६ वैशाख २०८१ बिहीबार
खेल

सेभियाको सुखद सुरुआत

बिहीबारबाट ला लिगा सुरु

कोरोना भाइरस संक्रमणको महामारीका कारण तीन महिना रोकिएको स्पेनिस ला लिगा बिहीबारबाट पुनः सुचारु भयो । जहाँ सेभियाले सुखद सुरुआत गर्ने क्रममा रियाल बेटिसलाई हरायो ।

ला लिगालाई स्पेनिस सरकारले स्वास्थ्य निर्देशिका पालना गर्दै बन्द रंगशालामा खेलाउन निर्देशन दिएको थियो । साथै सबैलाई सामाजिक दूरी पालन गर्न निर्देशिका दिइएको थियो । तर बन्द रंगशालामा खेल सम्पन्न भए पनि रंगशालाबाहिर जम्मा भएका दुवै टोलीका समर्थकको भीड भने ला लिगाका लागि चिन्ताको विषय बनेको छ । रामोन सान्चेज पिज्वान रंगशालाबाहिर सयौं समर्थक जम्मा भएका थिए ।

युरोपमा कोरोना भाइरसको महामारीपछि फुटबल लिग पुनः सुचारु गर्ने स्पेन दोस्रो युरोपेली राष्ट्र हो । तीन साताअघि जर्मन बुन्डेसलिगा सुचारु भइसकेको छ । प्रिमियर लिग भने अर्कोे साताबाट सुरु हुनेछ । कोरोना महामारीका कारण निधन भएका मानिसहरूप्रति एक मिनेटको मौनधारणपछि मात्र खेल सुरु भएको थियो ।

बेटिसमाथि सेभियाले २–० को जित हात पारेको हो । सेभियाको जितमा लुकास ओकाम्पस र रेगिसले समान एक गोल गरेका थिए । ५६औं मिनेटमा सेभियाले ओकाम्पसको पेनाल्टी गोलमा अग्रता लिएको थियो । त्यसको ६ मिनेटपछि नै रेगिसले सेभियाको अग्रता दोब्बर पारेका थिए ।

बन्द रंगशालामा खेल सम्पन्न भए पनि रंगशालाबाहिर जम्मा भएका दुवै टोलीका समर्थकको भीड भने ला लिगाका लागि चिन्ताको विषय बनेको छ । रामोन सान्चेज पिज्वान रंगशालाबाहिर सयौं समर्थक जम्मा भएका थिए ।

यस जितपछि सेभिया २८ खेलमा ५० अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । जुन एक खेल खेल्दै पहिलो स्थानमा रहेको बार्सिलोनाभन्दा ८ र दोस्रो स्थानको रियाल मड्रिडभन्दा ६ अंक कम हो । बेटिस भने ३३ अंकका साथ १२औं स्थानमा छ ।

स्पेनमा हालसम्म २ लाख ४० हजार मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २७ हजारले ज्यान गुमाइसकेका छन् । कोरोना भाइरसको संक्रमित दर ५० जनाभन्दा कम भएपछि स्पेनिस सरकारले बन्द रंगशालामा स्वास्थ्य तथा सामाजिक दूरीको निर्देशिका पालना गर्दै ला लिगा पुनः सुचारु गर्ने अनुमति दिएको थियो ।

शीर्ष स्थानको बार्सिलोनाले शनिबार पहिलो खेल खेल्नेछ भने रियाल मड्रिडले आइतबार पहिलो खेल खेल्नेछ । लुइस स्वारेज लामो समयको चोटपछि मैदान फर्कनु बार्सिलोनाका लागि सुखद बन्न सक्छ । स्वारेजले घुँडाको शल्यक्रियापछि सिजनका बाँकी खेल गुमाउने अनुमान गरिए पनि कोरोना महामारीका कारण लिग स्थगन भएपछि भने उनले पूर्ण रूपमा फिट हुँदै मैदान फर्कन उपयुक्त समय पाएका थिए ।

यता रियाल मड्रिडले भने आफ्नो घरेलु मैदान सान्टियागो बर्नाबेउमा पुनर्निर्माण कार्य सञ्चालन भइरहेकाले एल्फेर्डो डी स्टेफानो रंगशालामा होम म्याच खेल्नेछ ।

प्रकाशित: ३१ जेष्ठ २०७७ ०८:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App