coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

उपाध्यक्षमा कोइराला र सदस्यसचिवमा सिलवाल

रमेशकुमार सिलवाल र शिव कोइराला

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा शिव कोइराला र सदस्यसचिवमा रमेशकुमार सिलवाल नियुक्त भएका छन्।  

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राखेपको उपाध्यक्षमा कोइराला र सदस्यसचिवमा सिलवाललाई चार वर्षका लागि नियुक्त गरेको हो। युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रिपरिषद्को बैठकबाट उपाध्यक्षमा शिव कोइराला र सदस्यसचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरिएको बताए। युवा तथा खेलकुद मन्त्रालयले सिफारिस गरेको तीन नाम मध्येबाट सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट रमेशकुमार सिलवाल सदस्यसचिवमा नियुक्त भएका हुन्। राखेपको उपाध्यक्षमा यसअघि खासै चर्चा नभए पनि कोइरालालाई उक्त जिम्मेवारी दिइएको छ।  

नयाँ ऐन राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार राखेप उपाध्यक्ष, सदस्यसचिव र तीन महिलासहित ९ जना बोर्ड सदस्य (५० प्रतिशत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वखेलाडी)को नियुक्ति मन्त्रिपरिषद्ले गर्ने व्यवस्था छ र सोहीअनुरूप कोइराला र सिलवाल नियुक्त भएका हुन्। यसअघि २०७६ असार २३ गते राखेप सदस्यसचिव पदमा नियुक्त सिलवाल दोहोरिँदा अखिल नेपाल खेलकुद महासंघका पूर्वअध्यक्षसमेत रहेका कोइरालाले नयाँ जिम्मेवारी पाए। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को खेलकुद महासंघमा भने कोइराला सहसंयोजक छन्। गत बुधबार युवा तथा खेलकुद मन्त्रालयले राखेप सदस्यसचिवमा नेपाली राष्ट्रिय भलिबल टोलीकी पूर्वकप्तान अञ्जु श्रेष्ठ, नेकपाका केन्द्रीय सदस्य लीलबहादुर थापामगर र राखेपकै निवर्तमान सदस्यसचिवसमेत रहेका सिलवालको नाम सिफारिस गरेको थियो।  

मन्त्रालयका सचिव रामप्रसाद थपलिया संयोजक रहेको राखेप सदस्यसचिव सिफारिस समितिले कुल २७ दरखास्तमध्येबाट श्रेष्ठ, थापामगर र रमेशकुमार सिलवालको नाम सिफारिस गरेको हो। करिब तीन दशकदेखिको खेलकुद विकास ऐन २०४८ खारेज र राष्ट्रिय खेलकुद विकास ऐन २०७७ जारी भएसँगै पहिलोपटक खुला प्रतिस्पर्धाबाट नेपाली खेलकुदको कार्यकारी पदका लागि नेतृत्व छनोट सुरु भएको थियो। सोहीअनुरूप २७ जनाले दरखास्त दिएता पनि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रियपात्र सिलवाल नै राखेप सदस्यसचिवका रूपमा दोहोरिए।  

प्रकाशित: १३ श्रावण २०७७ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App