६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

चार दशकपछि पोखरालाई राष्ट्रिय खेलकुदको अवसर

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई जिल्ला संघसँगै सुझाव मागिदैं

पोखरा रंगशाला प्रवेशद्वार । तस्बिरः नागरिक

कोरोना भाइरसको सन्त्रास सबैतिर छ । त्यही सन्त्रासका बाबजुत पनि खेलकुद क्षेत्र बिस्तारै चलायमान बन्दै गएको छ । खेलकुदका गतिविधि बढ्न थालेका छन् । कोरोनाको सन्त्राससँगै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद पषिद्ले पोखरामा विभिन्न जिल्ला संघका पदाधिकारीसँग छलफल गर्दै राय–सुझाव पेश गर्न आग्रह गरेको छ ।

खेलकुद गतिविधि बढ्दै गएपछि प्रदेशका सबै जिल्लासँग प्रतियोगिताको बारेमा आवश्यक सुझाव माग्नुपर्ने राय छ । परिषद्ले पोखरामै रहेका विभिन्न खेलसँग मात्रै सुझाव मागेको थियो । ‘जिल्लामा खेलकुदको अवस्था कस्तो छ । प्रशिक्षण गर्ने बातावरण छ कि छैन, खेलाडीको अवस्था के छ त्यो बुझेर मात्रै अघि बढ्नुपर्छ,’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसंघ कास्कीका अध्यक्ष दिपकबहादुर गोदारले भने,‘पोखरालाई मात्रै लक्षित गरेर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने र नहुने विषयमा निर्णय गर्न सकिने अवस्था रहदैन ।’ उनका अनुसार राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सबै जिल्लालाई सूचित गरेर जिल्ला छनौट हुदैं खेलाडी प्रदेश छनौटसम्म आईपुग्ने अवस्थाको बारेमा समेत बुझ्नुपर्छ ।  

राष्ट्रिय खेलकुदको जिम्मेवारी गण्डकी प्रदेशको काँधमा छ । चर्चासँगै प्रशिक्षण गराउनुपर्ने दायित्व समेत बढेको छ । ३५ खेलमध्ये थोरै खेलका मात्रै प्रशिक्षक छन् । सितेरियो कराँते, तेक्वान्दो, उसु, भलिबल, शारीरिक सुगठन, एथलेटिक्स र जिमन्याष्टिकका मात्रै प्रशिक्षक छन् । बाँकी खेल प्रशिक्षकविहीन छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चा चलिरहँदा प्रशिक्षकको पीडा गण्डकी प्रदेश खेलकुदले भोग्दै आएको छ । स्वयं सेवक प्रशिक्षकको भरमा धानिनुपर्ने बाध्यता छ । पदकको अपेक्षा उस्तै छ । तर सिकाउने दक्ष प्रशिक्षककै अभावमा भने कास्कीको खेलकुद रुमलिएकोमा खेल पदाधिकारीको चिन्ता छ ।  

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका प्रशिक्षण विभाग निर्देशक कृष्ण तिमिल्सिनाले संघले दिएको सुझावलाई परिषद्ले पठाउने र परिषद्ले नै निर्णय गरेपछि कार्यान्वयन गरिने बताए । ‘खेलाडी लामो समयदेखि घरमै बसेका छन् । प्रतियोगिताको लागि प्रशिक्षणको समय पाए नजिता राम्रो आउथ्यो कि भन्ने हाम्रो अपेक्षा हो,’ उनले भने ‘परिषदले निर्णय गर्ने हो । निर्णयलाई हामीले हाम्रो तहबाट कार्यान्वयन गर्ने मात्रै हो ।’ प्रशिक्षणको समय पाएको अवस्थामा प्रशिक्षण गराउन सहज हुने विश्वास उनको थियो ।  

गण्डकी प्रदेशले आयोजनाको दायित्वसँगै पदकको शाख समेत जोगाउनुपर्ने अर्को बाध्यता छ । दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४० सालमा पोखरामै आयोजना गरिएको थियो । राष्ट्रिय खेलकुद प्रतियोगिता ३७ वर्षपछि फेरी पोखरा फर्किएको छ । ३७ वर्षअघि केवल १३ खेल समावेश गरिएको थियो । गण्डकी (अञ्चल)ले दोस्रो स्थान हासिल गरेको थियो । विभागिय टोलीको सहभागिता भने थिएन् । १४ वटै अञ्चलले प्रतिस्पर्धा गरेका थिए । अहिले सात प्रदेशसहित तीन विभागीय टोलीको प्रतिस्पर्धा हुनेछ ।

‘गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजक हो । आयोजक भईसकेपछि उत्कृष्ट नजिता कसरी ल्याउन सकिन्छ भनेर यो बेलामा प्रतियोगिताको सम्भावनाको बारेमा छलफल गरियो’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले भने, ‘सबै संघका पदाधिकारीलाई राय सुझावको लागि आग्रह गरिएको छ ।’ सबै संघले दिएको सुझावलाई परिषदमा पठाउने उनले सुनाए । सुझाव अनुसार नै नवौंको आवश्यक तयारीलाई कसरी अगाडि बढाउने भन्ने अहिलेको उद्देश्य र चुनौति रहेको कार्यालय प्रमुख योगीको भनाई थियो । 

प्रकाशित: १ पुस २०७७ ०७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App