coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

मंसिर ६ गते नेपालगन्ज म्याराथन हुँदै

कोरोना कारण इभेन्ट्सलाई घटाउँदै छैटौ नेपालगन्ज म्याराथन आयोजना गर्ने तयारी भएको छ। पश्चिम नेपालमा हुने गरेको प्रमुख म्याराथनको रुपमा रहेको नेपालगन्ज म्याराथन आगामी मंसिर ६ गते आयोजना गर्ने आयोजक क्रिएटिभ ह्यान्ड्सले बताएको छ।  

क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा हुन लागेको म्याराथनलाई धारा तोरीको तेलले मुख्य प्रायोजन गरेको छ।  

सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुँदै आएको छ।  

नेपाल एथ्लेटिक्स संघबाट मान्यताप्राप्त नेपालगन्ज म्याराथन आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति पाइसकेको आयोजकले बतायो। त्यस्तै नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनलाई ओलम्पिक छनोटका रुपमा समेत लिएको छ। नेपाल एथलेटिक्स संघले विगतमा जस्तै नेपालगन्ज म्याराथनमा साथ दिएको छ।

म्याराथनमा आशीर्वाद पेन्ट्स र राष्ट्रिय वाणिज्य बैंकले सह प्रायोजकको रुपमा सहयोग गर्ने छन्। खेल पोशाक उत्पादन कम्पनी सहास स्पोर्टस्सँग पनि म्याराथनका लागि सहकार्य भएको छ।  

राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र नेपालगन्ज उप–महानगरपालिले म्याराथनलाई सहयोग गर्नेछन्।  

पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्भावको शहर हो। सामाजिक एकताको प्रतिक खेलकुदमार्फत शहरलाई चिनाउने उद्देश्यले विगत ५ वर्षदेखि निरन्तर नेपालगञ्ज म्याराथन गर्दै आएका आयोजक कमिटीका अध्यक्ष एवम म्याराथनका लिडर टिएस ठकुरीले आइतबार पत्रकार सम्मेलनमा जानकारी गराए। 

ठकुरीले भने, ‘मानिस एकैपटक एक ठाउँमा जमघट गराउँछ। तर, यसपटक मानिसको जमघटमा कोरोनाका कारण बढी ध्यान दिने र स्वास्थ्य सम्बन्धि मापदण्ड अपनाउनुपर्ने छ। कोरोनाका कारण उत्पन्न परिस्थितिका कारण दौडमा भाग लिनेलाई दौडको समयमा बाहेक र म्याराथनलाई सफल बनाउन उपस्थित हुने सबैलाई मास्कको प्रयोग र सामाजिक दूरीलाई कायम गर्न आग्रह गर्दछौं।’  

उनले थपे, ‘म्याराथनले सामाजिक एकताको सन्देश दिन्छ। एक हिसाबले म्याराथन एउटा उत्सव हो। उत्सव साझा हुनुपर्छ। नेपालगन्ज म्याराथन त्यही उद्देश्यबाट प्रेरित छ। त्यसका लागि सबैको सहभागिता, साझेदारी, सहकार्य जरुरी छ।’

कोरोनाकै कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतको भन्दा म्याराथनमा समावेश इभेन्ट भने घटाइएको छ। पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश गरिएको छ।  

गत वर्ष ५ किलोमिटर महिलातथा पुरुषको स्कुल स्तरीय तथा खुल्ला दौड, त्यसैगरी ८ देखि १२ वर्ष उमेर समूहको पनि दौड र  शारीरिक रुपले अशक्तहरुको लागिपनि दौड स्पर्धा समावेश गरिएको थियो।

कर्पोरेर फन रनमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथाबिभिन्न पेशा र व्यवसायीहरुले सहभागिता  रहनेछ। खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफ म्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ। कर्पोरेट रनका विजेतालाई पुरस्कार प्रदान गरिनेछ।

 नेपालगन्ज उपमहानगरपालिका नजिक बीपीचोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनःबीपीचोकमा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागी हुनेछन्। म्याराथनमा लुम्बनी, कर्णाली, प्रदेश ७ का खेलाडीहरुले भाग लिँदै आएका छन्।

 नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउद विजेता भएका थिए।  

त्यस्तै महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन्। गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी थिइन्। आइतबार भएको पत्रकार सम्मेलनमा नेपाल एथलेटिक्स संघका केन्द्रीय अध्यक्ष राजीवविक्रम शाहले नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियकरण गर्न संघले सघाउने बताए।  

मुख्य प्रायोजक केएल दुग्गड गु्रपका महाप्रवन्धक प्रदीप छाजेडले सहकार्यलाई निरन्तरता दिनुका साथै प्रायोजन रकम बढाउदै जाने प्रतिबद्धता व्यक्त गरे। सहप्रायोजक आशिर्वाद पेन्ट्सका अध्यक्ष किरण कार्की र राष्ट्रिय बाणिज्य संघका प्रदेश प्रमुख आनन्द सुवेदीले सहकार्यलाई निरन्तरता दिने बताएका छन्।

प्रकाशित: २३ कार्तिक २०७७ १४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App