२७ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

फुटबल मैदान निर्माण : लगभग ५० प्रतिशत पूरा

पोखरा  - पोखरा रंगशालाअन्तर्गत फुटबल मैदान निर्माणको काम आधा सकिएको छ। मंसिर १५ देखि सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि फुटबल मैदानको काम दसैंछेका नै सुरु गरिएको थियो।

टीकाको दिन मात्रै काम रोकेर धमाधम सुचारु गरिएको छ। ट्र्याक एन्ड फिल्डमा सिन्थेटिक राख्न कालोपत्रे गरिएको छ। ‘पहिलो एक चरणको पिच गरिसकियो,’ भारतीय कम्पनी ग्रेट स्पोटर््स एन्ड एमए कन्स्ट्रक्सन जावलाखेल ललितपुर (जेभी)का प्रोजेक्ट मेनेजर दीपक बरालले भने, ‘दोस्रो चरणको पिच गरेपछि ट्र्याक निर्माणलाई फिनिसिङ दिन्छौं। ’

उनका अनुसार मैदानसहित अन्य पूर्वाधारको काम ५० प्रतिशत सकिएको छ। साथै १७ वटा शौचालय निर्माण गरिने योजना रहेको छ। अहिले १२ वटा मात्रै निर्माण गरिने उनको भनाइ छ। ‘चारवटा ब्लकमा गरी १७ वटा शौचालय छन्। पहिलो चरणमा १२ वटा मात्रै निर्माण गरिँदै छ,’ उनले भने, ‘प्यारापिटका लागि ग्राउन्ड स्ट्यान्डको काम गरिँदै छ।’

उनका अनुसार नोभेम्बर ९ देखि दुबो (चपरी) कोलकाताबाट ल्याइनेछ। सो चपरी आउन एक साता लाग्नेछ। ‘नोभेम्बर ७ देखि बढीमा १२ तारिखसम्म सिट आइपुग्नेछ,’ बरालले भने, ‘साथै दुई प्राविधिकसहितको टोली पोखरा आउनेछन्। उनीहरूले नै बढीमा दुई साताभित्र सिट जडान गर्नेछन्। हामीले सहयोगका लागि जनशक्ति मात्र उपलब्ध गराउनेछौं।’ प्यारापिट स्टिल मोडुलर सिस्टमको हो।

सिट फोल्डिङ सिस्टमको नटबोल्ड कस्ने प्रकृतिको हो। सम्झौताअनुसार दर्शक क्षमता १६ हजार ५ सय राख्ने निश्चित गरिएको थियो। पछि फेरि ३ हजार ५ सय थप गर्ने सहमतिसँगै दर्शक क्षमता २० हजार पु¥याइनेछ। तर सागअघि ती सबै सिट भने जडान हुँदैनन्। ‘सागअघि हामीले ८ हजारदेखि बढीमा १० हजार सिट जडान गर्छौं,’ उनले भने, ‘पछि  सामान त्यहीअनुसार आउनेछ।’

सिटको सामान फ्रान्सबाट पठाइसकेको उनले बताए। उनका अनुसार नोभेम्बरको दोस्रो साताभित्रमा पोखरा आइपुग्ने सामान फ्रान्सेली प्राविधिकले नै जडान गर्नेछन्। मैदानवरिपरिको ट्र्याक एन्ड फिल्डको सामान जर्मनबाट आइसकेको छ। सिन्थेटिक ट्र्याक राख्नुपूर्व कालोपत्रे गरिने उनले बताए। यो काम झरीले केही दिन लम्बिएको छ।

कालोपत्रे पिच गरेपछि सिन्थेटिक ट्र्याक राख्ने काम पूरा गर्ने योजना कम्पनीले बनाएको छ। ट्र्याक राख्ने र फुुटबल मैदानमा घाँसको चपरी बिछ्याउने काम लगभग एकै समयमा हुने सम्भावना देखिएको छ। कोलकाताबाट ६ वटा ट्रकमा ९ हजार टुक्रा (१० वर्ग फिट) चपरी आउनेछ। फुटबल मैदान निर्माणले सागसँगै पोखरामा आयोजना हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न सहज हुनेछ।

पोखरा रंगशाला फुटबल मैदान निर्माणको काम ५० प्रतिशत सकिएको छ। फुटबल मैदान निर्माणले सागसँगै पोखरामा हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्नसमेत सहज हुनेछ।

 

 

 

 

 

 

प्रकाशित: २७ आश्विन २०७६ ०१:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App