१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

कर्णालीको प्रसिद्ध चन्दननाथ-भैरवनाथ मन्दिरमा लिंगो ल्याइयो

मन्दिरमा लिंगो ल्याइँदै। तस्बिर: गोल्डेन बुढा / नागरिक

कर्णालीकै प्रसिद्ध चन्दननाथ-भैरवनाथ मन्दिरमा चन्दननाथ नगरपालिका-३, रडिखेल्ला जंगलबाट ५२ हाते लिंगो ल्याइएको छ।

यस मन्दिरमा हरेक वर्ष घटस्थापनाका दिन लिंगो गाड्ने परम्परा लामो समयदेखि चलिआएको छ। विशेषगरी, प्रत्येक दिन पूजा पाठ हुने यस मन्दिरमा हप्ताको एकपटक विशेष पूजा हुने गर्दछ।

स्थानीय अगुवा चित्रलाल श्रेष्ठका अनुसार, तीन वटा लिंगो गाड्ने परम्परा विक्रम संवत् १४९८ सालदेखि चलिआएको हो।

उनले भने, "हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन लिंगो तान्ने रित प्राचीनकालदेखि नै चलिआएको छ। सरकारी कर्मचारी, नेपाली सेना, प्रहरी र स्थानीय दलित समुदायले आ-आफ्ना लिंगो घटस्थापनाका दिन मन्दिरमा गाड्ने प्रथा रहिआएको छ।"

समयसँगै परम्परा केही फेरिए पनि अहिले सेना, प्रहरी, स्थानीय भक्तजन र युवाहरूले लिंगो ल्याउने गरेका छन्।

अघिल्ला वर्षहरूमा सरकारी कर्मचारी, स्थानीय क्षेत्रीहरू, सेनाले "पल्टन लिंगो", ब्राह्मण समुदायले "थपला लिंगो" र दलित समुदायले "कमसला लिंगो" ल्याउने चलन थियो। तर, केही वर्षयता यी परम्परागत विधिहरूमा कमी आएको देखिएको छ।

संस्कृति संरक्षण तथा प्रवर्द्धन समितिका संयोजक महेन्द्र कार्कीका अनुसार, भक्तजनको सक्रियता बढाउन अघिल्लो वर्षदेखि तीन सय भेष्टको व्यवस्था गरिएको छ।

"यसले भक्तजनहरू र युवाहरूको सहभागिता अझ बढेको छ," उनले बताए। कार्कीले कर्णालीको यस ऐतिहासिक परम्परालाई बचाउनु सबैको जिम्मेवारी भएको बताए।

चन्दनाथ-भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाका अनुसार, स्थानीयले जंगलबाट लिंगो ल्याउन छोडेपछि नेपाली सेना र प्रहरीको सहयोग लिनुपरेको हो।

लिंगो गाड्ने परम्परा स्थानीयहरूका लागि विशेष पर्वकै रूपमा मनाइन्छ, जसका लागि कर्णाली प्रदेश सरकारले सरकारी बिदा दिने गरेको छ।

प्रकाशित: १४ आश्विन २०८१ २३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App