तेह्रथुम – म्याङलुङमा चासोक तङ्नाम तथा उधौली पर्वको अवसरमा जिल्लाको हालसम्मकै सर्वाधिक राशिको दोस्रो बिटिएफसी आमन्त्रित फुटबल प्रतियोगिता हुने भएको छ।
वि.सं. २०७० सालमा स्थापित भगिमानसिं तुम्बाहाङफे(पुनाहाङ) स्मृति प्रतिष्ठानले दोस्रोपटक आमन्त्रित फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको हो। प्रतिष्ठानले म्याङलुङमा पत्रकार सम्ममेलन गरी फुटबल प्रतियोगिता आयोजना गर्नेबारे जानकारी गराएको हो।
प्रतियोगिता आगामी मंसिर २० गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रतिष्ठानका सचिव इन्द्रबहादुर तुम्बाहाङफेले जानकारी दिए। प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजारको साथमा कप, मेडल, प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष रामबहादुर तुम्बाहाङफेले बताए।
प्रतियोगितामा ८ टिमले सहभागिता जनाउने छन्। खेलकुद समापनमा लिम्बूहरूको मौलिक पर्व चासोक तङ्नाम मनाइने तयारी भइरहेको आयोजकले जनाएको छ। प्रतिष्ठानले वार्षिक रुपमा स्वर्गीय भगिमानसिं तुम्बाहाङफेको स्मृति आमन्त्रित फुटबल प्रतियोगिताको आयोजना गर्नुको साथै अन्य सामाजिक कार्यहरू पनि गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
प्रकाशित: २९ कार्तिक २०७६ ०६:१८ शुक्रबार