८ वैशाख २०८१ शनिबार
खेल

विभागीय टोलीको सुखद सुरुआत

फोटो ः प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई, साथमा एकआपसमा भिड्दै नेपाल पुलिस(रातो) र प्रदेश– १ को टोली। तस्बिर:खगेन्द्र/नागरिक

ताप्लेजुङ - ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघु पार्टीमा सुरु तेस्रो पाथीभरा पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा तीन विभागीय टोलीले सुखद सुरुआत गर्दा गण्डकी प्रदेशले पनि विभागीय टोलीकै लय समाएको छ।

सोमबार सम्पन्न पहिलो खेलमा नेपाल प्रहरीको टोलीले प्रदेश–१ लाई सोझो सेटमा पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ। पुलिसले प्रदेश–१ लाई २५–८, २५–१८ र २५–१९ को सोझो सेटमा हरायोे। पहिलो सेटमा सहज जित निकालेर प्रदेश– १ माथि हाबी भएको पुलिसले त्यसपछिका सेटमा लगातार जित निकाल्न भने कठिन मिहिनेत गर्नुपरेको थियो।

उता, अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रदेश–३ विरुद्ध संघर्षपूर्ण जित निकाल्यो। एपिएफले प्रदेश–३ लाई २५–१६, २५–१२ र २६–२४ को सोझो सेटमा हरायो। नेपाल आर्मीको टोलीले विश्वविद्यालय टोलीमाथि २५–१३, २५–१३ र २५–१५ को सहज जित हात पारेको छ। सोझो सेटमा विपक्षीलाई पराजित गरेको आर्मीले ३ अंक जोड्न कुनै ठूलो संर्घष गर्नु परेन। लिग कम नकआउट विधिद्वारा खेलाइँदै आएको खेल बेस्ट अफ फाइभमा केन्द्रित छ। यस चरणमा लगातार ३ सेट जित्ने वा ३–१ को सेटमा खेल सकिने अवस्थामा जित्ने टोलीले ३ अंक पाउनेछ। तर,खेलिएका ५ सेटमध्ये ३–२ को सेटमा हारजित भएमा भने ३ सेट जित्नेले २ अंक र २ सेट जित्नेले १ अंक पाउनेछ।

दुई प्रादेशिक टोली आमनेसामने भएको खेलमा गण्डकीले प्रदेश–१ माथि सोझो सेटमा जित निकालेको छ। गण्डकीले  प्रदेश–१ को चुनौतीलाई २५–१६,२५–१७ र २५–१६ ले पाखा लगायो। चार समूहमा विभाजित  टोलीमध्ये पहिलो खेल जित्ने चारै टोली क्वार्टरफाइनल प्रवेश गरेका छन्। मंगलबार हुने पहिलो क्वार्टरफाइनलमा नेपाल पुलिसले प्रदेश–३ लाई प्रतिद्वन्द्वी पाएको छ। सेमिफाइनल पुग्न एपिएफले प्रदेश–१ को चुनौती पन्छाउनुपर्छ। क्वार्टरफाइनलमा गण्डकी प्रदेशले विश्वविद्यालयको टोलीसँग भिडन्त तय गरेको छ भने विभागीय टोली आर्मी प्रदेश– २ को टोलीसँग क्वार्टरफाइनल प्रवेशका लागि आमने–सामने हुँदै छ। मंगलबार क्वार्टरफाइनल र बुधबार सेमिफाइनल पूरा गरेर २६ गते बिहीबार फाइनल  गराउने आयोजक जलजले क्लबका अध्यक्ष रूपनारायण घिमिरेले जानकारी दिए।
म्याटमा प्रतियोगिता
तेस्रो पाथीभरा राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी खेलाडीले  म्याटमा आफ्नो खेलकौशल प्रदर्शन गरेका छन्। जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख यज्ञनिधि पौडेलका अनुसार ताप्लेजुङभरिमा यस्तो म्याट बिछ्याएर भलिबल प्रतियोगिता आयोजना गरिएको यो पहिलो हो। जिल्ला भलिबल संघका अध्यक्ष दिवस चोङवाङले मैवाखोला गाउँपालिकाले करिब ९ लाख रुपैयाँ खर्च गरेर ल्याइएको म्याटले खेलाडीलाई खेलमा सहजता प्रदान गरेको जनाए। प्रतियोगिताको उद्घाटन आइतबार यहाँबाट निर्वाचित प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले गरेका थिए।

प्रकाशित: २४ वैशाख २०७६ ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App