coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

मनाङलाई छैटौं पटक उपाधि

उपाधि जितेपछि मनाङका खेलाडी। तस्बिर : नागरिक

पोखरा - पोखरेलीको प्रिय टिम मनाङ मर्स्याङ्दि क्लबले यहाँ शनिबार सम्पन्न आहा ! रारा गोल्डकपको उपाधि जितेको छ। पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै मनाङले उपाधि जितेको हो। यो मनाङको आहा ! रारा गोल्डकपको छैटौं उपाधि हो। यसअघि ५ पटक उपाधि जितिसकेको मनाङले आहा ! रारा गोल्डकपको दोस्रो, तेस्रो, दशौं, चौधौं र पन्ध्रौं संस्करणमा उपाधि चुमेको थियो।

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा गोलकिपर अशोक बरालले २ वटा पेनाल्टी सुट रोकेपछि मनाङको भाग्य खुलेको हो। बरालले पुलिसका अजित भण्डारी र तेज तामाङको प्रहार रोक्दै मनाङलाई छैटौं पटक च्याम्पियन बनाए। पुलिसका भोला सिलवाल, हेम तामाङ र बुद्ध बल तामाङले भने गोल गरे।

विजयी मनाङका अनजन विष्ट, पूजन उपरकोटी, सुरज विक र रञ्जन विष्टले गोल गरे। मनाङका निशान लिम्बु भने टाइब्रेकरमा गोल गर्न चुके। उनले दायाँ साइड च्यापेर प्रहार गरेको पेनाल्टी विपक्षी गोलकिपर रोशन खड्काले डाइभ हानेर रोके। विजेता मनाङले नगद १० लाख १ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता पुलिसले भने नगद ५ लाख १ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो। सुरुदेखि नै पुलिसविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएको मनाङले आधा दर्जन गोल गर्ने अवसर खेर फाल्दा जितका लागि टाइब्रेकरसम्म कुर्नुपर्‍यो।

रक्षापंक्ति बलियो बनाएर बारम्बार आक्रमण बुनेको मनाङले खेलको २०औं मिनेटमै गोल गर्ने अवसर सदूपयोग गर्न सकेन। कप्तान कमल श्रेष्ठको कर्नर किकमा विमल रानाको हेडर विपक्षी गोलकिपर रोशन खड्काले पन्च गरेर क्रस बारमाथिबाट बाहिर फाले। ३६औं मिनेटमा अन्जन विष्टको क्रसमा पेनाल्टी एरियामा रहेका दयानन्द सिंहको फ्लिक हेडरले दिशा लिन सकेन र फस्ट बार हुँदै बाहिरियो। ४३औं मिनेटमा अन्जन विष्ट गोल गर्न चुके। कप्तान कमल श्रेष्ठको कर्नर किकमा अन्जनले प्रहार गरेको बाइसाइकल किक फस्ट बार हुँदै बाहिरियो। ६०औं मिनेटमा विमल रानाको बललाई विपक्षी डिफेन्डरले क्लियर गर्ने क्रममा बल फर्कियो।  सोही बललाई अन्जन विष्टले पुनः प्रहार गर्दा फष्ट बार हुँदै बाहिरियो।

टाइब्रेकरमा गोलकिपर अशोक बरालले २ वटा पेनाल्टी सुट रोकेपछि मनाङको भाग्य खुलेको हो। बरालले पुलिसका अजित भण्डारी र तेज तामाङको प्रहार रोक्दै मनाङलाई छैटौं पटक च्याम्पियन बनाए।

६८औं मिनेटमा भिडाल लुइसको पासमा पेनाल्टी एरियामा अनमार्क रहेका विमल रानाको वान टच प्रहारले पनि दिशा लिन सकेन। ७५औं मिनेटमा कप्तान कमल श्रेष्ठको कर्नर किकमा दयानन्द  सिंहको हेडर क्रसबार माथिबाट बाहिरियो। ८९औं मिनेटमा अञ्जन विष्टले प्रहार गरेको बल सेकेन्ड बार हुँदै बाहिरियो। तुलनात्मक रूपमा मनाङभन्दा केही कमजोर देखिएको पुलिसले एकाधबाहेक उत्कृष्ट मुभ बनाउन सकेन। यद्यपि उसले पनि केही गोल गर्ने अवसर भने खेर फाल्यो। खेलको ४९औं मिनेटमा नीरकुमार राईको प्रहारमा विपक्षी गोलकिपर अशोक बराल वाधक बने। रवि पासवानको क्रसमा कप्तान भरत साहले निकालिदिएको बललाई निरकुमारले प्रहार गर्दा गोलकिपर बरालले सजिलै नियन्त्रणमा लिए। ७४औं मिनेटमा तेज तामाङको पासमा बुद्ध बल तामाङले प्रहार गरेको बल सेकेन्ड बार हुँदै बाहिरियो। ९३औं मिनेटमा रवि पासवानको क्रसमा डी एरियामा अनमार्क रहेका नीरकुमार राईले गरेको प्रहार फस्ट बार हुँदै बाहिरियो।

प्रतियोगितामा उपविजेता बनेको नेपाल पुलिस क्लबका अजित भण्डारी सर्वोत्कृष्ट खेलाडी बने। उनले अप्रिला स्कुटर प्राप्त गरे। विजेता टोली मनाङका खेलाडी अन्य विधामा उत्कृष्ट बने। मनाङका नितिन थापा उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर अशोक बराल, उत्कृष्ट स्ट्राइकर अन्जन विष्ट, उत्कृष्ट डिफेन्डर सुरज विके र उत्कृष्ट प्रशिक्षक फुजा टोपे बनेका हुन्। उनीहरूले जनही नगद २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। प्रतियोगितामा सर्वाधिक गोलकर्ता ५ जना बने। नेपाल पुलिस क्लवका भरत शाह, नीरकुमार राई, मनाङका अन्जन विष्ट, थ्री स्टारका सुसन श्रेष्ठ र त्रिदेव गुरुङ समान २ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका हुन्। सर्वाधिक गोलकर्ताको पुरस्कार नगद २५ हजार भएकाले उनीहरूलाई दामासाहीले ५÷५ हजार प्रदान गरियो।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश सिलवाल, प्रतिनिधि सभाका सांसद सूर्यबहादुर केसी, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, सहारा क्लब पोखराका अध्यक्ष केशबबहादुर थापालगायतले पुरस्कार वितरण गरेका थिए। सहारा क्लब पोखराको आयोजनामा गत फागुन २२ गतेदेखि सुरु भएको प्रतियोगिता १० दिनसम्म चलेको थियो।

फाइनलमा दश हजार दर्शक
निर्माणाधीन अत्याधुनिक फुटबल रंगशालामा भएको खेलमा शनिबार झन्डै १० हजार दर्शकले अवलोकन गरे। २० हजार दर्शक अटाउने क्षमताको बनाउने भनिए पनि हालसम्म १६ हजार ५ सय क्षमताको बनिसकेको फुटबल रंगशालामा बसेर १० हजार दर्शकले शनिबार आहा ! रारा गोल्डकपको फाइनल खेल अवलोकन गरेका हुन्।

प्रकाशित: २ चैत्र २०७६ ०१:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App