८ वैशाख २०८१ शनिबार
खेल

केही कुर्दै, केही कडा प्रशिक्षणमा

तयारीमा ओलम्पिक खेलाडी

ज्ञानु अवाले

कोरोना भाइरसको महामारीका कारण विश्वभर खेलकुद गतिविधिमा रोक नलगाइएको भए छनोट भएका तीन (पौडी–२, एथ्लेटिक्स–१) का साथै वाइल्ड कार्ड पार गरेका केही नेपाली खेलाडी टोकियो ओलम्पिक २०२० मा प्रतिस्पर्धा गरिहेका हुन्थे। नेपाली खेलपत्रकार खेलाडीको प्रदर्शनको समीक्षा गरिरहेका हुन्थे।

तर डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड– १९) ले विश्वभर महामारीको रूप लिँदा प्रतियोगिता ठीक एक वर्ष पछि धकेलियो।  सारा विश्व त्रसित बन्यो र धेरै राष्ट्रहरूमा लकडाउन घोषणा गरियो। कोरोनाकै कारण विश्वभरका खेलकुद गतिविधि ठप्प रहे। पूर्वनिर्धारित केही अन्तर्राष्ट्रिय प्रतियोगिताहरू रद्द भए।  

टोकियो ओलम्पिकका आयोजकले भने सुरुआती दिनमा तोकिएकै मिति (सन् २०२० जुलाई २४ देखि अगस्ट ९ सम्म) प्रतियोगिता आयोजना गर्ने दाबी गरिरह्यो। तर विश्वभर कोरोना भाइरस संक्रमितको संख्याका साथै त्यसबाट मृत्यु हुनेको संख्या उकालो लागेपछि प्रतियोगिता निर्धारित मितिमै आयोजना हुनेमा दुबिधा बढेको थियो। अस्ट्रेलिया, क्यानडा र अमेरिकाले ओलम्पिक नसारिएमा आपूmहरूले खेलाडी नपठाउने घोषणा गरेपछि मात्र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र जापान सरकार टोकियो ओलम्पिक एक वर्ष पछि सार्नका लागि सहमत भएका थिए। एक वर्ष पछि धकेलिएको टोकियो ओलम्पिक सन् २०२१ जुलाई २३ देखि अगस्ट ८ सम्म हुने नयाँ तालिका सार्वजनिक भयो। तयारीमा रहेका खेलाडीले महामारी झेल्न बाध्य भएका छन्।  

प्रतियोगिता सरेपछि वाइल्ड कार्ड इन्ट्रीमार्फत ओलम्पिक खेल्ने लक्ष्यमा रहेका नेपाली खेलाडीहरूले भदौ १ बाट अभ्यास सुरु गर्ने तयारी नेपाल ओलम्पिक कमिटी (एनओसी)ले गरिरहेको छ। एनओसीले नेपालबाट ८ खेलबाट १४ खेलाडीको नाम टोकियो ओलम्पिकको वाइल्ड कार्डका लागि सिफारिस गरेको थियो।  

टोकियो ओलम्पिकका लागि स्विमिङका गौरिका सिंह र एलेक्स शाह यसअघि नै छनोट भइसकेका छन्। एथ्लेटिक्सबाट एक खेलाडी छनोट हुने निश्चित कोटा छ।

आर्चरीतर्फबाट ज्ञानु अवाले र तिलक पुन मगर, भारोत्तोलनबाट सन्जु चौधरी र कमला श्रेष्ठ, सुटिङबाट सुनीता नेपाली र कल्पना परियार, करातेबाट अनु अधिकारी र नवीन रसाइली, तेक्वान्दोबाट वीरबहादुर महरा तथा जुडोबाट इन्द्रबहादुर श्रेष्ठ गरी कुल १२ खेलाडी आइओसीको छात्रवृत्तिमा रहेर प्रशिक्षण गर्दै वाइल्ड कार्डको प्रतिस्पर्धामा छन्। त्यस्तै छात्रवृत्ति नपाए पनि जुडोकै सोनिया भट्ट र बक्सिङकी निलु गुरुङ पनि वाइल्ड कार्डको प्रयोग गर्दै प्रतिस्पर्धा गर्ने मनसायमा छन्।  

लकडाउन अवधिभर भने खेलाडीले घरमै अभ्यास गरे। तर घरमा गरिएको अभ्यासले आफू स्वाभाविक लयमा रहन मद्दत गर्ने भए पनि मैदानमा गरिएको अभ्यासजस्तो नहुने आर्चरी च्याम्पियन ज्ञानु अवालेको बुझाइ छ।  

‘मैदानमा जस्तो सुविधा घरमा आफंैले गरेको अभ्यासमा नहुने छैन,’ ज्ञानुले भनिन्, ‘कोरोना भाइरसले खेलकुद गतिविधि नरोकिएको भए मैले अप्रिलमै जर्मनीमा ओलम्पिक छनोटको अन्तिम तालिकामा प्रतिस्पर्धा गरिरहेको हुन्थें। लकडाउनअघि मैले लगनखेलस्थित शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा प्रशिक्षण गरिरहेको थिएँ। लकडाउन जारी भएपछि भने घरमै अभ्यास गरिरहेको छु। केन्द्रमा प्रशिक्षण गर्दा लामो दूरीको अभ्यास गर्न सकिन्थ्यो तर घरमा त्यो सम्भव छैन। नियमित अभ्यास हुन्थ्यो। तर अहिले १० मिटर, ३० मिटरको अभ्यास मात्र हुन्छ। घरमै गरेको अभ्यासले स्वाभाविक लयमा रहन भने धेरै मद्दत गर्छ।’

लकडाउन अवधिमा खेलाडीलाई एनओसीअन्तर्गतको स्पोर्ट्स साइकोलोजी कमिसनका प्रमुख इन्द्रबहादुर गुरुङले भिडियो कन्फरेन्समार्फत करिब एक साता दैनिक एक घण्टा मनोपरामर्श समेत दिएका थिए।

‘प्रतियोगिता सरेको हो, रद्द भएको होइन। हामीले अभ्यासका लागि अझ धेरै समय पाएका छाैं, हामीले हाम्रो कमजोरी केलाउने मौका पाएका छौं। यसबाट म विचलित भएको छैन।’ आर्चरीकी ज्ञानुले भनिन्, ‘छिट्टै नियमित अभ्यासमा फर्कदै छौं। प्रतियोगिता एक वर्ष पछि सरेको छ। हामीलाई एनओसीले मनोपरामर्श समेत दिएको थियो। त्यो निकै प्रभावकारी थियो। हामीलाई महामारीबीच सकारात्मक सोच राख्दै अभ्यासमा केन्द्रित हुन यो कदम निकै प्रभावकारी रह्यो। ’

एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले भदौ १ बाट टोकियो ओलम्पिकमा सहभागिता जनाउने खेलाडीलाई नियमित प्रशिक्षणमा फर्काउने तयारी भइरहेको बताए।

‘कराते र जुडोका खेलाडीले जेठ अन्तिम साताबाटै स्वास्थ्य निर्देशिका पालना गर्दै सम्बन्धित संघको पहलमा अभ्यास सुचारु गरिसकेका छन्, एनओसी कार्यकारी सचिव श्रेष्ठले भने, ‘विभागीय टोलीमा रहेका खेलाडीले विभागमै प्रशिक्षण गरिरहेका छन्। अन्य खेलाडीले घरमै सामान्य अभ्यास गरिरहे पनि सुटिङको हकमा भने त्यो सम्भव छेैन। प्रबन्ध मिलाउँदै छौं।’

यता नेपाल पुलिसका  वीरबहादुर महराले अहिले विभागमै प्रशिक्षण गरिहेका छन्।

‘लकडाउन अवधिभर म घरमै थिएँ, यहाँ सामान्य नियमित अभ्यास  गरिरहे,’ तेक्वान्दोका वीरबहादुरले भने, ‘असार पहिलो साताबाट भने म महाराजगन्जस्थित पुलिस एकेडेमीमै प्रशिक्षकहरूसँग नियमित अभ्यास गरिरहेको छु। क्लबकै प्रशिक्षकहरूले प्रशिक्षण दिइरहनुभएको छ। योङ दल क्वानले पनि साताको एक पटक प्रशिक्षण दिइरहनु भएको छ।’

‘सागअगाडिबाटै म नियमित अभ्यासमा थिएँ र स्वाभाविक लयमा पनि थिए,’ १३ सागका स्वर्ण विजेता वीरबहादुरले थपे, ‘नियमित अभ्यासमा रहेको र लयमा भएकाले अप्रिलमा क्वालिफाइङ पार गर्दै अन्तिम छनोटमा पुग्नेमा विश्वस्त थिएँ। यसैबीच कोरोना कहरले प्रतियोगिता स-यो र त्यसको छनोट चरण पनि। प्रतियोगिता सरे पनि मैले थप अभ्यासको अवसर पाएको छु। आफूलाई सुधार गर्दै सफल नतिजा ल्याउनेमा म विश्वस्त छु।’

प्रकाशित: २१ श्रावण २०७७ ०५:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App