पोखरा - पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगितामा बुटवल ब्लास्टरले सुपर ओभरमा जित निकालेको छ। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सोमबारको दोस्रो खेलमा बुटवल ब्लास्टरले नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्स वारियरलाई सुपर ओभरमा १० रनले हराएको हो। यसअघि काठमाडौंले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बुटवल १ सय ४० रनमा सीमित हुँदा खेल बराबर भएपछि सुपर ओभरमा गएको थियो। सुपर ओभरमा बुटवलले पहिले ब्याटिङ गर्दै १२ रन बनायो। बुटवलका हर्ष टोन्कले ९ तथा शिवम सिंहले ३ रन बनाए। जबाफी ब्याटिङमा उत्रिएको काठमाडौंले केवल २ रन मात्र बनाउन सक्यो।
टस जितेर बुटवलले फिल्डिङ रोजेपछि काठमाडौंले पहिलो ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो। काठमाडौंका पवन सर्राफले ३७ रन बनाए। २१ बलको सामना गरेका उनले २ छक्का र ३ चौका हिर्काए। त्यस्तै जयकिसन कोल्सावालाले २८, आदी खानले २३, सुवास खकुरेल र कप्तान ज्ञानेन्द्र मल्लले समान १५, अमर रौटेलाले १४ रन बनाए भने विदेशी खेलाडी गौरव तोमरले १ रन मात्र जोडे। बुटवलका नीतेश थापाले २ तथा हरि चौहान र अविनाश बोहराले समान १ विकेट लिए।
काठमाडौंले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बुटवल १ सय ४० रनमा सीमित हुँदा खेल बराबर भएपछि सुपर ओभरमा गएको थियो।
जबाफी ब्याटिङका लागि उत्रिएको बुटवलका लागि हर्ष टंकले सर्वाधिक ४५ रनको योगदान दिए। विस्फोटक पारी खेलेका उनले २९ बलको सामना गर्दै ३ छक्का र ३ चौका हिर्काए। शिवम् सिंहले पनि विस्फोटक पारी खेल्दै २१ बलमा ३३ रन बनाए। त्यस्तै शंकर रानाले २०, अफ्तावबुद्धिन अहमदले १४, भीम सार्कीले १३, सोमपाल कामीले ११ रन बनाए। विपिन कार्की र हरि चौहानले खाता खोल्न सकेनन्।
काठमाडौंका सुबोध भाटी र सुशन भारीले २÷२ विकेट लिए भने सूर्य तामाङ, अमर रौटेला र पवन सर्राफले समान १ विकेट लिए। प्रतियोगितामा बुटवलका हर्ष टोन्क म्यान अफ दी म्याच घोषित भए। उनलाई नेपाल टेलिकमको तर्फबाट नगद १० हजारसहित ट्रफी प्रदान गरिएको थियो।
यसअघि सोमबारको पहिलो खेलमा धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ५ रनले पराजित गर्दै विजयी सुरुआत ग¥यो। विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि पहिलो ब्याटिङ गर्दै धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनायो। जबाफी ब्याटिङमा उत्रिएको विराटनगर पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय १२ रनमा सीमित भयो।
धनगढीका लागि कमलसिंह ऐरीले सर्वाधिक २६ रन बनाए। २१ बलको सामना गरेका उनले २ छक्का र २ चौका प्रहार गरे। त्यस्तै श्रीमन्थ विजयारत्नेले २५, रोड्रिगो थोमसले १६, सौरभ खनालले १२ र मञ्जित श्रेष्ठले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्। बलिङतर्फ विराटनगरका साहब आलमले सर्वाधिक ३ विकेट लिए भने नोमन खानले २ तथा किशोर महतो, पुनीत मेहरा र मुहम्मद जाहिद आलमले समान १ विकेट लिए।
मध्यम लक्ष्य पछ्याएको विराटनगरले खराब सुरुआत ग¥यो। पहिलो वलमै मुहम्मद जाहिद आलमलाई गुमाएको विराटनगरले पहिलो ओभरको चौथो बलमा दिलीप नाथलाई गुमाउँदा टोली केवल ३ रनमा थियो। आलम र दिलीप दुवै शून्य रनमा आउट भए। राजु रिजाल र सुनील धमलाले विराटनगरको इनिङ उकास्ने प्रयास गरे पनि हार टार्न सकेनन्। राजुले २५ र धमलाले १८ रनको योगदान दिए। त्यस्तै विराटनगरका लागि पुनीत मेहराले १५, नोमन खानले ११ र कप्तान प्रदीप ऐरीले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंक बनाउन सकेनन्। किशोर महतोले ८, जितेन्द्र मुखियाले ६, राजेश पुलामीले २ र साहव आलमले १ रन बनाए।
विराटनगरको इनिङ धराशयी बनाउन दीपेन्द्रसिंह ऐरीले ३, सागर ढकालले २ तथा कमलसिंह ऐरी, अमित यादव र अनिल खरेलले समान १ विकेट लिए। धनगढीका दीपेन्द्र्रसिंह ऐरी म्यान अफ दी म्याच घोषित भए। उनलाई नेपाल टेलिकमको तर्फबाट नगद १० हजारसहित ट्रफी प्रदान गरिएको थियो। मंगलबार घरेलु टोली पोखरा पल्टन र चितवन राइनोज प्रतिस्पर्धामा उत्रिनेछन्।
प्रकाशित: १ पुस २०७६ ०१:२४ मंगलबार