५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

पोलुसन मुख्य मुद्दा

पोखरा - फेवाताल निकै फोहोर छ। जलकुम्भीले ढाकिएको छ। पानी धमिलो छ। धमिलो पानीमा ट्रायथोलन हुँदैन। पानी निकै प्रदूषित छ। प्रदूषित पानीमा पौडिन सकिँदैन। पौडिँदा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ।

पोखराको फेवातालमा १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को ट्रायथोलन आयोजना गरिँदै छ। आयोजनाअघि नै तालको पानीको प्रदूषण मात्रा परीक्षण गरिनुपर्छ। परीक्षण गरिएको पानीको ल्याब टेस्ट स्वीकृत भए मात्रै सागको ट्रायथोलन इभेन्ट आयोजना गर्न सकिन्छ। ‘सागका लागि पानी ल्याब पठाउँछौं,’ कास्की जिल्ला ट्रायथोलन संघका अध्यक्ष सुमन देवकोटाले भने, ‘पानीकै कारण प्रतियोगिता रोकिने सम्भावना छ। फेवातालमा प्रदूषण बढ्दै गएको छ। पानी निकै धमिलो छ।’

विश्व ट्रायथोलन महासंघ (आइटियु) ले पानीको प्रदूषण (वाटर पोलुसन) परीक्षण गर्छ। केही महिनाअघि मात्रै कजाखस्तानमा हुने भनिएको विश्व ट्रायथोलन च्याम्पियनसिप पानीकै कारण रोकिएको छ। आइटियुको हेडक्वार्टरले पानीकै कारण विश्व ट्रायथोलन रोकेको अवस्थामा सागजस्तो प्रतियोगिता पानीका कारण रोकिँदैन भन्न सकिन्न।’ अहिलेको सबैभन्दा ठूलो मुद्दा नै पानीको प्रदूषण हो। ‘मंसिरसम्म पानी केही सङ्लो होला तर पानीको ल्याब परीक्षण गर्नुपर्छ। त्यसको रिपोर्ट पठाउनुपर्छ। रिपोर्टअनुसार प्रतियोगिता आयोजना गर्न सक्ने अवस्था देखिँदैन।’ उनको भनाइ थियो, ‘पानी प्रदूषणलाई अहिले निकै गम्भीर विषयका रूपमा आइटियुले उठाइरहेको छ।’

गत चैतमा पोखरामा ट्रायथोलन च्याम्पियनसिप आयोजना गरिएको थियो। च्याम्पियनसिपको पूर्वसन्ध्यामा पानीको ल्याब परीक्षण गरिएको थियो। परीक्षण गर्ने क्रममा फेवतालको पानीमा मानवमलमूत्र अत्यधिक भेटिएको थियो। पिउन अयोग्य रहे पनि च्याम्पियनसिप आयोजना गरिएको थियो। ट्रायथोलनमा केवल पानीकै कारण मात्रै नभई आयोजनास्थलमा हुने सुरक्षा व्यवस्थालाई समेत ध्यान दिइन्छ। पोखरामै गत चैतमा आयोजना गरिएको ‘ट्रायथोलन एसियन च्याम्पियनसिप’ मा सहभागी नेपाली खेलाडी सवारी दुर्घटना परेका थिए। त्यो दुर्घटजना दोहोरिनु हँुदैन। ‘ट्रायथोलन र म्याराथन व्यस्त बजारमा आयोजना हुन्छ। बजारमा सडक पूर्ण रूपमै बन्द गरेर आयोजना गरिन्छ। पोखरामा पनि ट्रायथोलन गर्दा सडक नै बन्द गर्नुपर्छ। त्यो सम्भावना छ कि छैन, सुरक्षा व्यवस्थाप्रति ध्यान दिन जरुरी छ।’ अध्यक्ष देवकोटाको भनाइ थियो।

ट्रायथोलनमा विशेष गरी साइक्लिङ, रनिङ र स्विमिङ गर्नुपर्छ। साइक्लिङका लागि सडक खाल्डाखुल्डी छ। सडक सललल बनाउनेतर्फ कसैले ध्यान दिएका छैनन्। राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलिम्पक कमिटीको ध्यान पुगेको छैन। ‘ट्रायथोलनका लागि सडक मर्मतसम्भार गर्न जरुरी छ।’ उनले भने, ‘सडक बनाउने जिम्मेवारीतर्फ परिषद्  र ओलम्पिक कमिटीको ध्यान पुग्दैन। त्यसलाई हेर्ने महानगरपालिका र गण्डकी प्रदेश सरकार हो। महानगरपालिकासँग समन्वय गर्न जरुरी छ।’

सडकमा साइक्लिङ र रनिङ हुँदा सर्वसाधारणमा समेत असर गर्छ। सर्वसाधारण रोक्न सडक छेउमा रेलिङ अनिवार्य लगाउनुपर्छ। ‘महानगरपालिकासँग जिल्ला तथा क्षेत्रीय खेलकुदसँगै राष्ट्रिय खेलकुद परिषद्का सदस्यले समन्वय गर्न जरुरी छ।’ उनले भने,‘पूर्वाधारमा ध्यान दिइएन भने त्यसको असर पोखराले नै भोग्नुपर्छ।’ उनका अनुसार सागअन्तर्गतको ट्रायथोलन प्रतियोगिता आयोजनाले पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ। सरकारले भ्रमण वर्ष २०२० लाई गरेको लक्ष्यलाई समेत प्रतियोगिताले सकारात्मक सन्देश दिने विश्वास छ।

सागको लागि कात्तिक १५ भित्र आवश्यक पूर्वाधार तयार पार्नुपर्ने युवा तथा खेलकुद मन्त्रालयको निर्देशन छ। पूर्वाधार तयार पार्ने आवश्यक बजेट निकासा भइसकेको छैन। चेन्जिङ रुम र शौचालय अत्यावश्यक छ। ती पूर्वाधार तयार गरिएको छैन। पूर्वाधार नहँुदा अन्योल बढ्दै गएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले पानीकै कारण शुद्धीकरण नहुँदा समस्या हुने बताए। ‘प्रदेश सरकार र महानगरपालिकाको दायित्व हुन्छ,’ उनले भने, ‘पानीसँगै सडक पिच गर्नुपर्ने खाँचो छ।

समस्या समाधान गर्नुपर्ने दायित्व सबैको हो। हतारमा गर्नुपर्ने अवस्था छ।’ पिच निर्माण गर्नेतर्फ महानगरपालिकाले ध्यान दिनुपर्छ।’ उनले भने, ‘तर परिषद्ले परिपत्र गरिसकेको छैन।’ बोर्ड सदस्य गुरुङले फेवातालको दलदल माटो निकालेर बालुवा हाल्नुपर्ने सुझाव ट्रायथोलन संघले दिएको स्पष्ट पारे। पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाका अनुसार राष्ट्रिय खेलकुद परिषद्ले सागका लागि महानगरपालिकासँग समन्वयका लागि परिपत्र गरेको छैन। ‘ट्रायथोलनका लागि प्रयोग हुने सडक मर्मतसम्भारका लागि महानगरपालिकाले सूचना निकालिसकेको छ,’ उनले भने, ‘सडक मर्मत सम्भार हुन्छ। जुन नियमित कामभित्रै पर्छ। त्यसलाई गण्डकी प्रदेश सरकारले समेत गर्ने योजना बनाएको छ।’ उनका अनुसार सडक मर्मतका लागि साढे दुई करोड रुपैयाँ बजेट छुट्ट्याइएको छ। सडक सुरक्षाका लागि ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्नपर्ने खाँचो उनले औंल्याए।


ट्रायथोलनमा विशेष गरी साइक्लिङ, रनिङ र स्विमिङ गर्नुपर्छ। साइक्लिङका लागि सडक खाल्डाखुल्डी छ। सडक सललल बनाउनेतर्फ कसैले ध्यान दिएका छैनन्।

प्रकाशित: १० आश्विन २०७६ ०१:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App