अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को आयोजनामा भएको लकडाउन कोभिड– १९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिपअन्तर्गत ब्ल्याकबेल्टमा नेपालले चार स्वर्ण, तीन रजत र १४ कांस्य पदक जितेको छ।
नेपालका लागि कमल श्रेष्ठ, पार्वती गुरुङ, निकुन गुरुङ र सरगम थापाले स्वर्ण पदक जिते। १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी पाँच खेलाडीमध्ये कमल र पार्वतीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन्। ३० वर्षको विधामा कमल पहिलो बने। जसमा नेपालकै हस्तबहादुर तामाङले रजत तथा जितबहादुर बोट र प्रेमबहादुर लिम्सोले कांस्य पदक हात पारे। जित र प्रेम १३औं सागका कांस्य विजेता हुन्।
महिला ३० वर्षको इभेन्टमा पार्वती पहिलो भइन्। सो इभेन्टमा नेपालकी सन्जिला तिमल्सिनाले कांस्य पदक जितिन्। यसै गरी, ७ वर्षमुनिको इभेन्टमा नेपालका निकुन गुरुङले स्वर्ण जिते। सो विधामा निकुन प्रतिद्वन्द्वीविहीन थिए। एब्सोलुट तेक्वान्दो डोजाङका निकुनले ४.७ स्कोर गरे। महिला ९ वर्षमुनि विधामा सरगम च्याम्पियन बनिन्। पुरुष ९ वर्षमुनि प्रज्ञान तामाङले रजत र करुण खाँड तथा आर्यन्सनजङ राणाले कांस्य पदक हात पारे।
एघार वर्षमुनिको इभेन्टअन्तर्गत पुरुषमा नेपालका हर्कबहादुर गुरुङ र महिलामा इसिका रानाले कांस्य पदक प्राप्त गरे। महिला १४ वर्षमुनिको इभेन्टमा सन्ध्या लामालाई तेस्रो स्थान प्राप्त भयो । १७ वर्षमुनि पुरुषमा दीपेश गुरुङ र महिलामा मोनिका रम्तेलले कांस्य पदक पाए।
प्रकाशित: ९ श्रावण २०७७ ०१:५५ शुक्रबार