२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

मकवानपुर गोल्डकप : थ्री स्टार सेमिफाइनलमा

सरस्वती युथ क्लबका खेलाडीलाई छक्याएर बल प्रहार गर्दै रुस्लान थ्री स्टार क्लबका खेलाडी सञ्जित राई (नीलो)।    तस्बिरः अशोकसुजन/नागरिक

मकवानपुर – सरस्वती युथ क्लबलाई २–० ले हराउँदै रुस्लान थ्री स्टार क्लब हेटौंडामा जारी दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ। मंगलबार भएको अन्तिम क्वार्टरफाइनलबाट थ्री स्टारले आफूलाई अन्तिम चारमा सुरक्षित गरेको हो। फाइनल प्रवेश गर्न थ्री स्टारले क्यामरुनी क्लब दाउफिन्सलाई प्रतिद्वन्द्वी पाएको छ। 

हेटौंडा १० स्थित वनविज्ञान अध्ययन संस्थानको चौरमा भएको खेलको २५औं मिनेटमा थ्री स्टारका विदेशी खेलाडी मान्सा बेभोगुईले गोल गरेका थिए। सरस्वतीका गोलरक्षक प्रदीप भण्डारी र डिफेन्डरलाई छक्याउँदै उनले बललाई जाली चुमाए।६०औं मिनेटमा पिटर सिगुनले थ्री स्टारका खेलाडीको पासलाई गोलमा परिणत गरे। प्रतियोगितामा थ्री स्टारका पिटर सिगुन म्यान अफ दी म्याच भए। उनले नगद दश हजार रुपैयाँ पाउन सफल भए।

राजकुमार घिसिङको कप्तानीमा रहेको सरस्वतीले खेललाई बराबरीमा ल्याउन निकै प्रयास गरे पनि असफल भएको थियो। गोलरक्षक एलन न्यौपानेको कप्तानीमा मैदानमा उत्रिएको थ्री स्टारका बुद्धराज लिम्बु, मिक्चेन तामाङलगायतले कयौं सुन्दर अवसरलाई गोलमा परिणत गर्न सकेनन्। खेलको सुरुमै थ्री स्टारका एक विदेशी खेलाडी घाइते भए पनि सम्हालिएर खेलाडीले प्रदर्शन गरेका थिए। 

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले स्टार खेलाडीको अभाव महसुस भए पनि खेलाडीहरूको मिहिनेतले जित सहज भएको बताए। ‘हाम्रा सिनियर खेलाडी राष्ट्रिय टोलीमा रहेकाले तालमेल मिलाउन केही समस्या भयो,’ उनले भने, ‘सेमिफाइनलमा राम्रो सेट बनाएर दाउफिन्सलाई सजिलै पन्छाउँछौं।’

सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले डिफेन्डर र गोलरक्षकबीच समन्वयको अभावले असहज हार भएको बताए। ‘दोस्रो हाफमा खेलाडीले राम्रो खेले पनि गोल खाइसकेकाले थप समस्या भयो,’ उनले भने, ‘क्लबमा आबद्ध दुई विदेशी खेलाडीले प्रतियोगितामा भाग नलिएकाले राम्रो प्रदर्शन गर्न सकेनौं।’

बुधबार प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आयोजक मकवानपुर ११ विरुद्ध नेपाल पुलिस क्लब भिड्नेछ। प्रतियोगिताको विजेताले नगद आठ लाख रुपैंयाँ र उपविजेताले नगद चार लाख रुपैंयाँ प्राप्त गर्ने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ। एक विदेशीसहित दश टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल शनिबार हुनेछ।

प्रकाशित: १३ चैत्र २०७५ ००:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App