२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

पोखरा मौजामा सेमी हाइ अल्टिच्युड खेल मैदान बन्ने पक्का

पोखराको मौजामा सेमी हाइ अल्टिच्युड खेल मैदान बन्ने पक्का भएको छ । पोखरा महानगरपालिकाको ५० लाखको लागतमा पोखराको मौजामा सेमी हाइ अल्टिच्युड खेल मैदानको विस्तृत परियोजना अध्ययन (डिपीआर) निर्माण गरेसँगै मैदान सम्याउने तयारीसमेत गरिएपछि त्यहाँ खेल मैदान बन्ने पक्काजस्तै भएको पोखरा–२० का वडाध्यक्ष सिम गुरुङले बताए ।

महानगरको ५० लाखको लागतमा डिपीआर भएको र अबको केहि समयपछि नै मैदान सम्याउने तयारी गरिएको वडाध्यक्ष गुरुङले बताए । पुस अन्तिम वा माघ पहिलो हप्ताबाट मैदान सम्याउन सुरु गर्ने तयारी भइरहेको गुरुङले जानकारी दिए । चैत मसान्त सम्ममा खेल मैदान सम्याएर बैशाख १ गते उद्घाटन गर्ने तयारी भएको उनको भनाइ छ । ‘डिपीआर अनुसारको संरचना पछि बन्छ’, उनले भने, ‘मैदान सम्याएर सक्ने र वैशाख १ गते पोखरा महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसहितको टिम र पोखरेली पत्रकारबीच मैत्रीपूर्ण फुटबल खेलेर मैदानको उद्घाटन गर्ने भन्ने निर्णय भएको छ ।’

यो खेल मैदान बनेमा पोखराको सबैभन्दा उचाईको खेल मैदान बन्नेछ । एक हजार सात सय मिटरको उचाईमा रहेको यो खेल मैदानमा इलेभन अ साईड फुटबल खेल्न मिल्नेगरी संरचना निर्माण गरिने छ । महानगरले तयार गरेको डिपीआर अनुसार यो मैदान पूर्ण रुपमा निर्माण सम्पन्न गर्न १६ करोड खर्च लाग्नेछ । मैदानसँगै त्यहाँ करीब ३ हजार दर्शक अटाउने क्षमताको प्राकृतिक प्याराफिटसमेत निर्माण गरिने वडाध्यक्ष गुरुङले बताए । त्यस्तै, खेलाडीका लागि चेञ्जिङ रुम, शौचालयलगायतका संरचनापनि निर्माण गरिनेछ ।

त्यस्तै सो मैदानको दक्षिणी भागमा बास्केटबल र भलिवल कोर्टसमेत बनाईनेगरी डिपीआर तयार भएको छ । मैदानमा प्राकृतिक दुबो रोपिने उनले जानकारी दिए ।

पोखराको पर्यटकीय क्षेत्र मानिने मौजामा बन्ने खेल मैदानबाट माछापुच्छ्रे हिमाल र अन्नपूर्ण हिमालका श्रृंखलाहरु दृश्यावलोकन गर्न सकिन्छ । उसो त खैल मैदान नजिकैको थुम्कोबाट पोखरा बजारसँगै नजिकका क्षेत्रहरु प्रष्टसँग देखिन्छ । नजिकै जंगलसमेत भएकाले त्यहाँ मृग, हरिण, कालिज, वन कुखुरालगायतसँग साक्षात्कारसमेत गर्न सकिने स्थानिय समाजसेवी यमन गुरुङले जानकारी दिए ।

सेमी हाइ अल्टिच्युड खेल मैदान बनाईसकेपछि नेपालको राष्ट्रिय फुटबल टिमलाई प्रशिक्षण (क्लोज क्याम्पमा राखेर) पनि गराउन सकिने वडाध्यक्ष गुरुङले बताए । त्यसबारे खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मासँग कुराकानी भइसकेको उनले जानकारी दिए । खेल मैदान नजिकै नेपालकै चर्चित आँटी घर मौजा होम–स्टेसमेत भएकाले त्यहिं राखेर क्लोज क्याम्प चलाउन सकिने उनको भनाइ छ । ‘हिमालको काखमा ग्रामिण परिवेशमा अर्गानिक वस्तुहरू खाएर प्रशिक्षण गराउने हो, भने पक्कैपनि नेपालको फुटबलमा सकारात्मक नतिजा दिन्छ भन्नेमा हामी विश्वस्त छौं’, उनले भने । मौजामा बन्ने सेमी हाइ अल्टिच्युड खेल मैदान पोखराको गौरवको योजना हुने वडाध्यक्ष गुरुङले बताए।

प्रकाशित: २० मंसिर २०७७ ११:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App