१६ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

जिल्लास्तरीय रनिङ शिल्ड सुरु

रुकुम– रुकुम (पूर्व) दोस्रो पटक जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालन भएको छ। नयाँ जिल्ला स्थापना भएपछि यहाँ दोस्रो पटक भएको शिल्डमा यहाँ रहेका विद्यालय स्तरमा अध्ययन गर्ने बालबालिकाहरु सहभागी हुने छन्। जिल्ला खेलकुद विकास समितिको आयोजनामा शिल्ड सुरु भएको हो। 

स्थानीय सरकार गठन भएको दुई वर्ष भए पनि पहिलो पटक यहाँका स्थानीय तह स्तरीय शिल्ड सञ्चालन भएको थियो। तीन गाउँपालिका रहेको रुकुम (पूर्व)मा स्थानीय तह भित्रका माध्यामिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो। जिल्लास्तरीय रनिङ शिल्डमा स्थानीय तहमा उत्कृष्ट भएका तीन÷तीन वटा समूहले सहभागिता जनाएका छन्। माध्यामिक विद्यालयका विद्यार्थीहरु बिच विभिन्न खेलमा प्रतिस्पर्धा सुरु भएको छ। प्रतियोगितामा छात्र÷छात्रा भलिबल, विभिन्न समुहमा दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटफुट, ज्याब्लिङ थ्रो, कबडी, कराते लगायतका खेलकुद सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। 

जिल्लास्तरीय रनिङ शिल्डको बुधबार प्रदेश नं. ५ का सभामुख पूर्णबहादुर घर्तीले उद्घाटन गरे। उनले बालबालिकाको शैक्षिक विकास गर्न पनि खेलकुद क्षेत्रले महत्वपूर्ण योगदान पु-याउने बताए। वर्तमान तीनै तहका सरकारले खेलकुद क्षेत्रको विकासका लागि काम गर्दै आएको उनको भनाई थियो। जिल्ला र स्थानीय तहलाई चिनाउन खेलकुदले समेत राम्रो प्रभाव राख्ने भएकाले प्रदेश सरकारले सबै स्थानीय तहमा एक÷एक वटा रङ्गशाला बनाउने योजना बनाएको सभामुख घर्तीले जनाए।

स्थानीय सरकारले पनि विद्यालय तहदेखि नै खेलकुद क्षेत्रको विकासका लागि काम गर्नुपर्ने उनको भनाई थियो। विद्यालय तहमा खेलकुद शिक्षकको व्यवस्था गर्नुका साथै खेलमैदान र खेलकुद सामग्रीको व्यवस्था गरेर यस क्षेत्रको विकास गर्नुपर्ने सभामुख घर्तीले सुझाव दिए। बालबालिकाको चौतर्फी विकासका लागि स्थानीय सरकार र प्रदेश सरकार गम्भीर भएर लाग्न उनले आग्रह समेत गरेका थिए। समृद्ध नेपाल निर्माण गर्न खेलकुदको समेत महत्वपूर्ण भूमिका हुने भएकाले सुविधा सम्पन्न खेलमैदान निर्माण गर्नु अहिलेको आवश्यकता रहेको सभामुख घर्तीले बताए। 

जिल्लाको सिस्ने गाउँपालिकाको रुकुमकोटमा सञ्चालन भइरहेको खेलकुद प्रतियोगितामा सहभागी हुनको लागि तीनवटै स्थानीय तहबाट विद्यार्थीसहित शिक्षकहरु उपस्थिति भएका छन्। शिल्ड उद्धघाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओली, सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढा, पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्ती, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा लगायको आतिथ्यता रहेको थियो। 

प्रकाशित: १८ असार २०७६ १३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App