१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

कोरोना कहरमा खेलकुद : पूर्वाधार निर्माण बजेटले रोकियो

कोरोना कहरले सबै क्षेत्र ठप्प छ। खेलकुद क्षेत्र पनि अछुतो छैन्। खेलकुद गतिविधि होस् या पूर्वाधार निर्माण, कोरोनाले  प्रत्यक्ष असर गरेको छ। कोरोनाकै कहरले गण्डकी प्रदेशका खेलकुदका पूवार्धारको काम ठप्प जस्तै भएका छन्। केही बजेट अभावले रोकिएका छन्। कतै सामान नआउँदा रोकिन पुगेको छ।  

देशकै ठूलो र गौरवशाली फुटबल मैदान पोखरा रंगशालाको फुटबल मैदानको काम रोकिएको छ। कोरोनाले त्रसित बनाएको छ। भारतबाट आउनुपर्ने सामान नआउँदा काम अलपत्र छ। पोखरा रंगशाला फुटबल मैदानको प्यारापिट बनाउने काम रोकिन पुगेको छ। चैत ११ गतेदेखि देशभर लगाइएको लकडाउनपछि सबै ठप्पै हुन पुगेको छ। १ अर्ब २८ करोडको फुटबल मैदानको अहिले भिआईपी प्यारापिट माथि छानो हाल्ने काम बाँकी छ।  

तर सामान भारतमै अडकिएको छ। १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)लाई लक्षित गर्दै फुटबल मैदानसहित प्यारापिट निर्माण शुरु गरिएको थियो। प्यारापिट पूर्ण रुपमा तयारी नभएपनि साग महिला फुटबल प्रतियोगिता भने गत मंसिर १५ देखि २४ गतेसम्म निर्माणाधिन पोखरा रंगशालामै आयोजना गरिएको थियो।  

स्वीमिङ पुल र सुटिङ रेन्ज निर्माण कार्य नै थालिएको छैन्। टेण्डर आह्वानको स्वीकृति नै नहुदाँ काम अगाडि बढेको छैन्। दुवैलाई यो आर्थिक वर्षमा पनि ५०/५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। ‘स्वीमिङ र सुटिङको लागि बजेट रातो किताबमा परेको छ। तर टेण्डर आह्वान भएको छैन्। कोरोनाकै कारण रोकिएको छ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका इन्जिनियर प्रनिस ताम्राकारले भने–‘कोरोनाको असरले सबै क्षेत्रलाई सताएको छ।’ स्वीमिङ र सुटिङ रेन्ज विशेष गरी पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी निर्माण गर्ने तयारी हो।  

मुस्ताङमा निर्माणाधिन बहुउद्देश्यीय कभर्ड हल सामान अभावले रोकिएको छ। झण्डै डेढ महिना ढुवानी समस्या हुदाँ सिमेन्टकै अभावले काम रोकिएको जिल्ला खेलकुद विकास समितिका मुस्ताङका कार्यालय प्रमुख सुमन थकालीले बताए। पर्वतमा पनि यसै गत आर्थिक वर्षदेखि कभर्ड हल निर्माण कार्य शुरु गरिएको थियो। गतवर्ष ४० लाख रुपैयाँले काम थालिएको थियो। तर यो आर्थिक वर्षमा केवल १० लाख रुपैयाँ छुट्टाइएको छ। छुट्टाइएको बजेट निकासा भईसकेको छैन्। कोरोनाकै कारण बजेट नहुदाँ काम रोकिन पुगेको छ। पोखरा -१९ घार्मीस्थित ज्येष्ठ नागरिक बहुउद्देश्यीय कभर्ड हलपनि काम अहिले रोकिएको छ। बजेटको निकासा भएको छैन्। कभर्ड हललाई ५० लाख रुपैयाँ छ। घार्मीमा निर्माणाधिन कभर्ड हल युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको थातथलो हो।  

हिमाल पारीको जिल्ला मनाङमा पनि कभर्ड हल निर्माणाधिन अवस्थामा छ। गत आर्थिक वर्षमा ५० लाख थियो। तर यो वर्ष बजेट नहुदाँ वा झिनो बजेट हुदाँ निर्माण प्रभावित हुने छ। पोखरा–१६ लामाचौर खेल मैदानको पनि भिआईपी प्यारापिटसहितको चेन्जिङ रुम सहितको काम बाँकी छ। गत आर्थिक वर्षमा १ करोड रुपैयाँ थियो। यो आर्थिक वर्षको लागि केवल १० लाख रुपैयाँ छ। ‘गत आर्थिक वर्षको बजेट अनुसारको काम ग¥यौं।’ लामाचौर खेल मैदान निर्माण समितिका अध्यक्ष सुरेन्द्रमानसिंह भण्डारीले भने–‘यो वर्ष पनि बजेट थोरै छुट्टिएको जानकारी छ। निकासा भईसकेको छैन्। काम रोकिएको अवस्था छ।’  

प्रकाशित: ८ भाद्र २०७७ ०८:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App