९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल समूहचरणबाटै बाहिर

ओपनिङ गर्न मैदान प्रवेश गर्दे नेपालका पारस खड्का (दायाँ) र कुशल मल्ल। तस्बिर सौजन्य : रमन शिवाकोटी

काठमाडौं – घरेल टोली थाइल्यान्डमाथि ३३ बलमै सहज जित हात पारे पनि नेपाल थाइल्यान्डमा जारी एसीसी इस्टर्न रिजन ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको समूहचरणबाटै बाहिरिएको छ।

बुधबार भएको समूहचरणको तेस्रो खेलमा थाइल्यान्डमाथि ९ विकेटको जितका साथ नेपालले अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राखेको थियो। तर बुधबारै भएको अर्को खेलमा सिंगापुरले हङकङलाई १६ रनले हराएसँगै नेपालको यात्रा समूहचरणमा मात्र सीमित हुने निश्चित भएको हो। समूहमा तीन खेलको समाप्तिमा नेपालले दुई हार र १ जितपछि २ अंक जोडेको छ। तीनवटै खेलमा शतप्रतिशत नतिजालाई निरन्तरता दिएको सिंगापुर ६ अंकका साथ शीर्ष स्थानमा बस्दै अर्को वर्ष मलेसियामा आयोजन हुने एसिया कप ट्वान्टी–२० प्रतियोगितामा छनोट भयो।

५ टोलीको सहभागिता रहेको छनोट प्रतियोगिताको शीर्ष २ टोली अघिल्लो चरण प्रवेश गर्नेछ। समान खेलमा समान ४ अंक जोडेको मलेसिया र हङकङको भने उपविजेताका रूपमा अर्को चरण प्रवेश सम्भावना कायम छ। पहिलो खेलमा मलेसियासँग २२ रनले निराश बनेको नेपाल दोस्रो खेलमा हङकङसँग ४३ रनले निराश भएको थियो। थाइल्यान्डले  प्रस्तुत गरेको  ६७ रनको सामान्य लक्ष्य नेपालले मात्र १ विकेटको क्षतिमा ५.३ ओभरमा पूरा गरेको थियो। नेपालका लागि ओपनर कुशल मल्लले अविजित ३६ र पवन सर्राफले  अविजित २७ रनको योगदान गरे। यस क्रममा कुशलले १८ बलको सामना गर्र्दै ५ चौका र २ छक्का प्रहार गर्दा पवनले १० बलमा २ चौका र ३ छक्का प्रहार गरे। नेपालका लागि पछिल्ला दुई खेलमा कप्तान ज्ञानेन्द्र मल्ल र कुशल मल्लले ओपनिङ गरेका थिए। बुधबार भने पारस खड्का र कुशल ओपनिङका लागि आएका थिए। पारसले मात्र ९ रन जोडे।

यसअघि टस जितेर ब्याटिङ रोजेको थाइल्यान्डले निर्धारित २० ओभरमा अलआउट हुँदै मात्र ६६ रन जोडेको थियो। थाइल्यान्डका ९ खेलाडीले दोहोरो अंक छुन सकेनन्। थाइल्यान्डलाई नेपालले १७ अतिरिक्त रन उपहार दिएको थियो। नेपालका करण केसीले ३ विकेट लिए भने अविनाश बोहोराको नाममा २ विकेट रह्यो। त्यस्तै भुवन कार्की र सन्दीप लामिछानेले समान १ विकेट लिएका थिए। नेपालले समूहचरणको अन्तिम खेलमा शुक्रबार सिंगापुरको सामना गर्नेछ।

प्रकाशित: २२ फाल्गुन २०७६ ०१:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App