४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

आइओएफटिसीको अनलाइन पुम्से च्याम्पियनसिप

अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को आयोजनामा लकडाउन कोभिड–१९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिप हुने भएको छ । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आइओएफटिसीले विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड– १९) कारण विश्वभर खेलकुद गतिविधि ठप्प प्राय भइरहेको अवस्थामा दुई चरणमा गरी अनलाइन प्रतियोगिता गर्न लागेको आइओएफटिसीका संस्थापक एवं प्रतियोगिताका निर्देशक दिवाकर महर्जनले जनाएका छन् । 

‘कोरोना भाइसरका कारण खेलकुद गतिविधि ठप्प छ । खेलाडीलाई अवसर दिन र केही हदसम्म भए पनि चलायमान बनाउन प्रतियोगिताले मद्दत गर्छ भन्ने विश्वासका साथ आयोजना गर्न लागिएको हो,’ निर्देशक महर्जनले भने । जुन २१ देखि २७ तारिखसम्म पहिलो चरणमा कलर बेल्ट प्रतिस्पर्धा हुनेछ । पहेंलो, हरियो, नीलो र रातो बेल्टको प्रतिस्पर्धामा पुरुष/महिलामा समान ७÷७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । त्यसपछि जुलाई १२ देखि १८ तारिखसम्म ब्ल्याक बेल्टतर्पm दोस्रो चरणमा खेल हुनेछ । 

पुरुष/महिलामा समान ११/११ गरी २२ पदकका लागि भिडन्त हुनेछ । दुवै चरणको प्रतिस्पर्धा सबैका लागि खुला रहेको निर्देशक महर्जनले जानकारी गराए । डेइडो, युएसए, एभरेस्ट तेक्वान्दो संघ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटिएफ) को सहयोगमा हुन लागेको प्रतियोगितामा कम्तीमा पनि २५ राष्ट्रको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ । सहभागीले दुई मिनेटभन्दा बढाई श्रव्यदृश्य पठाउनुपर्नेछ । 

पठाइएको श्रव्यदृश्यलाई विश्व तेक्वान्दो महासंघबाट मान्यता प्राप्त निर्णायक प्यानलले मूल्यांकन गरी नतिजा सार्वजनिक गर्नेछन् । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न महर्जनसहित रिचार्ड स्याक्स, रेमन्ड सु, लभ गोर्खाली, विपिन श्रेष्ठ, एलेक्जनडर लिम, किशोर महर्जन र सुदिन महर्जन सम्मिलित आयोजक समिति गठन गरिएको छ । 

बढीभन्दा बढी खेलाडीले सहभागिता जनाउन सकून् भन्ने उद्देश्यले दर्ता शुल्क पनि थोरै राखिएको निर्देशक महर्जनले अवगत गराए । सहभागीले कलर बेल्टतर्फ पाँच युएस डलर र ब्ल्याक बेल्टतर्फ १० युएस डलर बुझाउनु पर्नेछ । नेपाली खेलाडीको सहजीकरणका लागि रामचन्द्र व्यञ्जनकार, रजिन सिंह, अर्जुन महर्जन र निरोज गौतम सम्मिलित चार सदस्यीय टोली गठन गरिएको छ । 

अन्य देशको हकमा पनि सम्पर्क व्यक्ति तोकिएको छ । आइओएफटिसीको मुख्य प्रतियोगिता अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिपको १३औं संस्करण कोरोना भाइरसका कारण स्थगित भएपछि आयोजकले थोरै भए पनि खेलाडीको मनोबल उच्च बनाउन अनलाइन प्रतियोगिता आयोजना गर्न लागेको निर्देशक महर्जनले बताए । 

च्याम्पियनसिपको १३औं संस्करण अमेरिकाको मिसिगनमा यसै वर्षको मे १ र २ तारिखमा हुने तालिका थियो । उक्त च्याम्पियनसिप हरेक दुई वर्षको अन्तरालमा एक पटक अमेरिका र अर्को पटक अमेरिकाबाहिर हुँदै आएको थियो । १२औं संस्करण सकिँदासम्म अमेरिकाको पोर्टल्यान्डमा ५ पटक र नेपालमा ४ पटक भइसकेको छ । बाँकी १÷१ संस्करण भारत, बेलायत र हङकङमा भएका थिए ।

प्रकाशित: ३२ जेष्ठ २०७७ १०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App