२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

अस्ट्रेलियाको उपाधियात्रामा पूर्णविराम

एडिलेड – एस्लेघ बार्टीले शनिबार एडिलेड इन्टरनेसनलको उपाधि उचाल्दै ९ वर्षदेखि अस्ट्रेलियाको उपाधिविमुख यात्रालाई पूर्णविराम लगाएकी छन्।

एडिलेडमा सम्पन्न फाइनलमा युक्रेनकी डायना यस्ट्रेमस्कालाई ६–२ र ७–५ ले स्तब्ध बनाउँदै विश्व नम्बर एकसमेत रहेकी बार्टी ९ वर्षदेखि अस्ट्रेलियाको उपाधिविहीन यात्रालाई पूर्णविराम लगाउन सफल भइन्। सन् २०११ मा घरेलु भूमिमा नै जर्मिला वुल्फले होबार्ट इन्टरनेसनल जितेयता कुनै पनि अस्ट्रेलियन खेलाडी टेनिसको अन्तर्राष्ट्रिय उपाधि भित्राउन असफल भएका थिए। यद्यपि, शनिबार बार्टीले २४औं विश्व वरीयताकी युवा स्टार डायनालाई फाइनलमा ८७ मिनेटमै स्तब्ध बनाउँदै उपाधि घरमै सुरक्षित राखिन्। यो उपाधि जित्दै बार्टीले वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनमा पनि सुखद सुरुआत गर्ने संकेत गरेकी छन्। उपाधिपछि बार्टीले यस हप्ता आफ्नो खेल करियरका लागि सुखद रहेको बताइन्। ‘यो हप्ता मेरो प्रदर्शन राम्रो नै रह्यो। मैले आफ्नो लयलाई हरेक खेलमा निरन्तरता दिन सकें,’ बार्टीले भनिन्।

साथै बार्टीले घरेलु मैदानमा हुने अस्ट्रेलियन ओपनमा पनि राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका थिए। ‘यही लयलाई निरन्तरता दिँदै घरेलु मैदानमा हुने अर्को उपाधि पनि जित्ने लक्ष्य राखेको छु। उक्त खेलका लागि व्यग्र प्रतीक्षामा छु,’ बार्टीले भनिन्। बार्टीले सोमबार रोड लाभेर एरिनामा वर्षको पहिलो ग्रान्ड स्लामको सुरुआत गर्नेछिन्। ‘वर्षको पहिलो ग्रान्ड स्लामको लागि उत्साहित छु,’ बार्टीले भनिन्, ‘मैले उक्त खेलमा राम्रो सुरुआत दिलाउने लक्ष्य राखेको छु,

त्यसैले पहिलो राउन्डमा राम्रो प्रदर्शन गर्नुपर्छ।’ बार्टीले १९ वर्षीया युक्रेनी प्रतिद्वन्द्वी डायनाविरुद्ध सर्भिसमा दुई पटक मात्र स्कोर गुमाएकी थिइन्। यता, पुरुषतर्फ रसियाका आन्दे्र रुब्लेभले फाइनलमा दक्षिण अफ्रिका लोयड ह्यारिसलाई स्तब्ध बनाउँदै उपाधि उचाले। आन्द्रेले लोयडलाई ६–३ र ६–० ले स्तब्ध बनाउँदा ५७ मिनेटमै खेल आफ्नो बनाएका थिए।

गत हप्ता मात्र दोहा ट्रफी जितेका आन्द्रे अस्ट्रेलियामा पनि सफलता दोहो-याउन सफल भए। आन्दे्रले गत नोभेम्बरदेखि एक खेल पनि नगुमाई आफ्नो उत्कष्ट लयलाई निरन्तरता दिएका छन्। ‘मैले कसरी यो प्रदर्शनलाई निरन्तरता दिन सकें भन्ने स्पष्ट जबाफ मसँग छैन,’ आन्दे्रले भने,‘तर लगातार दुई उपाधि दिलाउन पाउँदा निकै हर्षित छु।’

प्रकाशित: ५ माघ २०७६ ०२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App