२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

साकिब अल हसनको समर्थनमा प्रदर्शन

ढाका – बंगलादेशका कप्तान तथा अलराउन्डर साकिब अल हसनमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले लगाइएको प्रतिबन्धविरुद्ध बंगलादेशी समर्थक सडक प्रदर्शनमा उत्रिएका छन्। आइसिसीले मंगलबार ३२ वर्षे साकिबलाई भ्रष्टाचारसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा सबै खाले क्रिकेटका गतिविधिबाट २ वर्षको प्रतिबन्ध लगाएको हो।

साकिबले आफूले कुनै नियम नतोडेको भन्दै सामाजिक सञ्जालमार्फत समर्थकलाई यसको विरोध गर्न अपिल गरेका थिए। बंगलादेशका प्रहरीले ७ सय समर्थक मागुरामा आइसिसीको निर्णय विभेदकारी भएको भन्दै प्रतिबन्धविरुद्ध प्रदर्शनमा उत्रिएको जनाएको छ। बंगलादेश टोली भारत भ्रमणमा निस्कनु अघिल्लो दिन साकिबमाथि प्रतिबन्ध लगाएको थियो।

‘प्रदर्शनकारीले साकिबको समर्थनमा नारा लगाएका थिए। आइसिसीको निर्णयविरुद्ध उनीहरूले मानव साङ्लोसहित प्रदर्शन गरेका हुन्,’ पश्चिमी सहरका प्रहरी प्रमुख सैफुल इस्लामले भने। प्रदर्शनकारीले ‘साकिबलाई फसाइयो’ भन्ने प्लेकार्ड बोकेका थिए। प्रहरीले राजधानीमा ढाकामा पनि प्रदर्शन भएको जनाएको छ।

साकिबले आइसिसीसँगको बयानमा २०१८ मा बंगलादेश, श्रीलंका  र  जिम्बाब्वे सम्मिलित त्रिकोणात्मक ट्वान्टी–२० शृंखला र २०१८ कै इन्डियन प्रिमियर लिग (आइपिएल) दौरान आफूलाई केही पक्षले खेलमिलेमतोका लागि प्रस्ताव गरेको स्वीकार गरे पनि रकम भने खुलाएका थिएनन्।  

साकिबले अर्कोे वर्ष अक्टोबर २९ बाट खेल्न पाउनेछन्। यद्यपि उनले त्यसका लागि आइसिसीको अनुसन्धानमा कस्तो सहयोग गर्छन् त्यसमा निर्भर हुनेछ। तर अस्ट्रेलियामा अक्टोबर ८ बाट सुरु हुने ट्वान्टी–२० विश्वकप खेल्न भने उनले पाउने छैनन्।

‘जसले मलाई वर्षाैंदेखि समर्थन गर्दै आएका छन्। मलाई आशा छ, समर्थक, बंगलादेश क्रिकेट बोर्ड (बिसिबी), सरकार, पत्रकारले मलाई यस दुखको घडीमा पनि समर्थन जारी राख्नुहुनेछ,’ प्रतिबन्धको घोषणालगत्तै साकिबले भनेका थिए, ‘म छिट्टै मैदानमा फर्किनेमा विश्वस्त छु। अझ सशक्त प्रदर्शनका साथ अझै जिम्मेवारपूर्ण खेल खेल्छु।’

साकिबले बंगलादेशबाट ५६ टेस्ट, २ सय ६ एकदिवसीय र ७६ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। साकिब २००९ बाट विश्व नम्बर एक अलराउन्डर रहँदै आएका छन्। यसै वर्ष सम्पन्न इङ्ल्यान्ड विश्वकपमा पनि साकिबले ६ सय रन बनाउनुका साथै ११ विकेट लिएका थिए।

साकिब अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो ५ हजार रन पूरा गर्नु र २ सय ५० विकेट लिने पहिलो खेलाडी हुन्। प्रतिबन्धलगत्तै साकिबले एमसिसी वल्र्ड क्रिकेट कमिटीबाट समेत राजीनामा दिएका छन्। एमसिसीले साकिबको निर्णयको सम्मान गर्ने जनाएको छ।

त्यस्तै बिसिबी प्रमुख नाजमुल हसनले साकिबमाथिको प्रतिबन्ध आश्चर्यजनक भएको बताएका छन्। ‘साकिब बंगलादेश क्रिकेट टोलीका प्रमुख पात्र हुन्। त्यसैले आइसिसीको निर्णयबाट म दुखी छु,’ उनले भने। बंगलादेशले भारत भ्रमणमा २ टेस्ट र तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ। शृंखला नोभेम्बर ३ बाट सुरु हुनेछ। एएफपी

प्रकाशित: १६ कार्तिक २०७६ ०१:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App