१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

'सागमा न्यूनतम ५० स्वर्ण पदक ल्याउने गरि तयारी गरेका छाैं' (भिडियाेसहित)

काठमाडौं–राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले १३ औं दक्षिण एसियाली खेल (साग)मा न्यूनतम ५० स्वर्ण पदक ल्याउने गरि तयारी गरेको बताएका छन्। बुधबार नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा श्रीराम पौडेलसँग कुरा गर्दै यस्तो बताएका हुन्।

पदकबारे उनी भन्छन्,‘हामीले न्यूनतम ५० स्वर्ण पदक ल्याउने गरि तयारी गरेका छौ। मैले त्यसै भनेको छैन। सम्बन्धित खेलका पदाधिकारीहरुसंगको कुराकानीमा मैले पाएको रिपोर्टका आधारमा भनेको हुँ। यसपालि खेलाडीहरुले राम्रो प्रशिक्षण पनि गरिरहेका छन्। मर्सल आर्टस्का तेक्वान्ड, जुडो, कराँते लगायतका खेलमा पदक आश गर्ने ठाँउ छ। भलिबल, गल्फ, स्विमिङ लगायतका खेलमा पनि आश राखेका छौं। एक्कासी ५० वटा मेडल अपत्यारिलो पनि लग्न सक्छ। मार्सल आर्टस्मा हाम्रो मुख्य प्रतिस्पर्धि भारत हो। भारतले मार्सल आर्टमा प्रतिबन्धित छ। मार्सल आर्टस् मै धेरै मेडल भएका कारण हामीले ५० वटा मेडलको अपेक्षा राखेका हौं।’

उनी भन्छन्,‘१३ औं दक्षिण एसियाली खेल(साग) आगामी डिसेम्बर १ देखि १० (मंसिर १५ देखि २४ गते) नेपालमा हुँदैछ। सन् १९९९ मा नेपालले आयोजना गरेको २० वर्ष पछि पुनः नेपालले त्यो अवसर प्राप्त गर्दैछ। त्यसैको तयारीमा आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) जोडदार लागि परेको छ।

सागको व्यवस्थापनबारे उनी थप्छन, ‘दुई पटक साग गेम्स रोकिएपछि नेपालले फेरी आयोजना गर्दै छ। २६ वटा खेलका मैदान मध्ये २० वटा मैदनको काम सकियो। ६ वटा बाँकी छन्। केही दिनमा सकिन्छ। दशरथ रंगशाला ५ दिन भित्र सकिन्छ। अन्तर्राष्ट्रिय खेलकुद भएकाले भौतिक पूर्वाधारको तयारी तीन महिना अघि नै सक्नु पर्थ्यो, तर भएन। म राखेपमा आएको ४ महिना भयो। काम रोकिएको छैन। मन्त्री ज्यु सहतिको खटाईले समयमै साग गर्न हामी तयार भएका छौ। अहिले अवस्थामा हतारोका काम भएपनि लतार चाहीं भएको छैन। खेलका बीचमा अफ्ठयारो अवस्था नआउला। खेलका क्रममा आउने हरेक चुनौतिको सामना गर्न हामी तयार छौ।'

‘सागमा पाँच हजारको  हारहारीमा खेलाडी सहभागि हुनेछन्। त्यसका लागि एक सय होटल बुक भएका छन्। त्यसका लागि २२ हजार  सुरक्षाकर्मी, १ हजार कर्माचारी र स्काउट परिचालन हुनेछन्। त्यति मेनपावर खटाउँदा व्यवस्थापनमा समस्या नहोला। अनलाइन टिकटिङको व्यवस्थापानमा पनि ध्यान दिएका छौ। अहिलेसम्मको व्यवस्थाबाट हामी सन्तुष्ट छौं। खेलका क्रममा आउने हरेक चुनौतिको सामना गर्न हामी तयार छौ।’

सागको लागि बजेटको अवस्थाबारे उनी भन्छन्,‘साग सञ्चालन खर्च ३ अर्ब ६५ करोड हो। त्यति नै खर्च गर्नपर्छ भन्ने छैन। आवश्यक बजेट खर्च ९० दिन भित्र सार्वजानिक गर्ने छौं। यता २ अर्ब ५ करोड भने पूर्वाधार विकास खर्च लागि बजेट प्राप्त गरिएको छ। बजेटको आकार हेर्दा भयङ्कर देखिन्छ। तर साँचै विकास गर्ने हो त्यो बजेट केही पनि हैन्। बजेट हामीले जथाभावी खर्च गरेका छौनौं।’

८ करोडमा ब्रोड्कास्टिङ राइट भारतीय कम्पनीलाई बेचेको विषय अहिले विवादमा पनि छ। राखेपले यो विषयलाई भने एतिहासिक काम भन्दै आएको छ। सदस्य सचिव भन्छन्,‘यो नेपाली खेलकुदको क्षेत्रमा नयाँ विषय हो। हामीले १५ वटा विभिन्न राष्ट्रमा खेल प्रत्यक्ष प्रशारण गर्दैछौं। सम्झौता अनुसार सार्कका आठवटा देश सहित सिंगापुर, जापान,  इन्डोनेसिया लगायतका मुलुकमा ब्रोड्कास्टिङ हुनेछ। यस्तो संयोगलाई विवाद भन्दा पनि राखेपको सकारात्मक काम भन्नुपर्छ। ब्रोड्कास्टिङका लागि हामीले विड गरेका थियौं। नेपाली मिडियासंग पनि छलफल गरेका हौं। त्यसमा नेपाली मिडियाको क्षमता कमजोर भयो। नेपाल टेलिभिजनले पनि त्यो क्षमतालाई भ्याएन। नेपाली फोटोग्राफरले पनि खिच्न पाउँछन्। नेपाली मिडियाले भिडियो खिच्न नपाउने भएपछि अहिलेको विरोध भएको हो। तर हामीले भिडियो पनि उहाँहरुलाई उपलब्ध गराउने छौं। आठ करोडमा  भारतीय कम्पनीले साग गेम्सको प्रशारण अधिकार किनेको छ। उसको लगानीलाई पनि हामीले बुझ्नु पर्छ।’

त्यस्तै खेल पत्रकार निरञ्जन राजवंशीले अघिल्लो कार्यकालले पनि राम्रो काम गर्न  नसक्दा पनि अहिलको अवस्था आएको बताएका छन्। उनी भन्छन्,‘अघिल्लो कार्यकालले राम्ररी काम गर्न नसक्दा अहिले हतारमा काम गर्नु पर्ने अवस्था देखिन्छ।’ नेपालले मार्सल आर्टमा धेरै पदक ल्याउन सक्ने भन्दै उनले नेपाल ५ औं स्थानमा रहेर साग गेम्स अन्त्य गर्ने प्रक्षेपण गर्छन्। ‘नेपालका १ सय ५६ संघ मध्ये १०/१२ वटा संघ मात्र राम्ररी काम गर्ने गर्छन’ उनी भन्छन्,‘संघले पनि व्यवहार सुधार्न पर्छ, वर्षमा एउटा पनि राष्ट्रिय खेल खेलाउन नसक्ने संघ विघटन गर्दिए पनि हुन्छ।’ उनले पहिलो पटक ब्रोड्कास्ट अधिकार बेचिएकोमा खुशि व्यक्त गरे। 

प्रकाशित: ४ मंसिर २०७६ १६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App