सिड्नी – अस्ट्रेलियाका स्टार क्रिकेटर ग्लेन म्याक्सवेलले मानसिक अस्वस्थका कारण देखाउँदै क्रिकेटबाट केही समयका लागि विश्राम लिएका छन्। बिहीबार क्रिकेट अस्ट्रेलियाले पनि म्याक्सवेलले मानसिक अस्वस्थकै कारण क्रिकेटबाट केही समयका विश्राम लिएको पुष्टि गरेको छ।
यससँगै छोटो फरम्याटको क्रिकेटका उत्कृष्ट ब्याट्सम्यान म्याक्सवेल श्रीलंकासँगको ट्वान्टी–२० क्रिकेट शृंखलाबाट पनि बाहिरिनेछन्। म्याक्सवेलले श्रीलंकासँगको पहिलो खेलमा २८ बलमा ६२ रनको आक्रामक इनिङ खेलेका थिए। सोही खेलमा डेविड वार्नरको शतकप्रेरित अस्ट्रेलियाले दुई विकेट गुमाउँदै २ सय ३३ रनको योगफल बनाउँदा श्रीलंकाविरुद्ध १ सय ३४ रनको जित दर्ता गरेको थियो।
जसमा म्याक्सवेलले आक्रामक इनिङ खेलेपछि अस्ट्रेलियाले फराकिलो जित निकाल्यो। दोस्रो खेलमा अस्ट्रेलियाले ९ विकेटको जित निकाल्दा म्याक्सवेल ब्याटिङका लागि मैदानमै आउनु परेको थिएन। शुक्रबार सम्पन्न तेस्रो खेलमा भने स्वास्थ्यमा समस्या देखाउँदै म्याक्सवेलले विश्राम लिए। क्रिकेट अस्ट्रेलियाका मानसिक चिकित्सक मिकाइल लोयडले पनि स्वास्थ्यमा समस्या भएका कारण म्याक्सवेल केही समय क्रिकेटबाट बाहिर रहने जनाएका छन्। म्याक्सवेलको स्थानमा अर्का आक्रामक ब्याट्सम्यान डार्सी सटले अवसर पाए।
क्रिकेट अस्ट्रेलियाले छिट्टै म्याक्सवेल क्रिकेटमा फर्किने विश्वास व्यक्त गरेको छ। ‘उनी हाम्रा विशेष र महत्वपूर्ण खेलाडी हुन्। हामीलाई विश्वास छ, उनी छिटै टोलीमा फर्किनेछन्,’ क्रिकेट अस्ट्रेलियाले जनाएको छ। यसअघि अस्ट्रेलियाका युवा क्रिकेटर विल प्युसोयस्कीले पनि मानसिक अस्वस्थका कारण श्रीलंकासँगको लिस्ट ‘ए’ खेलबाट बाहिरिएका थिए। उनै २१ वर्षे विलले पाकिस्तानसँगको तीन दिवसीय लिस्ट ‘ए’ क्रिकेट नोभेम्बर ११ मा खेल्दैछन्।
प्रकाशित: १६ कार्तिक २०७६ ०१:२८ शनिबार