२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

भारतको अपराजित यात्रा निरन्तर

वेस्ट इन्डिजका क्रिस गेलको विकेट लिएपछि भारतीय टोली । तस्बिरः एजेन्सी

म्यानचेस्टर – कसिलो बलिङसामु निरीह बनेको वेस्ट इन्डिज इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकपको आफ्नो सातौं खेलमा भारतसँग १ सय २५ रनको फराकिलो अन्तरले पराजित भएको छ। फराकिलो जित आत्मसात् गरेको भारतले यससँगै जारी प्रतियोगितामा अपराजित यात्रालाई कायम राखेको छ। भारतको यो लगातार छैटौं जित हो।

२ सय ६९ रनको लक्ष्यका साथ जबाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले ३४.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ४३ रन बनाउन सक्यो। वेस्ट इन्डिजका लागि सुनील एम्ब्रिजले सर्वाधिक ३१ रनको पारी खल्दा हार्दिक पाण्डेयको बलिङमा एलबिडब्लुको धरापमा पर्दै पवेलियन फर्किए। यस्तै निकोलस पुरनले २८ रन जोड्दा कुलदीप यादवको बलिङमा महम्मद सामीबाट क्याच भए।  सिमरन हेटमायर १८ रन जोड्दै मोहम्मद सामीको बलमा सिकार बन्दा केइमार रोच १४ रनमा नटआउट रहे। सेल्ड्र कोटलर युजभेन्द्र चाहलको बलमा एलबिडब्लुको सिकार बन्दै पवेलियन फर्किए। यस्तै बाँकी ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन्। ओपनर क्रिस गेल र कप्तान जेसन होल्डर समान ६ रनमा केदार जाधबबाट क्याच हुँदा साही होप ५, कार्लोस ब्राथवेट १ तथा फावियन एलिन शून्यमा आउट भएका थिए।

अपेक्षा गरिएका खेलाडी क्रिस गेल, जेसन होल्डर, कार्लोस ब्राथवेटजस्ता ब्याट्सम्यान वेस्ट इन्डिजका लागि चल्न नसक्दा टोली लगातार हार बोहोर्न बाध्य भएको हो। यससँगै वेस्ट इन्डिजको जारी प्रतियोगितामा लगातार पाँचाैं हार हो। एक खेलमा मात्र जित निकालेको वेस्ट इन्डिज ३ अंकका साथ तालिकाको पुछारबाट तेस्रो स्थानमा छ। उता जित निकालेको भारतले ६ खेलबाट ११ अंक बनाएको छ। भारत तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

क्यारेबियन बादशाहलाई सस्तैमा समेट्न मोहम्मद सामीको किफायती बलिङ महत्वपूर्ण रह्यो। सर्वाधिक ४ विकेट लिएका सामीले ६.२ ओभर बलिङ गर्दा १६ रन खर्चिएका थिए। यस्तै जसप्रीत बुमराह र युजभेन्द्र चाहलले समान २ विकेट हात पार्दा हार्दिक पाण्डेय र कुलदीप यादवले १/१ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरको समाप्तिमा ७ विकेट गुमाएर २ सय ६८ रन जोड्न सफल भएको थियो। क्यारेबियन बादशाहविरुद्ध भारतका कप्तान विराट कोहलीले सर्वाधिक ७२ रनको पारी खेले।

२९ रन जोड्दा पहिलो विकेटका रूपमा ओपनर रोहित शर्मालाई १८ रनमा गुमाएको भारतका लागि विराट कोहलीले जिम्मेवार इनिङ खेल्दै टोलीलाई मजबुत अवस्थामा पु-याएका थिए। सर्वाधिक ७२ रन जोड्दा कोहलीले अन्तर्राष्ट्रिय क्रिकेट करियरमा २० हजार रन पूरा गरेका छन्। कोहलीले ८२ बल खेल्दै ८ चौका प्रहार गरेका थिए।

वेस्ट इन्डिजविरुद्ध कोहलीले २४औं ओभरको चौथो बलमा एक रन लिँदै ३७ रन पार गर्दा २० हजार रन पूरा भएको थियो। यससँगै कोहलीले भारतकै सचिन तेन्दुलकर र वेस्ट इन्डिजका ब्रायन लाराको नाममा रहेको कीर्तिमानसमेत भंग गरेका छन्।

शिखर धवनले घाइते हुँदै विश्वकप गुमाएपछि ओपनिङमा समस्या देखिएको भारतका लागि अर्का ओपनर केएल राहुल अर्धशतक बनाउन दुई रनले चुके। यस्तै भारतीय विकेटकिपर महेन्द्रसिंह धोनी ५६ रनमा नटआउट रहे। ६१ बलको सामना गरेका धोनीले ३ चौका र २ छक्का प्रहार गरे। यस्तै हार्दिक पाण्डेय ४६ रनमा पवेलियन फर्किंदा विजय शंकर १४ तथा केदार जाधब ७ रनमा समेटिए।

वेस्ट इन्डिजका लागि केमार रोचले सर्वाधिक ३ विकेट हात पार्दा शेल्डन कोर्टेल तथा जसन होल्डरले समान २ विकेट हात पारे।

प्रतियोगितामा शुक्रबार दक्षिण अफ्रिका र श्रीलंकाबीच खेल हुनेछ। दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएको छ भने श्रीलंका फराकिलो जित निकाल्दै अघिल्लो चरणको यात्राको पर्खाइमा हुनेछ। त्यसका लागि श्रीलंकाले गणितीय समीकरणमा भर पर्नुपर्नेछ।

प्रकाशित: १३ असार २०७६ ०५:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App