१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

पदकविजेता बक्सरको स्वागत

काठमाडौं – अन्तर्राष्ट्रिय पदक विजेता बक्सरद्वय भूपेन्द्र थापा र मीनु गुरुङलाई सोमबार नेपाल बक्सिङ संघले भव्य स्वागत गरेको छ। चीनको जिङयाङमा गत शनिबार सम्पन्न एसियाली ग्रान्ड स्ल्याम बक्सिङ प्रतियोगिताका रजत पदक विजेता मीनु र भूपेन्द्रलाई संघले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको हो। बक्सरद्वयलाई बक्सिङ संघका अध्यक्ष राम अवाले, राखेप सदस्यसमेत रहेका बक्सिङ संघका उपाध्यक्ष अर्जुनबहादुर केसी, मुख्य प्रशिक्षक प्रकाश थापामगरलगायतका पदाधिकारी, खेलाडी, पदकविजेताका परिवारलगायतले स्वागत गरेका थिए।

रजत विजेता दुवै खेलाडी हालै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णधारी हुन्। शनिबार सम्पन्न महिला ५४ केजीको फाइनलमा फिलिपिन्स बक्सर नाइस जजा डेटेक्लोसँग ५–० ले पराजित भएपछि मीनु नेपाललाई लगातार दोस्रो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्वर्ण जित्नबाट चुकेकी थिइन्। मीनु अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्वर्ण पदक दिलाउने पहिलो नेपाली बक्सरसमेत हुन्।

१३औं सागमा ५४ केजी तौलसमूहकै प्रतिस्पर्धाको फाइनलमा भारतीय प्रतिद्वन्द्वीलाई हराउँदै मीनु स्वर्ण पदक जित्ने पहिलो महिला बक्सर बनेकी थिइन्। यता, भूपेन्द्रले भने पुरुष ६४ केजीमा रजत जितेका थिए। भूपेन्द्र शुक्रबार सम्पन्न फाइनलमा चाइनिज ताइपेईका मुक्केबाज वाङ जिया जेयोङसँग ३–२ ले स्तब्ध भएका थिए। भूपेन्द्रले पनि गत १३औं सागमा भारतीय प्रतिद्वन्द्वी मनीष कौशिकलाई हराउँदै स्वर्ण जितेका थिए।

सोमबार स्वागत कार्यक्रममा अध्यक्ष अवालेले यो अनुभवले एसियाली तथा ओलम्पिक छनोटमा राम्रो नतिजा ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। राखेपका सदस्य केसीले जुनसुकै प्रतियोगितामा पनि प्रतिद्वन्द्वीलाई कडा चुनौती दिन नेपाली खेलाडी सक्षम रहेको धारणा व्यक्त गरे। पदकविजेता दुवै खेलाडीले स्वर्णनजिक पुगेर पनि असफल भएकोमा दुःख लागेको प्रतिक्रिया दिँदै आगामी दिनमा कमीकमजोरीलाई सुधार्दै स्वर्ण जित्न प्रयासरत रहने बताएका छन्।

प्रकाशित: ८ पुस २०७६ ०१:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App