५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

बेलबिनाको रियाल टोटेह्यामसँग स्तब्ध

म्युनिख – मंगलबार स्पेनिस क्लब रियाल मड्रिडले इङ्लिस प्रिमियर लिगको क्लब टोटेनह्यामसँग मैत्रीपूर्ण खेल्दा टोलीका मुख्य खेलाडी ग्यारेथ बेल उपस्थित भएनन्। प्रशिक्षक जिनेदिन जिदानले ग्यारेथ बेल म्युनिखमा हुने खेलका लागि तयार नभएको भन्दै टोलीमा समावेश नगरेको दिन मंगलबार रियाल टोटेनह्यामसँग १–० ले स्तब्ध बन्यो। यसअघि वेल्सका बेल चीनको क्लब जाने चर्चा चलिरहँदा सम्झौता रद्द भएको समाचार बाहिर आएको थियो।

रियालका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले बेल चीनको क्लब जियाङ्सु सुनिङमा अनुबन्धित हुने चर्चा भए पनि अन्तिम समयमा आएर सम्झौता रद्द गरेको जनाएका थिए। यस्तै प्रशिक्षक जिदानले बेलको बहिर्गमन सबैका लागि राम्रो हुने यसअघि नै जनाएका थिए। अन्तिम समयको सम्झौता रद्द भएका कारण बेल म्युनिख भ्रमणका लागि तयार थिएनन्। यही कारणलाई देखाउँदै जिदानले बेलको भ्रमणबारे सार्वजनिक अभिव्यक्ति दिएका हुन्।

‘डाक्टरसँगको सल्लाहपछि उनका लागि मड्रिड बसाइ नै उपयुक्त थियो। उनी मड्रिडमा रहँदा अभ्यास गर्नेछन्। यो निर्णय खेलाडी, मेडिकल स्टाफ र प्रशिक्षकहरूको सल्लाहअनुसार संयुक्त रूपमा बाहिर ल्याइएको हो,’ जिदानले भने। प्रशिक्षक जिदानले गत साता बेल क्लब छाड्ने अवस्थामा पुगेको बताएका थिए।

रियालबाट बेलले २ सय ३१ खेल खेल्दा १ सय २ गोल गरेका छन्। बेल अनुपस्थित रहेको मैत्रीपूर्ण खेलमा टोटेनह्यामले बाजी मार्दा ह्यारी केनले २२औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले जितका लागि मैदान प्रवेश गरेका थिए। तर हालै मात्र इङ्लिस क्लब चेल्सीबाट रियालमा अनुबन्धित इडेन हाजार्डको जादु पनि चल्न सकेन। लुका मोड्रिचसँगै मार्सेलोको टोली खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन।
 

प्रकाशित: १६ श्रावण २०७६ ०२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App