coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एन्फा कास्कीमा छानबिन,अनियमितता देखिएको निष्कर्ष

पत्रकार भेटघाटमा बोल्दै समिति संयोजक वीरबहादुर खड्कासहित सदस्यहरु विष्णुप्रसाद पराजुली र आनन्द रञ्जित। तस्बिर: उमेश पुन/नागरिक

एन्फा कास्कीमा भएको अनियमितताबारे गठित छानबिन समितिले अनियमितता रहेको निष्कर्ष निकालेको छ। एन्फाका उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा लेखा विज्ञ विष्णुप्रसाद पराजुली र कास्कीका आनन्द रञ्जित सदस्य रहेको छानबिन समितिले एन्फा कास्कीभित्र अनियमितता रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो।

छानविन समितिले सोमबार पोखरामा पत्रकार भेटघाट गरी अनियमितताबारे छानबिन सकिएको बताएको छ। पत्रकार भेटघाटमा समितिका अध्यक्ष खड्काले छानबिन सकेर प्रतिवेदन तयार पारेको र सो प्र्रतिवेदन एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई बुझाइने बताए। एक हप्ता लगाएर गरिएको छानबिनका क्रममा करिब २९ लाख रुपैयाँ अनियमितता भएको देखिएको स्रोतले बताएको छ। १८ वटा शीर्षकमा सो रकम अनियमितता भएको स्रोतको दाबी छ।

समितिका अध्यक्ष खड्काले अहिल्यै केही भन्न नमिल्ने बताए पनि घुमाउरो रूपमा अनियमितता देखिएको स्विकारे। ‘अनियमितता छ वा छैन भनेर अहिल्यै सबै कुरा भन्न मिल्दैन,’ उनले भने, ‘अनियमितता भएरै एन्फाले छानबिन समिति बनायो, हामी पनि अनियमितता भएकैले छानबिनमा जुटेका हौं, अहिलेलाई यत्ति बुझ्नुस्।’ समितिले एन्फा कास्कीले आयोजना गरेका मनकामना पोखरा कप, जिल्ला फुटबल लिग, विद्यालयस्तरीय क्विक्स कप छात्र÷छात्रा, ग्रास रुट ट्रेनिङ, प्रदेशस्तरीय रेफ्री कोर्सलगायत ६ कार्यक्रमको हिसाबकिताब हेरेको जनाएको छ।

जसमध्ये मनकामना पोखरा कपमा सबैभन्दा धेरै घोटाला भएको देखिएको स्रोतको भनाइ छ। मनकामना पोखरा कपमा कुल ९२ लाख ९८ हजार १६४ रुपैयाँ खर्च भएकोमा ६३ लाख ८० हजार ८७४ रुपैयाँमात्र आम्दानी भएको देखिएको अध्यक्ष खड्काले बताए। उनका अनुसार एन्फा कास्कीले सो प्रतियोगिता गर्दा ३७ वटा पार्टीलाई २९ लाख १७ हजार २९० रुपैयाँ तिर्न बाँकी देखिएको छ। प्रतियोगितामा कति टिकट बिक्री भयो भन्ने अभिलेखसमेत नराखी टिकटबाट १७ लाख आम्दानी भएको भनेर राखिएको छ। समितिले एन्फा कास्कीलाई बिक्री भएको टिकटको अर्धकट्टी माग्दासमेत नदिएको बताइएको छ।

समितिका सदस्य विष्णुप्रसाद पराजुलीले एन्फा कास्कीले वार्षिक अडिट नगरेको, प्रतियोगिता सम्पन्न गरेको एक महिनाभित्रमा खर्च सार्वजनिक गर्नुपर्ने भए पनि त्यस्तो नगरेको र खर्चको विवरण पारदर्शी नगरी अनियमित गरेको पाइएको बताए। कतिपय बिल फर्जी नै भनिहाल्न नमिल्ने भए पनि विधिसम्मत नदेखिएको पाइएकाले त्यस्तो बिललाई समितिले रिजेक्ट गरेको उनको भनाइ छ। उनले अडिट नगरेको क्लबलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले नवीकरण नगर्नुपर्ने भए पनि क्लब नवीकरण गरेको पाइएकाले एन्फाको पनि कमजोरी औंल्याइएको जानकारी दिए।

समितिले अनियमिततामा अध्यक्ष मिलन गुरुङलाई दोषी ठहर गरेको छ। मिलनलाई दोषी करार गरिए पनि उनलाई कस्तो कारबाही गर्ने भन्नेबारेमा भने समिति मौन छ। ‘समितिको काम तथ्य के हो भन्ने निकाल्ने हो,’ छानबिन समितिका अध्यक्ष खड्काले भने, ‘कारबाही  त एन्फाले गर्ने हो।’ छानबिन समितिले दोषी देखाए पनि एन्फा कास्की अध्यक्ष मिलन गुरुङमाथि कारबाही हुनेमा आशंका व्यक्त गरिएको छ। उनलाई कारबाही गरे एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको विगतका पोल खुल्ने डरले उनीमाथि कारबाही हुने सम्भावना कम रहेको एन्फा स्रोत बताउँछ।  

कर्माछिरिङले अध्यक्षमा चुनाव लड्दा मिलनमार्फत विभिन्न जिल्ला समितिका प्रतिनिधिलाई पैसा दिएर भोट किनेकोलगायतका कर्तुत खुल्ने डरले कर्माछिरिङ मिलनसँग डराउने गरेको स्रोतको दाबी छ। मिलनलाई मात्रै कारबाही गर्दा भाँडभैलो हुने भएकाले कर्माछिरिङको दबाबमा एन्फाले कास्की जिल्ला फुटबल संघलाई नै विघटन गरेर तदर्थ समिति बनाउने डिजाइन भइरहेकोसमेत स्रोतको दाबी छ। तर छानबिन समितिका संयोजक खड्का भने मिलनलाई जोगाउन अब कसैले नसक्ने दाबी गर्छन्। ‘हिजो भक्तपुर फुटबल संघ र मकवानपुर फुटबल संघलाई कारबाही गर्नेले कास्कीलाई जोगाउने त कुरै हुँदैन,’ उनले भने।

प्रकाशित: ३० असार २०७७ ०३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App