२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

माल्दिभ्सको जित चाहने नेपाली

काठमाडौं - नेपालमा आइतबारबाट दक्षिण एसियाली खेलुकद (साग) सुरु भयो। राष्ट्रपति विद्यादेवी भण्डारीको ‘म १३औं दक्षिण एसियाली खेलकुद औपचारिक रूपमा सुरु भएको घोषणा गर्दछु’ भन्ने वाक्यसँगै सुरु भएको सागको रौनक मंसिर २४ सम्म कायम रहनेछ।

१९८४ मा नेपालबाटै साग खेलकुदको जन्म भएको थियो। दक्षिण एसियाली राष्ट्रको ओलम्पिकका रूपमा हेरिएको साग २० वर्षपछि जन्मभूमि फर्किएको हो। यसभन्दा अघि सन् १९९९ मा सागको आठौं संस्करण नेपालमा भएको थियो। घरेलु मैदानमा फर्किएको खेलकुद मेलामा सबै नेपालीको चाहना एउटै छ, आयोजक नेपालले धेरैभन्दा धेरै स्वर्ण पदक हात पारोस्।  नेपालले प्रतिस्पर्धाको पहिलो दिन नै कराते र तेक्वान्दोमा समान ७ र ट्रायथलनमा १ गरी कुल १५ स्वर्णका साथ पदकतालिकामा दमदार सुरुआत गरिसकेको छ।

तर एक नेपालीका लागि भने भित्री मनमा यो इच्छा रहे पनि मैदानमा  नेपालको भन्दा माल्दिभ्सका खेलाडीको चिन्ता बढी छ। उनी हुन्, माल्दिभ्स लन टेनिस टोलीका नेपाली मुख्य प्रशिक्षक कुमार अधिकारी। २००७ देखि २०१२ सम्मका नेपाल च्याम्पियन अधिकारीले २०१६ देखि हरि हायुको सल्लाहमा माल्दिभ्स लन टेनिस टोलीको प्रशिक्षण सम्हाल्दै आएका छन्। २ वर्षको सम्झौता सकिएपछि अधिकारीले माल्दिभ्ससँग जुनमा मात्र थप एक वर्षको सम्झौता गरेका थिए।
अधिकारी अहिले ४ महिला र ४ पुरुष गरी कुल ८ टेनिस खेलाडीका साथ नेपाल आएका हुन्।

‘दक्षिण एसियाली राष्ट्रमध्ये माल्दिभ्सको टेनिस निकै तल छ,’ अधिकारीले भने, ‘हामी यहाँ कुनै स्वर्णको लक्ष्यभन्दा पनि उत्कृष्ट प्रदर्शनका साथ अनुभव बटुल्न चाहन्छाै।’ अधिकारीले माल्दिभ्सका सिनियर खेलाडीभन्दा उमेरसमूहका खेलाडी क्षमतावान् भएको र अबको केही वर्षभित्रै उनीहरूले दक्षिण एसियाली राष्ट्रमा दरिलो उपस्थिति राख्ने बताए।

‘माल्दिभ्स टेनिस संघले यस खेललाई उच्च प्राथमिकतामा राखेको छ। हाल १ सय ५० जना प्रशिक्षणमा छन्,’ अधिकारीले भने, ‘माल्दिभ्सका टेनिस खेलाडीले गत वर्ष इन्डोनेसियामा भएको एसियन गेम्सको समेत राम्रो अनुभव बटुलेका छन्।’ माल्दिभ्सले भुटानलाई ३–० को नतिजा सुम्पिएको थियो। सिंगल्सतर्फ पेमा नोर्बुले अबदुल्ला फजिललाई ७–६(५), ५–५ (रिटायर्ड) को सेटमा हराए।

अधिकारीले नेपालमा आफूहरूको पालाभन्दा अहिले धेरेै टेनिस प्रतियोगिता हुने र त्यसले नयाँ खेलाडीलाई धेरैभन्दा धेरै अवसर दिएको बताए। यद्यपि लन टेनिस खेल अझै मध्यमवर्गको पहुँचमा नआउनु  दुखद भएको उनको भनाइ छ। ‘विभिन्न उमेरसमूहका खेलाडीहरू कम्तीमा कक्षा १२ अध्ययन गर्दासम्म नेपालको प्रतिनिधित्व गर्दै खेल्छन्,’ अधिकारीको गुनासो थियो, ‘उच्च शिक्षाका लागि उनीहरू यही खेलको आधारमा पूर्ण छात्रावृत्तिका साथ अमेरिका र अस्ट्रेलिया जान्छन् र अन्ततः केही समयपछि खेलयात्रा नै टुंग्यााउँछन्। यो निकै दुखको कुरा हो। उनीहरूको स्थानमा  खेलेरै केही गर्छु भन्नेलाई अवसर दिइनुपर्छ।’

अधिकारीका बुबा दुर्गाप्रसाद अधिकारी पोखरामा टेनिस कोर्ट बनाउने प्राविधिक थिए। त्यसैले उनले छोरालाई अन्य खेलभन्दा टेनिसमा लाग्न सल्लाह दिए। ‘हाम्रो पालामा प्रशिक्षणका लागि पनि मुस्किल थियो,’ अधिकारीले विगत सम्झँदै भने, ‘म दरबारमार्गस्थित एक अमेरिकी क्लबमा टेनिस प्रशिक्षकको रूपमा काम गर्थें। त्यसबाट फुर्सदको समयमा आफू प्रशिक्षण गर्थें र यहाँ भएका केही सीमित प्रतियोगिता खेल्थें।’

अधिकारी अब पोखरा फर्किएर टेनिसकै विकासका लागि योगदान दिने योजनामा छन्। ‘यहाँ यही प्रशिक्षक पदका लागि धेरै संघर्ष गर्नुपर्ने। म अहिले माल्दिभ्समा मलाई दिएको सम्मान र सुविधाबाट सन्तुष्ट छु,’ अधिकारीले भने।
१३अाै  साग काठमाडाैं पोखरा र जनकपुर गरी तीन सहरमा आयोजना हुँदै छ। ‘यहाँ यही प्रशिक्षक पदका लागि धेरै संघर्ष गर्नुपर्ने। म अहिले माल्दिभ्समा मलाई दिएको सम्मान र सुविधाबाट सन्तुष्ट छु।’

प्रकाशित: १७ मंसिर २०७६ ०१:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App