१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

आर्चरीका लागि मैदानको चिन्ता

पोखरा- १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि आर्चरीको कम्पाउन्ड र रिकर्भ दुवै इभेन्टमा गरी १६ खेलाडी छनोट गरिएको छ। खेलाडी छनोटसँगै नेपाल आर्चरी संघलाई भने सागका लागि तयार गरिएको पोखराको मैदानलाई दक्षिण एसियाली आर्चरी फेडेरेसनका टोलीले प्रतिस्पर्धाका लागि उपयुक्त नहुने ठहर गर्ने चिन्ता बढ्न थालेको छ।

‘यही मैदानमा साग खेलकुद गर्न सकिने सम्भावना छैन,’ नेपाल आर्चरी संघका अध्यक्ष एवं मुख्य प्रशिक्षक दीपकराज गुरुङले भने, ‘फेडेरेसनको टोलीले अनुगमन गरेर स्वीकृति दिए हुन्छ, नत्र हुँदैन ’ उनका अनुसार अनुगमन टोलीले मैदानको स्वीकृति नदिए अर्को समस्या थपिन्छ  फेडेरेसनको प्राविधिक टोली दुई तीन हप्ताभित्रमा मैदान अनुगमनको लागि पोखरा आउने उनले बताए। 

छनोट चरण तीन दिन चल्यो। तीन दिनसम्म पानी पर्यो। मैदान हिलाम्मे र पानी जमेको छ। जमिन अझै पूर्ण सम्याइएको छैन। कास्की जिल्ला आर्चरी संघले भने बजेट नहुँदा अझ बनाउन नसकिएको गुनासो गर्दै आएको छ। युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले पोखरा रंगशाला निरीक्षणको क्रममा बजेटकै कारणले पूर्वाधार निर्माण रोकिन नहुने अभिव्यक्ति दिएर फर्किएका छन्। 

‘हामीसँग अहिले ट्रेनिङ ग्राउन्ड र म्याच ग्राउन्ड यही रंगशालाभित्रको मैदान हो,’ अध्यक्ष गुरुङले भने, ‘यसलाई नै सागअघि अझ राम्रो बनाउनुपर्ने खाँचो छ।’ यो मैदान उपयुक्त नठहरिए अर्को वैकल्पिक मैदान नभएको भन्दै आर्चरीको प्रतिस्पर्धा गराउन समस्या हुने संघले औंल्याएको छ। उनले छनोट गरिएका खेलाडीको बन्द प्रशिक्षण गराउने सम्बन्धमा छलफलपछि मात्रै तय गरिने स्पष्ट पारे। 

उनले राष्ट्रिय खेलकुद परिषद्, प्रशिक्षण विभाग एवं संघबीच छलफलपछि मात्रै बन्द प्रशिक्षण सुरु गरिने जानकारी दिए। बन्द प्रशिक्षण पोखरामा राख्ने योजना रहेको उनले सुनाए। छनोट समितिका संयोजक एवं वरिष्ठ उपाध्यक्ष वसन्त थकालीले घरेलु मैदानमा आयोजना हुने साग गेम्समा आर्चरीमा विगतमा झैं पदकको अपेक्षा गर्न सकिने बताए। ‘विगतको साग गेम्समा आर्चरीले कांस्य पदक जित्दै आएको छ। प्रतिस्पर्धा स्वर्णकै लागि हुन्छ। तर अहिले रजत पदक जित्ने अपेक्षामा छौं।’ उनले भने, ‘खेलाडीको प्रदर्शन पनि राम्रो छ । प्रशिक्षण पनि राम्रो गरेका छन्।’ 

नेपाली आर्चरीको शीर्ष वरीयताका खेलाडी असीम शेरचनले होम ग्राउन्डमा हुने प्रतिस्पर्धाले मनोबल उच्च हुँदा पदकको अपेक्षा गर्न सकिने दाबी गरे। ‘हाम्रो प्रतिस्पर्धा भारतसँग बढी हुन्छ। पछिल्लो समय बंगलादेशले पनि आर्चरीमा राम्रो गर्दै आएको छ। त्यसैले घरेलु मैदानमा स्वर्ण पदकका लागि लड्ने नै हो।’ उनले भने, ‘घरेलु मैदानमा उत्कृष्ट नतिजा ल्याउने अपेक्षासहित प्रतिस्पर्धामा उत्रनेछौं।’ 

आर्चरीमा विशेष गरी दुई इभेन्टमा प्रतिस्पर्धा हुन्छ कम्पाउन्ड (५० मिटर) र रिकर्भ (७० मिटर)। कम्पाउन्डको प्रतिस्पर्धाका लागि कम्पाउन्डतर्फ पुरुषमा काठमाडौंका रमेश भट्टचन, सनातन मल्ल र मीनप्रसाद गौचन रहेका छन्। गण्डकी प्रदेशका योगेन्द्र शेरचन छनोट भएका छन्। शेरचन कास्की जिल्ला आर्चरी संघका अध्यक्षसमेत हुन्। महिलातर्फ गण्डकी प्रदेशका दुई खेलाडी कम्पाउन्ड प्रतिस्पर्धाका लागि बन्द प्रशिक्षण छन्। गण्डकीका मोनिका रानामगर र रश्मि दर्लामी छन् भने काठमाडौंका पार्षदा आचार्य र मन्जु बजगार्इं छनोट भएका हुन्। 

तीनदिनसम्म चलेको रिकर्भको छनोट प्रतिस्पर्धाबाट पुरुषतर्फ असीम शेरचन (गण्डकी प्रदेश), रोशन नगरकोटी (आर्मी), डम्बरबहादुर थापा (आर्मी), तिलक पुन मगर (नेपाल पुलिस) छन्। महिलातर्फ मित्र राई (नेपाल आर्मी), ज्ञानु अवाले (नेपाल आर्मी), विष्णुमाया लिम्बु (गण्डकी प्रदेश) आइशा तामाङ (काठमाडौं) छनोट भएको छनोट समितिका संयोजक वसन्त थकालीले जानकारी दिए।

छनोट भएका खेलाडीहरूको बन्द प्रशिक्षण पोखरा रंगशालामै असोज १ गतेदेखि नै हुने उनले बताए।पोखराको मैदान उपयुक्त नठहरिए अर्को वैकल्पिक मैदान नभएको भन्दै आर्चरीको प्रतिस्पर्धा गराउन समस्या हुने संघले औंल्याएको छ।

प्रकाशित: ३१ भाद्र २०७६ ०४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App