२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मिसबाहले दोहोरो जिम्मेवारी त्यागे

पूर्वक्रिकेटर मिसबाह उल हकले पाकिस्तान क्रिकेटको प्रमुख छनोटकर्ताको पद छाड्दै राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारीमा ध्यान केन्द्रित गर्ने भएका छन्।

बुधबार लाहोरमा पत्रकार सम्मेलन गर्दै मिसबाहले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)लाई आगामी ३० नोभेम्बरदेखि राष्ट्रिय टोलीको प्रमुख छनोटकर्ताको पदबाट हट्ने जानकारी गराएको उल्लेख गरेका हुन्। उनले गत वर्षको सेप्टेम्बरमा मात्र पाकिस्तान क्रिकेटको प्रमुख छनोटकर्ता र हेड कोचको दोहोरो जिम्मेवारी लिएका थिए। ‘जिम्बाब्वेसँग हुने आगामी शृंखलामा राष्ट्रिय टोली छनोट गर्नेछु र त्यसपछि भने हेड कोचको जिम्मेवारीमा मात्र ध्यान केन्द्रित गर्नेछु,’ उनले भने। मिसबाहले बोर्ड या अन्य कुनै व्यक्तिको दबाबमा आफूले छनोटकर्ताको जिम्मेवारी नछाडेको समेत स्पष्ट पारेका छन्।

‘यो मेरो व्यक्तिगत निर्णय नै हो। दुई महत्वपूर्ण जिम्मेवारी एकैपटक सम्हाल्न सक्दिनँ जस्तो लाग्यो, त्यसैले एक पदबाट राजीनामा दिएको हुँ। म चाहन्छु कि राष्ट्रिय टोलीको हेड कोचको जिम्मेवारीमा मैले उत्कृष्ट प्रतिफल दिन सकुँ,’ राष्ट्रिय टोलीका पूर्वक्रिकेटरसमेत रहेका मिसबाहले भने, ‘जो प्रमुख छनोटकर्ताको जिम्मेवारीमा आए पनि मेरो पूर्ण समर्थन रहनेछ र त्यो व्यक्तिसँग राम्रो सहकार्य गर्दै पाकिस्तानलाई सबै फरम्याटको क्रिकेटमा शीर्ष तीनमा पु-याउने तवरबाट काम गर्नेछु।’ गत महिना पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँगको भेटपश्चात् पछिल्लो निर्णय आएको चर्चाबारे मिसबाहले अस्वीकार गरेका छन्।  

गत महिना मिसबाह, राष्ट्रिय टोलीका सिनियर खेलाडीले अजहर अली र मोहम्मद हाफिजले घरेलु क्रिकेट लामो समयदेखि बन्द रहेकाले राष्ट्रिय टोलीमा त्यसको असर पर्ने भन्दै पाकिस्तानका प्रधानमन्त्री इमरानसँग छलफल गरेका थिए। यद्यपि, मिसबाह र दुई सिनियर खेलाडीले कुनै सल्लाह नै नगरी सीधै प्रधानमन्त्रीसँग वर्तमान विषयलाई लिएर छलफल गर्न गएकोप्रति पिसिबी भने बेखुसी भएको छ। ‘यदि प्रधानमन्त्रीसँगको त्यो बैठककै कारण मैले प्रमुख छनोटकर्ताको जिम्मेवारी छोडेको भए हेड कोचबाट पनि राजीनामा दिन्थेँ होला,’ पाकिस्तान क्रिकेटका पूर्वकप्तानसमेत रहेका मिसबाहले भने।  

पिसिबीका प्रमुख एहसान मनी र सिइओ वासिम खानले केही समयअगाडि मिसबाह र अजहरलाई बोलाएर बोर्डको संरक्षकसमेत रहेका प्रधानमन्त्री इमरानसँग सीधै छलफल नगर्न चेतावनी दिएको बुझिएको छ। उनले समयसँगै धेरै कुरा सिक्दै जाने उल्लेख गर्दै कुनै समय दुवै जिम्मेवारी पनि सम्हाल्न सक्ने महसुस भएको उल्लेख गरेका छन्। गत विश्वकपको सेमिफाइनलमा स्थान बनाउन असफल भएपछि पिसिबीले मिकी अर्थरलाई हटाउँदै मिसबाहलाई प्रमुख छनोटकर्ता र हेड कोचको जिम्मेवारी दिएको थियो। पाकिस्तानका तीव्र गतिका पूर्वबलर सोहेब अख्तरले प्रमुख छनोटकर्ताको जिम्मेवारीका लागि आफूले बोर्डसँग सल्लाह गरे पनि तत्कालै मिसबाहलाई प्रतिस्थान गर्ने कुनै योजना नरहेको जबाफ दिएको उल्लेख गरेका छन् ।

प्रकाशित: २९ आश्विन २०७७ ०४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App