७ वैशाख २०८१ शुक्रबार
खेल

श्रीलंकामा आइपिएल हुन सक्छ : गावस्कर

चर्चित ब्याट्सम्यान सुनील गावस्करले स्थगित भएको इन्डियन प्रिमियर लिग (आइपिएल) सेप्टेम्बरमा श्रीलंकामा हुन सक्ने बताएका छन् ।

ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अस्ट्रेलियामा हुने सम्भावना जीवन्त रहँदा चर्चित ब्याट्सम्यान गावस्करले आइपिएल श्रीलंकामा हुने सम्भावना रहेको बताएका हुन् । ट्वान्टी–२० विश्वकप क्रिकेट अक्टोबर १८ देखि नोभेम्बर १९ सम्म हुने तालिका छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसले अझै महामारीको रूप नलिए विश्वकप हुने सम्भावना रहेको छ ।

तर अस्ट्रेलियन सरकारले भने यसै साता १० हजार दर्शकको उपस्थितिमा रंगशालाभित्र खेल हेर्न पाउने प्रावधानलाई पारित गरेको छ । यो निर्णय जुन महिनाको मध्यतिरबाट लागू हुने समाचार संस्थाहरूले बताएका छन् । यस्तै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले विश्वकप हुने नहुने अझै निर्णय लिएको छैन । सम्भवतः अर्को महिना निर्णय लिने जनाइएको छ ।

‘ट्वान्टी–२० भए मात्र आइपिएल हुने सम्भावना हुन्छ । विश्वकप सरेको खण्डमा आइपिएल हुने सम्भावन एकदमै न्यून  छ,’ भारतका पूर्वकप्तान समेत रहेका गावस्करले भने, ‘अस्ट्रेलियाका  प्रधानमन्त्री स्कोट मोरिसनले उद्घाटन रंगशालाको घोषणा गरेसँगै आइपिएल अक्टोबरमा हुने सम्भावना टरेको छ ।’

तर भारतीय क्रिकेटका प्रमुखले यसअघि नै बन्द रंगशालामा विदेशी खेलाडीबिना आइपिएल सञ्चालन गर्ने योजना सुनाएका थिए । आइपिएलका अध्यक्ष ब्रिजेश पटेलले भने आगामी दुई महिनाभित्र आयोजना हुन नसक्ने बताएका हुन् । लिग सेप्टेम्बर–अक्टोबरमा हुने सम्भावना रहेको छ । सेप्टेम्बर वर्षाको समय भए पनि प्रतियोगितालाई छोट्याउँदै आयोजना हुन सक्ने सम्भावना छ,’ चर्चित ब्याट्सम्यान गावस्करले भने । ‘मनसुन सिजनमा भारतमा आइपिएल हुने सम्भावना  छैन,’ सुनिलले भने, ‘श्रीलंकालाई विकल्पको रूपमा हेर्न सकिन्छ ।’

आइपिएल आयोजना गर्नका लागि युनाइटेड अरब इमिरेट्स (युएई) र श्रीलंकन बोर्डले इच्छा देखाएका थिए । विश्वको सबैभन्दा ठूलो फ्रेन्चाइज लिग दुई पटकसम्म स्थगित भइसकेको छ । यसअघि दक्षिण अफ्रिकामा दोस्रो सिजनको आइपिएल २००९ को संस्करण आयोजना भएको थियो भने २०१४ को संस्करण पहिलो चरणका खेल युएईमा भएका थिए ।

प्रकाशित: १ असार २०७७ ०६:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App