७ वैशाख २०८१ शुक्रबार
खेल

पुलिस उपाधिनजिक

सुदूरपश्चिम–११ विरुद्ध बल अगाडि बढाउँदै पुलिसका कप्तान जुमानु राई। तस्बिर : टंक/नागरिक

सर्लाही - विभागीय टोली नेपाल पुलिस क्लब बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबलको उपाधिनजिक पुगेको छ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिम–११ लाई ३–१ गोल अन्तरले हराउँदै पुलिस १० लाख धनराशि पुरस्कारसहित उपाधिनजिक पुगेको हो। खेलमा लिएको अग्रता जोगाउन नसक्दा सुदूरपश्चिमको यात्रा सेमिफाइनलमा टुङ्गिन पुग्यो। खेलको १६औं मिनेटमा फिलिप तामाङले गोल गर्दै सुदूरपश्चिमलाई अग्रता दिलाएका थिए। विनोद केसीको क्रस बललाई तामाङले डिबक्स बाहिरबाट सशक्त प्रहार गर्दै जाली चुमाएका थिए। मध्यान्तर अघि १–० को अग्रतामा लिएको सुदूरपश्चिमले दोस्रो हाफमा भने तीन गोल बेहोर्‍यो। पुलिसको एकपछि अर्को आक्रमणसामू सुदूर स्तब्ध भयो। दोस्रो हाफ सुरु भएको ४७औं मिनेटमा पुलिसका कप्तान जुमानु राईले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

साजन राईले डिबक्स भित्र मिलाएको क्रस पास बललाई जुमानुले गोलमा परिणत गराए। ५५औं मिनेटमा पुलिसका तीर्थ रानामगरले गोल गर्दै आफ्नो टोलीलाई २–१ को अग्रता दिलाए। जुमानुकै क्रस पास बललाई तीर्थले सहजै गोलमा परिणत गराएका थिए। ६७औं मिनेटमा पुनः तीर्थले गोल गर्दै सुदूरविरुद्ध पुलिसको गोलअन्तर बढाए। राष्ट्रिय टोली पूर्व डिफेन्डर रविन श्रेष्ठको क्रस बललाई हेडमार्फत तीर्थले गोल गर्दै पुलिसलाई सानदार जित दिलाएका थिए। पहिलो हाफमा राम्रो प्रदर्शन गरेको सुदूरपश्चिमका खेलाडी पुलिसको बराबरी गोल पश्चात् सम्हालिन नसक्दा एकपछि अर्को गोल खान पुग्यो। अग्रता जोगाउन नसक्दा सुदूरपश्चिम–११ खप्तड गोल्डकप पश्चात दोस्रो सफलता राजर्षि जनक कप उपाधि उचाल्ने यात्राबाट बाहिरियो।

खेलमा समान १/१ गोल र एसिस्ट गरेका पुलिसका कप्तान जुमानु राई म्यान अफ दी म्याच घोषित भए। जुमानुले ट्रफिसहित नगद १० हजार र एकजोर बुट प्राप्त गरेका छन्। अब पुलिसले उपाधिका लागि  शनिबार भारतको कञ्चनजंघा फुटबल क्लब सिक्किम र जावलाखेल युथ क्लबबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ। प्रतियोगितामा दुई भारतीयसहित १२ टोलीले प्रतिस्पर्धा गरेका थिए। शुक्रबार भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिम–११ लाई ३–१ गोल अन्तरले हराउँदै नेपाल पुलिस क्लब १० लाख धनराशि पुरस्कारसहित उपाधिनजिक पुगेको हो।

प्रकाशित: १ चैत्र २०७६ ०१:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App