८ वैशाख २०८१ शनिबार
खेल

धरानमा अन्र्तराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण हुँदै

धरान १५ मा निर्माणाधिन क्रिकेट मैदान । तस्बिरः रोहित राई

फुटबल भनेपछि हुरुक्कै हुने खेलप्रेमीहरुको सहर हो धरान । यहाँका थुप्रै खेलाडीहरु राष्ट्रिय, अन्र्तराष्ट्रियस्तरमा खेलिसकेका छन् । धरानलाई मिनि ब्राजिल पनि भनिन्छ । मिनि ब्राजिलका युवाहरुमा क्रिकेट खेलप्रति आकर्षण पनि बढ्दो छ । 

तर, अभ्यास गर्ने क्रिकेट मैदानको भने अभाव छ । अहिले भने धरान १५ स्थित खोरिया बस्तीमा अन्र्तराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण भइरहेको छ । भक्तराज कन्दङ्वा स्मृति क्रिकेट मैदान नाम दिइएको खेल मैदानमा चालु आर्थिक बर्षमा १ करोड बजेटबाट निर्माण कार्य भइरहेको छ । यो बजेट प्रदेश १ सरकारले चालु वर्षमा विनियोजन गरेको थियो ।

धरान उपमहानगरपालिकाका ईञ्जिनियर सुरज श्रेष्ठका अनुसार क्रिकेट मैदानको डिपिआर तयारी पनि भइरहेको छ । डिपिआरले तयारी नभए पनि विज्ञहरुसँग आवश्यक सल्लाह लिएर निर्माण कार्य थालिएको उनले बताए । डिपिआर तयार भइसकेपछि कुनै पनि संरचना भत्काउन नपर्ने गरि अहिले निर्माण कार्य थालिएको ईञ्जिनियर श्रेष्ठको भनाई छ । ‘लकडाउनको कारण डिपिआर तयार हुन केही ढिलाई भयो, अहिले निर्माण भएको कुनै पनि संरचना पछि भत्काउन नपर्ने गरी नै काम अघि बढेको छ,’श्रेष्ठले भने,‘क्रिकेटका जानकारहरुसँग सल्लाह गरेर अन्र्तराष्ट्रिय मापदण्ड अनुसार काम अघि बढेको हो ।’

प्रदेश सरकारको बजेटबाट टेण्डर आह्वान गरेर अहिले निर्माण कार्य थालिएको छ । मैदानमा ड्रेन निर्माण, फेन्सिङ, माटो कटिङ लगायतको काम भइरहेको छ । एक करोड बजेटमध्ये आर.टि.निर्माण सेवा धरानले करिब ७७ लाखमा ठेक्का पाएर निर्माण कार्य गरिरहेको छ । बाँकी रहेको बजेटले पनि थप निर्माण कार्य हुनेछ क्रिकेट मैदान संरक्षण समितिका संयोजक अइन्द्रबिक्रम बेघाले बताए । ‘अन्र्तराष्ट्रियस्तरको क्रिकेट मैदानको परिकल्पना गरेर त्यही अनुसार जमिन व्यवस्थापन र पुर्वाधार निर्माणको काम भइरहेको छ,’बेघाले भने,‘धरानको लागि मात्र होइन, प्रदेशकै खेलकुदको लागि यो महत्वपुर्ण संरचना हुनेछ ।’

यो क्रिकेट मैदान निर्माणको पहल भने एक दशक अघिदेखि सुरु भएको थियो । यसअघि पनि विभिन्न निकायहरुबाट थोरै थोरै बजेट यो मैदानमा लगानी भएको थियो । संरक्षण समिति संयोजक बेघाका अनुसार विगतमा सबैभन्दा पहिला अर्थमन्त्रालयबाट मैदानको लागि एक लाख आएको थियो । त्यसपछि तत्कालीन सभासद किरणकुमार राई, कृष्णकुमार राई, नगर सरकारबाट पनि केही बजेट यो मैदानमा लगानी भएको थियो । ‘डिपिआर तयार भइसके पछि हाम्रो परिकल्पनाले मुर्तरुप लिन्छ, र धरान, प्रदेश सरकारले पनि आवश्यक बजेट विनियोजन गर्छ भन्ने अपेक्षा छ,’बेघाले भने ।

क्रिकेट मैदानको गोलाकार १४३.५ मिटरको गोलाई छ । सेन्टरबाट ७१.५ छ । मैदानको पानीलाई निकास दिन अहिले ड्रेन निर्माण भइरहेको हो । यसको चौडाई ९१ इञ्चको हुनेछ । त्यसमाथि ६ फुट उचाईको घेराबारा(फेन्सिङ) गरिनेछ । टेण्डर गरेपछि बचेको बाँकी रकमलाई मैदान बीचमा क्लियर गर्ने, लेभलिङ गर्ने तथा उत्तरपटि तारबार लगाउन पहल भइरहेको संरक्षण समितिले जनाएको छ । निर्माण ठेक्का पाएको कम्पनीका प्राविधिक आशिष कटवालले असार मसान्तभित्रै ठेक्का वमोजिमको सकिने बताए । 

प्रकाशित: २ असार २०७७ ०९:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App