर्चरी, ठेलो, क्यान्योनिङ, रक क्लाईम्विङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रसकन्ट्री रनिङ, मोटरस्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, ट्रायथोलन, गल्फ, स्केट वोर्डिङ लगायतका खेल समावेश हुनेछन् ।

नवौं खेलकुद हुन नसकेको अवस्थामा त्यसको ‘वार्म अप’का रुपमा आयोजना गरिने महोत्सवमा हुने १५ खेल मध्ये रिङ रेस्लिङ र ट्रायथोलन अन्तर्राष्ट्रियस्तरको हुनेछ भने ठेलो र टग अफ वार प्रदेश स्तरीय हुने आयोजकले जनाएको छ । अन्य खेलहरु भने राष्ट्रियस्तरका हुनेछन् ।

महोत्सव गण्डकी प्रदेशको राजधानी पोखरासहित प्रदेशका विभिन्न जिल्लामा आयोजना गरिने राष्ट्रिय खेलकुद परिषदका सदस्यसमेत रहेका पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले जानकारी दिए । उनका अनुसार घोडा दौड र अल्पाईन खेलहरु मुस्ताङ जिल्लामा हुनेछन् । त्यस्तै, पोखरामा मोटर स्पोर्टस, रिङ रेस्लिङ, आर्चरी, साइक्लिङ, क्रस कन्ट्री रनिङ, स्केट वोर्डिङ लगायतका खेलहरु हुनेछन् । टग अफ वार पोखरामा गर्ने कि स्याङ्जामा भन्ने बारेमा छलफल भइरहेको भट्टराईले बताए । 

यसैगरी, ठेलो प्रतियोगिता तनहुँमा गर्ने कि पोखरामा गर्ने भन्नेबारेमा निर्णय भइनसकेको उनले बताए । उनका अनुसार आईस क्लाईम्विङ प्रतियोगिता हुने भयो भने त्यो मनाङमा गर्ने छलफल भएको छ । प्रदेशका बाँकी जिल्लाहरु बागलुङ, पर्वत, म्याग्दी, लमजुङ लगायतका जिल्लामा पनि एकएकवटा खेल गर्नेबारे छलफल भइरहेको अध्यक्ष भट्टराईले जानकारी दिए ।

कुल ५ सय खेलाडीले सहभागिता जनाउने खेलकुद महोत्सवमा विदेशी खेलाडी आउने आयोजकले जनाएको छ । ट्रायथोलनमा एसियन देशहरु र रिङ रेस्लिङमा जापान, अमेरिका, मलेसिया, सिंगापुर, भारत लगायतका देशका खेलाडीहरुले आउने चाहना व्यक्त गरेको महोत्सव संयोजक तथा राखेप सदस्य श्रेष्ठले जानकारी दिए ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणका कारण नवौं राष्ट्रिय खेलकुद हुन नसकिरहेको अवस्थामा गण्डकी प्रदेश खेलकुदका सबै ईभेन्ट गर्न सक्षम छ है भन्ने सन्देश दिन आठौं पर्वतीय खेलकुद महोत्सव आयोजना गर्न लागिएको राखेप सदस्य सम्पन्न श्रेष्ठले बताए ।

महोत्सवको गण्डकी प्रदेश संयोजक समेत रहेका गण्डकी प्रदेशसभाका सदस्य ईन्द्रधारा विष्टले सुस्ताएको पर्यटन प्रवद्धर्न पुनरुत्थान गर्दै आर्थिक समृद्धिका लागि खेलकुद महोत्सवले सघाउने विश्वास व्यक्त गरे । महोत्सव सम्पन्न गर्न १ करोड ८८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित: २० पुस २०७७ १०:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App