coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पर्वतीय पर्यटनको सम्भावना छ, तर सामान छैनन्

तनहुँको विमलनगरस्थित चट्टानमा रक क्लाईम्बिङ गरिँदै । फाइल तस्बिरः नागरिक

गण्डकी  प्रदेशमा ५ हजार मिटर अग्ला पिक धेरै छन् । ती पिकमा मानव पाईला परिसकेको छ । छोटो समयको लागि पिक आरोहण गरेर फर्किने टोलीको लागि गण्डकी प्रदेश गन्तव्य बन्नसक्ने सरोकारवालाको भनाई छ । साहसिक पर्यटन प्रवद्र्धनको लागि पर्वतीय पर्यटन महत्वपूर्ण पाटो बन्ने विश्वास पनि उनीहरुको छ ।  

प्रदेशमा साहसिक खेलको रुपमा वाल(पर्खाल), रक(चट्टान) र आईस(हिमाल÷पिक) क्लाईम्बिङ हुन्छन् । क्लाईम्बिङ मार्फत साहसिक पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा क्लाईम्बर्सले नै जोड दिदैं आएका छन् । वाल क्लाईम्बिङ भने कमै मात्र हुने गरेको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न क्लाईम्बिङ महत्वपूर्ण हुने भएपनि सम्बन्धित निकायले कमै मात्रै चाँसो दिएका छन् ।  

पर्यटन प्रवद्र्धनार्थ पाँचहजार मिटर अग्ला पिक चढ्ने बातावरण क्लाईम्बर्स टोलीले बल्ल अहिले मिलाउन थालेका छन् । कुमारी माछापुच्छ«ेको फेदैमा रहेको मर्दी पिक चढ्ने बातावरण ट्रेकिङ व्यवसायी एवं क्लाम्बर्सले गरिसकेका छन् । पिक चढ्नको लागि अप्ठ्रो ठाँउमा रोप (डोरी) फिक्स गर्न नट (फलामे बोल्ट) राखिएको छ । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई पाँचहजार मिटरको पिक उक्लिन सहज हुने विश्वास छ ।  

‘मर्दी पिकलाई लक्षित गर्दै रोपको लागि नट फिक्स गरिसकेका छौं,’नेपाल पर्वतारोहण संघका सदस्य पासाङ ग्ल्याजेन शेर्पाले भने ‘नट फिक्स गरिएपछि रोपको सहयोगमा माथि चढ्न सजिलो हुन्छ ।’ एकमहिना अघि मात्रै नट फिक्स गरिएको उनको भनाई थियो । कोरोना कहरमै मर्दी टे«किङ जानेको लर्को नै थियो । यद्यपी अर्को वर्षलाई लक्षित गरी मर्दी हिमाललाई फोकस गरिएको उनले बताए ।  

आईसमात्रै नभई रक क्लाईम्बिङ पनि पर्वतीय पर्यटनको आधार हुने उनको भनाई थियो । रक क्लाईम्बिङको लागि मुस्ताङको जोमसोमस्थित सेनाको मातहतमा रहेको डाँडा प्रयोग हुने गरेको छ । तनहुँको बिमलनगरको चट्टानमा समेत रक क्लाईम्बिङ गर्न सकिन्छ । ‘क्लाईम्बिङ मार्फत पर्वतीय पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ’ उनले भने ‘त्यसको लागि आवश्यक उपकरण सहजता हुनुपर्छ ।’ मनाङमा आईस क्लाईम्बिङको लागि पठन पाठनसँगै अभ्यास समेत गराईदैं आएको छ ।  

मनाङको पिसाङमा मनाङ मान्उटेनरिङ स्कुल पनि सञ्चालित छ । स्कुलमा दुईवटा कोर्ष हुने गरेको छ । एक महिनादेखि बढिमा डेढमहिनाको कोर्ष हुन्छ । त्यहाँ पठनपाठनसँगै आईस क्लाइम्बिङ गरेर प्राक्टिस गरिने गरिएको छ ।  स्कुलमा हिमाल आरोहण सम्बन्धी पठनपाठनसँगै प्राक्टिस गराउने उनले सुनाए । क्लाईम्बिङको समयमा डोरी कसरी लगाउने, रुट कसरी बनाउने, साथीभाइ अड्किएको अवस्थामा कसरी उद्दार गर्ने लगायत विविध विषयमा जानकारी गराइने उनले बताए ।  

‘आवश्यक सामाग्रीको अभाव छ । पोखरामा क्लाईम्बिङका सामान केही पाईदैन् । प्रवद्र्धन हुन सकेको छैन्,’ उनको भनाई थियो । आईस तथा रक क्लाईम्बिङको लागि आवश्यक डोरी, नट, अंकुश, हुक, रक किल्ला, आईस ह्यामर लगायतका सामान सहजै पाउन नसक्दा समस्या भएको उनले बताए । गण्डकी प्रदेशमै ती सामान किन्न पाइदैन । सामान नपाउँदा क्लाईम्बिङमा समस्या हुदैं आएको छ । पोखरा–१७ रातो पैरोस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा हिमाल आरोहण गरेका आरोहीका केही सामानहरु छन् । ती केवल संग्रहालयमा संग्रह गरिएको छ ।  

नेपाल पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले गण्डकी प्रदेश पर्वतीय खेलकुदको गन्तव्य बन्न सक्ने बताए । उनले मनाङमा शुरु भईसकेको क्लाईम्बिङ सम्बन्धी पठन पाठनसँगैको प्रशिक्षणले पर्वतीय खेलकुदसँगै पर्वतीय पर्यटनमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे । ‘पर्वतीय पर्यटनको लागि सरोकार निकायसँगै प्रदेश सरकारले पनि गम्भीरता देखाउनुपर्छ,’ उनको भनाई थियो । 

प्रकाशित: ३० मंसिर २०७७ ०८:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App