७ वैशाख २०८१ शुक्रबार
खेल

लोमान्थाङमा खेलग्राम

लोमान्थाङ गाउँपालिकाको किमलिङमा निर्माणाधीन खेलग्राम।

हिमालपारिको जिल्ला मुस्ताङ अब खेलकुदको गन्तव्य बन्नेछ। रहस्यमय माटोको सहरका रूपमा परिचित मुस्ताङको उपल्लो भाग ‘लोमान्थाङ’ अब खेलकुदको गन्तव्य बन्नेछ।  

लोमान्थाङमा खेलकुदको पूर्वाधार निर्माण सुरु गरिएको छ। ४ हजार ५० मिटरको उचाइमा रहेको लोमान्थाङ गाउँपालिकाको किमलिङ–६ मा फुटबल मैदानसहितको खेलकुद पूर्वाधार निर्माण सुरु गरिएको छ। गत वर्ष संघीय सरकारले उपलब्ध गराएको १ करोड रुपैयाँबाट फुटबल मैदान निर्माण सुरु गरिएको गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्टले जानकारी दिए।  

‘पर्यटन मात्रै होइन, उपल्लो मुस्ताङ खेलकुदको गन्तव्यका रूपमा समेत परिचय गराउने ध्येय छ,’ उनले भने, ‘त्यही ध्येयलाई मूर्तरूप दिन खेलग्रामको निर्माण गत वर्षदेखि नै थालेका हौं।’ खेलग्रामको काठमाडौंस्थित एडोन इन्जिनियरिङ सोलुसन प्रालि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएको हो। पानीको पर्याप्त उपलब्धताले पनि खेलमैदान निर्माणमा सहजता भएको छ। पानीको अभाव भने हुने छैन।  

किमलिङ–६ मा निर्माणाधीन खेलग्राम ३ सय ८ मिटर लम्बाइ र १ सय २० मिटर चौडाइको छ। मैदानको पूर्वतर्फ  १ सय २० मिटर लम्बाइको पर्खाल लगाइएको छ। पर्खाल ५ मिटर अग्लो र सवा दुई मिटर चौडाइको छ। प्रतिवेदनअनुसार मैदानको चारैतिर बालुवा, ढुंगा, ग्राभेल छ। ‘एक करोड रुपैयाँले पर्खाल निर्माण र जमिन सम्याउने काममा खर्च गरिएको छ,’ उनको भनाइ थियो। फुटबल मैदानसहित ९ लेनको एथलेटिक्स ट्य्राक (सिन्थेटिक) बनाउने डिपिआरमा उल्लेख छ। ९ लेनको ट्य्राक भने गण्डकी प्रदेशमै छैन। गण्डकी प्रदेशकै राजधानी पोखरा रंगशालामा निर्माण गरिएको एथलेटिक्स ट्य्राक ८ लेनको छ। १ मिटरको ट्य्राक मात्रै १० लेनको बनाइएको छ। उच्च हिमाली क्षेत्र भएकै कारण मैदान सिजनेबल हुनेछ।  

‘संघीय सरकारले उपलब्ध गराएको एक करोड बजेटबाट काम सुरु ग¥यौं’ उनले भने, ‘अब संसद् विकास कोषको रकम माग गर्दै छौं। प्रदेश सरकारलाई पनि घचघच्याइरहेका छौं।’ डिपिआरअनुसार फुटबल मैदान, प्यारापिट, बास्केटबल कोर्ट, भलिबल कोर्ट, भिआइपी भवन, चेन्जिङ रुमसहित पार्किङ एवं शौचालय निर्माण गरिनेछ। दुई हजार दर्शक क्षमताको प्यारापिट निर्माण हुने प्रतिवेदनमा उल्लेख छ। कुल लागत ५ करोड ९७ लाख रुपैयाँ छ। निर्माण कार्य स्थानीय किमलिङ खेलग्राम निर्माण उपभोक्ता समितिले गरिरहेको छ। लोमान्थाङ  पोखरादेखि २ सय ४० किलोमिटर दूरीमा रहेको प्रतिवेदनमा उल्लेख छ।  

खेलग्राम निर्माणपछि ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ हुने विश्वास गरिएको छ। उचाइकै कारण हुने समस्या न्यूनीकरण गर्न गण्डकी प्रदेश सदस्य विष्टले स्वास्थ्य चौकीसमेत निर्माण गर्ने योजना रहेको सुनाए। ‘स्वास्थ्यचौकी निर्माण प्राथमिकतामा छ। आन्तरिक तथा बाह्य पर्यटक मात्रै नभई अब खेलग्रामको लागि पनि अत्यावश्यक छ’ सदस्य विष्टले भने, ‘लोमान्थाङमा स्वास्थ्यचौकी छ। त्यसलाई अझ विस्तृत गराउने योजना छ।’ मुस्ताङकै जोमसोममा भने ८ करोडको लागतमा बहुउद्देश्यीय कभर्ड हल निर्माण कार्य सुरु गरिएको छ। गएको जेठदेखि निर्माण कार्य सुरु गरिएको हो। 

प्रकाशित: १९ श्रावण २०७७ ०३:३२ सोमबार

मुस्ताङ लोमान्थाङ खेलकुद