६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

पाँच महिनामा तयार पार्ने प्रतिबद्धता

पोखरा - पोखरा रंगशालाको पूर्वाधार निर्माण अधुरै रहँदा १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबल पोखरामा सम्पन्न गरियो। फुटबल मैदान निर्माण कम्पनीले पोखरामा साग सकिएको दोस्रो दिनदेखि नै निर्माण सुरु गरिसकेको छ। झण्डै दुई साता पूर्णरूपमा रोकिएको कामलाई कम्पनीले बुधबारदेखि फेरि पुरानै रफ्तारमा सुरु गरेको छ।

कम्पनीले बढीमा अबको पाँच महिनाभित्रमा फुटबल मैदानसहितको अन्य भौतिक पूर्वाधार राष्ट्रिय खेलकुद परिषद्लाई हस्तान्तरण गरिसक्ने प्रतिबद्धतासमेत जनाएको छ। ‘ढिलोमा पाँच महिनामा हामी सबै काम पूरा गरेर हस्तान्तरण गर्छौ।’
भारतीय कम्पनी ग्रेट स्पोर्टस एन्ड एम.ए कन्ट्रक्सन, जावलाखेल ललितपुर (जे.भी.)का स्थानीय प्रोजेक्ट मेनेजर दीपक बरालले भने, ‘आउनुपर्ने सामान केही आइसकेको छ। केही आइपुग्छ।’

भिआइपीको फलामे कन्ट्रक्सनयुक्त कामको लागि आवश्यक सामान आइरहेको छ। त्यसको जडान गर्न जनवरी दोस्रो साता अर्थात पुस अन्तिम साता प्राविधिक पोखरा आइपुग्ने उनले सुनाए। ‘सामान जडान गर्ने प्राविधिक आएपछि चेन्जिङ रुमयुक्त पूर्वाधारलाई पूरा गर्ने छौं।’ उनका अनुसार अब प्यारापिटका सामानसमेत जडान गरिने छ।

कम्पनीले सागकै लागि पूर्व र पश्चिममा प्यारापिट निर्माण गरी सिट जडान गरेको थियो। अब उत्तर र दक्षिणतर्फ प्यारापिट राख्न फाउन्डेसनको काम गर्नुपर्ने उल्लेख गरे। ‘आइसकेको प्यारापिटको सामान फाउन्डेसन तयार गरिएको ठाउँमा हाल्दै जान्छौैं,’ उनले भने, ‘उत्तर र दक्षिणतर्फ फाउन्डेसनको काम गरिने छ।’

महिला फुटबलकै कारण झन्डै दुई साता पूर्णरूपमा ठप्प हुँदा काममा ढिलाइ भएको कम्पनीको दाबी छ। कम्पनीले पूर्वतर्फ दुई तले भवन निर्माण गर्न केही समय लाग्ने जनाएको छ। ‘हामीलाई दुईतले भवन निर्माण गर्न केही समय लाग्ने छ। त्यसैले पाँच महिनामा सबै काम टुंग्याउने योजनासहित काम गरेका छौैं,’ उनको भनाइ थियो।

फुटबल मैदान अझै व्यवस्थित भइसकेको छैन। मैदान व्यवस्थित नभएपछि राष्ट्रिय प्रतिष्ठासँग जोडिएको भन्दै महिला फुटबल आयोजना गरेर टुंग्याइयो। मैदान, ट्रयाक एन्ड फिल्डसहित फिल्ड बाहिर नालीको काम समेत गर्नुपर्ने छ।
प्रोजेक्ट मेनेजर बरालका अनुसार पोखराको प्रतिष्ठित गोल्डकप आहा–रारासमेत आयोजना गर्ने हुँदा त्यसको लागि पनि केही समय रोकिने छ। ‘फुटबल रोक्नुपर्छ भन्ने पक्षमा छैनौं। फुटबल आयोजना गर्न कुनै समस्या नहुने गरी बाँकी काम गर्छौं,’ उनको भनाइ थियो।

प्यारापिटमा अहिले झन्डै ६ हजार ५ सय सिट राखिएको छ। २० हजार क्षमताको प्यारापिट निर्माण गर्ने सम्झौता छ। १६ हजार ५ सय निर्माण गर्ने भए पनि कम्पनीले ३ हजार ५ सय सिट थप गरेर २० हजार पु¥याउने छ। कम्पनीले १७ वटामध्ये अहिले १२ शौचालय तयार गरेको छ।

बाँकी ५ शौचालय दक्षिणतर्फ बनाइने छ। मैदानसम्म पुग्ने पक्की सडक समेत निर्माण गरिरहेको छ। क्रिकेट र आर्चरी मैदानको बीचबाट खनिएको बाटोलाई कालोपत्रे गरिँदै रंगशालाका सबै खेलस्थलसम्म पुग्ने बाटोसमेत कम्पनीले कालोपत्रे गर्ने अभियान सुरु गरिएको कम्पनीका प्रोजेक्ट मेनेजर बरालले बताए। एक अर्ब २८ करोड रूपैयाँको लागतमा गत फागुन अन्तिम साता मैदानसहितको पूर्वाधार निर्माणको शिलान्यास गरिएको थियो।

प्रकाशित: २६ मंसिर २०७६ ०१:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App