१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

मिति तलमाथि हुँदैन : खेलकुदमन्त्री

काठमाडौं – युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ देखि नेपालमा आयोजन हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमै हुने बताएका छन्।

राजधानीमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले १० दिनसम्म सञ्चालन हुने प्रतियोगिताका लागि तयारी तीव्र गतिमा अगाडि बढेको  बताए।

‘सागको तयारी तीव्र गतिमा अगाडि बढेको छ। भव्य र सभ्य तरिकाले सम्पन्न गर्न सम्बद्ध सबै निकाय लागि परेका छौं,’ मन्त्री विश्वकर्माले भने, ‘साग राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय भएकाले खेलप्रेमी र सरोकारवाला सबैले प्रयत्न गरेका छौं।’

प्रतियोगिता समयमै नहुने हो कि भनेर अन्योलतासँग जोडेर गरिएका टीकाटिप्पणीको मन्त्री विश्वकर्माले आलोचना गरे। ‘स्थायी सरकार आएपछि प्रतियोगिता समयमै गर्ने गरी काम अगाडि बढाएका छौं। सोहीअनुसार काम पनि भइरहेको छ,’ मन्त्री विश्वकर्माले भने, ‘मंसिर पहिलो हप्ताभित्र निर्माण काम सम्पन्न हुन्छ। दशरथ रंगशालाको पनि निर्माण सम्पन्न हुँदै छ। सातदोबाटोमा पनि सम्पन्न हुँदै छ। तेक्वान्दो, कराते र लन टेनिसलगायतका नयाँ पूर्वाधार पनि सातदोबाटोमा निर्माण गरेका छौं।’

‘मैले स्याबासी र प्रशंसा खोजेको होइन,’ मन्त्री विश्वकर्माले मंसिर १५ गतेदेखि सुरु हुने साग खेलकुदको मिति तलमाथि नहुने दोहो¥याउँदै भने, ‘परिस्थिति हाम्रो काबुमा छ। पूर्वाधारको कुनै समस्या छै। अहिलेको कामको प्रगति हेर्दा विश्वासको आधार तय भएको छ।’

सागका लागि नेपाली खेलाडीलाई प्रशिक्षणदेखि व्यवस्थापकीय सबै काम भैरहेको, विदेशी पाहुनालाई आमन्त्रण गर्ने काम पनि भैसकेको मन्त्री विश्वकर्माले जानकारी दिए। मन्त्री विश्वकर्माले हिटिङ र स्विमिङ पुल निर्माणका काम पनि अन्तिम चरणमा पुगेकाले कुनै समस्या नहुने दाबी गरे। आफूहरूले थोरैभन्दा थोरै लगानीमा धेरै उपलब्धि हासिल गर्ने गरी काम गरिरहेको मन्त्री विश्वकर्माले कार्यक्रममा सुनाए।

प्रकाशित: २४ कार्तिक २०७६ ०५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App