बर्लिन – बायर्न म्युनिखका रक्षक माट्स ह्युमेल्सले जर्मनीका प्रशिक्षक जोचिम लोउले उनका समकालीन खेलाडी थोमस मुलर, जेरोमी बोयटाङ र आफूलाई जर्मन टोलीबाट हटाएको निर्णयमा आपत्ति नभएको बताएका छन्।
‘मैले जस्तै अन्य साथीको पनि केही आपत्ति छैन। प्रशिक्षकले गरेको निर्णय मेरो लागि स्वीकार्य छ। मलाई केही फरक पर्दैन,’ माट्सले बुधबार एउटा पत्रिकालाई दिएको अन्तर्वार्तामा यस्तै भनेका हुन्। लोउले अन्तर्राष्ट्रिय खेलबाट लामो अनुभव लिएका उनीहरूलाई संन्यास लिन भन्दै तीन हप्ता पहिले सुझाव दिँदा जर्मनी फुटबल नै तरङ्गित भएको थियो।
उक्त निर्णय र अभिव्यक्तिपछि जर्मन प्रशिक्षक लोउ आलोचनमा परेका थिए। उक्त अभिव्यक्तिपछि ह्युमेल्सको बारेमा भने लोउ लचिलो देखिएका थिए। ‘प्रशिक्षक लोउलाई भन्ने उपयुक्त समय मिलेको थिएन,’ ह्युमेल्सले भने, ‘उनले निर्णय गरे पनि उचित स्पष्टीकरण सम्बन्धित निकायमा दिन भने सकेका छैनन्। हटाइएको निर्णयलाई पुष्टि गर्न लोउलाई निकै गाह्रो भएको छ। यद्यपि उनले निर्णय सही सयममा भएको आफ्नो बचाउ गरिरहेका छन्।’
३० वर्षीय ह्युमेल्सले प्रशिक्षक लोउले लिएको निर्णय निकै कठिन भएको जिकिर गरिरहेका छन्। यद्यपि अन्तर्राष्ट्रिय करियरमा उनको निर्णय पूर्वाग्रही नभएको बताए।
‘खेलजीवनमा यो मेरो दुखद क्षण हो। थोमस मुलर, जेरोम र म राष्ट्रिय टोलीबाट निकै संघर्ष गर्दै खेलेका खेलाडी हौं। हामीले राष्ट्रका लागि खेलेका हौं। तर मेरो आठ वर्षे राष्ट्रिय फुटबल करियर निकै फलदायी भयो। नयाँ खेलाडीको अवसर पाउनेछन्,’ ह्युमेल्सले थपे।
पछिल्लो पटक सम्पन्न विश्वकपमा जर्मनी दक्षिण कोरियासँगको खेलमा पराजित भएको थियो। ह्युमेल्सले सुन्दर मौकालाई सदुपयोग गर्न नसक्दा पराजित हुनु परेको थियो। उक्त पराजयसँगै जर्मनीले समूह चरणबाट प्रतियोगितामा बिट मार्नुपरेको थियो।
‘मैले त्यो क्षणलाई बारम्बार साथीहरूसँग कोट्याउने गर्छु। त्यो क्षण अहिले पनि मेरो मगजमा झलझली आउने गर्छ,’ ह्युमेल्सले थपे, ‘यदि मैले त्यो अवसरलाई सदुपयोग गर्न सकेको भए हामी अघिल्लो चरण प्रवेश पाउने थियौं। त्यसपछि खेल पहिलोभन्दा अवश्य नै फरक हुने थियो।’
सम्पन्न विश्वकमा जर्मन टोलीमा युवा खेलाडी र अनुभवी खेलाडीबीच राम्रो तालमेल नहुँदा दाबेदार मानिएको टोली समूहचरणबाटै बाहिरिनुपरेको थियो। पछि टोलीका महत्वपूर्ण सदस्य थोमस मुलरको पुख्र्यौलीको विषयलाई लिएर ठूलो विवाद पनि आएको थियो। उक्त आलोचनापछि मुलरले राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेका थिए।
प्रकाशित: १५ चैत्र २०७५ ०४:१० शुक्रबार